१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कांग्रेस नेता ताम्राकारको निधन

भैरहवा — पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिए ।

२००० सालमा भोजपुरमा जन्मिएका उनी लामो समयसम्म भैरहवामा रहेर कांग्रेसबाट राजनीति गर्दै आएका थिए । पञ्चायतकालमा भूमिगत रहनुका साथै जेलनेलसमेत भोगेका थिए । पछिल्लो समय उनी कांग्रेसको केन्द्रीय सदस्य र कार्यवाहक कोषाध्यक्ष थिए ।


०४८ सालको निर्वाचनबाट उनी सांसद बनेका थिए । उनी उद्योग वाणिज्य तथा आपूर्ति र स्वास्थ्यमन्त्रीसमेत भए । ०५१ को मध्यावधि र ०५३ को रूपन्देही २ को उपनिर्वाचनमा पराजित ताम्राकार ०५६ मा भने विजयी भएका थिए । संविधानसभाको निर्वाचन ०६४ र ०७० मा उनी पराजित भएका थिए ।


उनीनिकट महेन्द्रकुमार श्रेष्ठका अनुसार झन्डै एक वर्षअघि ताम्राकारलाई क्यान्सर भएको पत्ता लागेको थियो । सुरुमा भारतको कोलकातामा उपचार गरेपछि फर्केर काठमाडौंमै उपचार जारी थियो । उपचारकै क्रममा काठमाडौंको ललितपुरस्थित अल्का अस्पतालमा मंगलबार अपराहन ४ बजे उनको निधन भएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि ताम्रकारको पार्थिव शरीरलाई बुधबार पार्टी केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि दिउसो १ बजेसम्म राखिने छ । बुधबारनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । ताम्राकारका श्रीमती, एक छोरा र एक छोरी छन् ।


कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दिवंगत ताम्रकारप्रति उच्चसम्मान प्रकट गर्दै बुधबार देशभरका पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कांग्रेसले बुधबार, विहीबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय र मातहतका कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र १३ दिनसम्म शोक श्रद्धाञ्जली बाहेक पार्टीका सवै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको छ ।


जागरण अभियानको मिति परिवर्तन


लोकतन्त्र दिवसका अवसर पारेर कांग्रेसले बुधबार ७७ जिल्लामै सुरु गर्न लागेको पार्टीको जागरण अभियान बैशाख २५ गते सुरु हुने भएको छ । कांग्रेस केन्द्र्रीय कार्यालयद्धारा जारी विज्ञप्ति अनुसार १३ दिनसम्म पार्टीको औपचारिक कार्यक्रम नगर्ने निर्णय भएकाले जागरण अभियानको मिति सारिएको हो ।


प्रकाशित : वैशाख १०, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?