फेरि हिंसात्मक विद्रोह भ्रम मात्र : दाहाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब फेरि हिंसात्मक विद्रोह सोच्नु भ्रम भएको बताएका छन् । थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले मंगलबार राजधानीमा गरेको 'आदिवासी जनताका अधिकार, नीति तथा विकासका मुद्दा' विषयक गोष्ठीमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रवृत्ति हावी भएको उल्लेख गरे । 

फेरि हिंसात्मक विद्रोह भ्रम मात्र : दाहाल

दाहालले गणतन्त्र कमजोर पार्ने दुष्प्रयासलाई सरकारले रोक्नेसमेत दाबी गरे । 'फेरि विद्रोह र हिंसाबाट राजनीतिक उचाइ लिन्छु भन्नु भ्रम हो,' उनले भने, 'नेत्रविक्रम चन्द समूहको आन्दोलन उद्देश्यहीन छ ।'

विगतमा जनजातिका मुद्दा र साथ लिएर जनयुद्धमा होमिएको उल्लेख गर्दै उनले भने, 'आफू र संस्थाले गरेको सम्झौता जनभावना प्रतिकूल नहोस् भनेर मैले सम्झौता गरेको हुँ । राजनीतिक रूपमा प्रचण्ड र पुष्पकमल उस्तै होइन । तर मैले आफ्नो कुरा राखेर कम्प्रोमाइज गरेको हुँ, चुपचाप बसेको छैन ।'


राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरकारले सहमति गरेको अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न नसकेको बताइन् । 'आदिवासी जनजातिको सवालमा अन्तर्राष्ट्रिय दस्तावेज छाडेर अगाडि जाने अवस्था छैन,' उनले भनिन्, 'यतिखेर अन्तर्राष्ट्रिय मिडिया च्यानलहरूमा काठमाडौंका जात्राहरूबारे प्रसारण भइरहेको छ । तर, व्यवहारमा यी जात्रा र मातृभाषा खतरामा छन् ।'


विश्लेषक प्राध्यापक कृष्ण हाछेथुले बितेको सत्तरी वर्षको विकासको नेतृत्वमा उच्च वर्गले मात्र हालीमुहाली गरेको र अझै त्यही गतिमा अघि बढेको बताए । 'अहिलेको विकास विश्वासयोग्य छैन, सुन्तलाको रूख रोप्यो भोगटे फल्छ,' हाछेथुले भने, 'संविधानको उल्लंघन सरकारले नै गर्छ । संविधानको अनादर गर्ने र बाध्यकारी धारा नमान्नेलाई पुरस्कृत गरिँदै छ । जनजाति, महिला, मधेसी, थारू, दलितलाई डिप्रेसनमा राखेर समृद्धि हुन सक्दैन ।'


अधिकारकर्मी तथा समाजशास्त्री कृष्ण भट्टचनले नेपाल सरकारले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, यूएनड्रीलगायत अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन हुन नसकेको बताए । योजना आयोगका पूर्वसदस्य तथा समाजशास्त्री चैतन्य सुब्बाले विकास प्रक्रियालाई लोकतान्त्रीकरण गरी आदिवासीमैत्री बनाउनुपर्ने बताए । आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनविज्ञ शंकर लिम्बुले संविधानको मौलिक हक, कानुनको उल्लंघन, मानव अधिकारको बेवास्ता, विकास नीतिमा सहभागिता नगराइएकाले आदिवासी जनजाति उत्पीडनमा परेको बताए ।

प्रकाशित : वैशाख १०, २०७६ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?