राष्ट्रपति भ्रमण टोली ४३ सदस्यीय, कोको जाँदैछन् भ्रमणमा ?

'नेपाल वायुसेवा जहाज बेइजिङ पुगेर र्फकने'
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ जाने भएका छन् । भ्रमण टोलीसँग उद्योग वाणिज्य संघका थप ३ पदाधिकारी भने बेइजिङ पुगेर मिसिनेछ ।  

परराष्ट्र स्रोतका अनुसार, काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुगेर नेपाल वायुसेवाको चार्टड विमान भने शुक्रबार काठमाडौं फिर्नेछ । ल्हासासम्म 'वाइड बडी' विमान नजाने भएकाले राष्ट्रपतिसहितको टोली बेइजिङबाट ल्हासातर्फ भने चिनियाँ सानो विमानबाटै जानेछ । नेपाल वायुसेवा अधिकारीका अनुसार, लोकतन्त्र प्राप्तिपछि राष्ट्रिय ध्वजाबाहक विमानलाई चार्टड गरेर पहिलोपटक विशिष्ट तहमा यसरी अन्तर्राष्ट्रिय उडान भर्न लागिएको हो । यसअघि, अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स 'चार्टड' गरिएको थियो ।

Citizen


राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्‍याल तथा लालवावु यादव समेत बेइजिङ जाँदैछन् ।

यसैगरी, सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत भ्रमण टोलीमा छन् । परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा.धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल (परराष्ट्र), सहसचिव छविन्द्र पराजुली तथा डा.जिवस शाह-राष्ट्रपति कार्यालय) समेत भ्रमण टोलीमा छन् ।

प्रमुख सुरक्षा अधिकृत ब्रिगेडियर जनरल मिनध्वज खड्का, मेजर दिवाकर खड्का, मेजर सन्देश अधिकारी, क्याप्टेन आसिना कार्की र क्याप्टेन पवित्रा अधिकारी भ्रमणदलमा छन् । परराष्ट्रका उपसचिव रोशन खनाल, उपसचिव उत्तमकुमार शाही(राष्ट्रपति कार्यालय), शाखा अधिकृत अम्बिका जोशी (परराष्ट्र), शाखा अधिकृत भोगेन्द्र लिङदेन (परराष्ट्र), सुरेन्द्रबहादुर नेपाली (रासस), कुमार शर्मा (नेपाल टेलिभिजन, क्यामेराम्यान), राजेन्द्र तिमिल्सिना (नेपाल टेलिभिजन) र सरस्वती जिरेल (लेडी-इन-वेटिङ) बेइजिङ भ्रमणमा सरकारी प्रतिनिधिमण्डलमा छानिएर जाँदैछन् ।

भ्रमण टोलीमा निजी खर्च व्यहोरेर जाने सदस्यहरुमा लगानी बोर्डका बालकृष्ण शिवाकोटी, च्याम्बर अफ कमर्सका चन्द्रप्रसाद ढकाल र राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिमहासंघका अध्यक्ष सतिशकुमार मोर, व्यवसायी उमेश कसजु, नेपाल-चीन व्यापार तथा उद्योग संघसम्बद्ध अन्जु पौडेल, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर काडेल, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र प्रभु बैंकका सीइओ अशोक शेरचनसमेत रहेका छन् । नेपाल वाणिज्य उद्योग महासंघ अध्यक्ष भवानी राणासहितका ३ सदस्य भने बेइजिङमा मात्रै भ्रमण टोलीमा समावेश हुनेछ ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आज लोकतन्त्र दिवस :जो अझै गोली बोकेर हिँडेका छन्

परिवर्तनको अपेक्षासहित होमिए पनि जनआन्दोलन सफल भइसकेपछि राज्य, पार्टी र नेताले बिर्सिएको सहिद तथा घाइतेका परिवारको गुनासो । भन्छन्– ‘आन्दोलन सकियो, हाम्रो काम पनि सकियो ।’
दुर्गालाल केसी

दाङ — २०६२ माघ २६ । तत्कालीन शाही सरकारले नगर निर्वाचन गराउँदै थियो । सात राजनीतिक दल निर्वाचन बिथोल्दै थिए । निर्वाचन गराउने र बिथोल्नेबीच बजारका विभिन्न ठाउँमा झडप भए । दिउँसो करिब १ बजेतिर निर्वाचनविरोधी नारा लगाउँदै बजारमा हिँडिरहेका बेला एकाएक सेनाको गाडी आयो ।

गाडीबाट ठोक भन्ने आवाज आयो । त्यसपछि भटटट गोली चल्यो । एकजना ढले । नजिकै रहेका घोराही उपमहानगरपालिका–५, धर्नाका कृष्ण गिरीलाई पनि दुई गोली लाग्यो । गोलीको चोट सहेर उनी झागिरहे । तेस्रो गोलीले खुट्टा टुक्राटुत्रा पारेपछि उनी पनि ढले ।

केहीबेरपछि फेरि सेनाको गाडी फर्केर आयो । ‘सैनिकले गोली चलेको ठाउँमा यताउति हेरे । ढलिरहेका मान्छेलाई उचालेर जोडले गाडीमा फाले,’ गिरीले त्यो दिन सम्झे, ‘मलाई पनि उचाल्न थाले, मैले म जीवित छु, बिस्तारै राख्नुहोला भनें । मलाई बिस्तारै राखे ।’ घोराहीस्थित अस्पतालमा पुगेपछि उनले थाहा पाए– सँगै रहेका तत्कालीन एमाले नेता उमेशचन्द्र थापाको मृत्यु भइसकेको रहेछ । थापा जनआन्दोलनको प्रथम सहिद भए ।

घोराहीमा गिरीसहित १४ जनालाई गोली लागेको थियो । ‘त्यसमध्ये धेरै नै गोली लागेको र गम्भीर अवस्थामा रहेको म मात्रै रहेछु । तत्काल सेनाको ब्यारेकमा लगेर हेलिकप्टरबाट नेपालगन्ज लगियो,’ उनले भने, ‘त्यहाँ छोडेर सेना गयो । परिवारले हड्डीको डाक्टरसम्म पुर्‍याए तर त्यहाँ उपचार नहुने भयो ।’ डाक्टरले काठमाडौं रिफर गरिदिएपछि शिक्षण अस्पतालमा उपचार गर्न जाने योजनामा जहाज चढेँ । काठमाडौं विमानस्थल पुग्नेबित्तिकै सेना आएर फेरि सैनिक अस्पताल पुर्‍यायो ।

सरकारले उपचार गर्छ भन्दै लगे पनि जनआन्दोलन सफल नहुँदासम्म केही उपचार गरिएन । ‘खालि दुखाइ कम गर्ने औषधि मात्रै दिने गरियो । पछि थाहा भयो, मलाई त सुरक्षाकर्मीको निगरानीमा राखिएको रहेछ,’ उनले भने, ‘जनआन्दोलन सफल भएपछि मात्रै सैनिक अस्पतालबाट वैशाख २६ मा कागज गराएर डिस्चार्ज गरियो ।’

त्यतिबेलासम्म गिरीको कुनै पनि अप्रेसन भएको थिएन । शिक्षण अस्पताल पुगेपछि डा. गोविन्द केसीले उनको उपचार गरे । ‘अप्रेसन, उपचार केही नगरी आतंककारीका रूपमा सुरक्षाकर्मीको निगरानीमा राखिएको रहेछ,’ गिरीले भने, ‘हामीलाई सुरक्षाकर्मीमाथि गोली चलाएको आरोप लगाइएको रहेछ । गोली लागेको तीन महिनापछि मात्रै मेरो उपचार सुरु भयो ।’

गोली लागेर खुट्टाको हड्डी ६ टुक्रा भएको थियो । दुवै खुट्टा र करङ भाँचिएको थियो । दायाँ खुट्टाको अप्रेसन गरी झाँचिएका टुक्रा जोडियो तर बायाँ खुट्टामा गोलीका टुत्रा अझै छन् । कम्मरका हड्डी काटेर खुट्टा जोडिएको थियो । ‘गोलीका टुक्रा फुटेर धेरै ठाउँमा छरिएका छन् । निकाल्न धेरै प्रयास गरें तर भएन,’ उनले भने, ‘अहिले पनि गोलीका टुक्रा बोकेरै बाँचेको छु । जाडोमा बढी दुख्छ, गर्मीमा पनि सास्ती हुन्छ ।’

अस्पताल बस्दासम्म सरकारले दिनको २ सय ५० रुपैयाँ खर्च दिन्थ्यो । जाँदा/आउँदाको खर्च सबै आफैं बेहोर्नुपर्थ्यो । उनी माघदेखि असारसम्म लगातार अस्पतालमै बसे । अढाई वर्षसम्म अस्पतालको निगरानीमा रहे । त्यसबेला कांग्रेस क्षेत्रीय कमिटी सदस्य रहेका गिरी एकपटक जिल्ला सदस्य भए । त्यसपछि कुनै पनि पदमा बसेनन् । ६९ वर्षीय गिरी अहिले घोराहीमा जुत्ता पसल चलाएर बसिरहेका छन् । जनआन्दोलनका घाइतेलाई राज्य, पार्टी र नेताले बिर्सिएको उनको गुनासो छ । ‘आन्दोलन सफल भइसकेपछि नेताले बिर्से,’ उनले भने, ‘आन्दोलन सकियो, हाम्रो काम पनि सकियो । काम सकेपछि दुःख बिर्सने हाम्रो चलन नै छ । राज्यले झन् के सम्झनु ?’ एकपटक राहतस्वरूप २५ हजार रुपैयाँ दिएबाहेक उनले कुनै पनि सेवासुविधा पाएका छैनन् ।

कतिपय साथीले मासिक निर्वाह भत्ता पाइरहेका छन् । कतिले नक्कली पीडित बनेर सुविधा लिइरहेका छन् । तर, गोली बोकेर ‘जिउँदा सहिद’ गिरी गम्भीर घाइतेमा पर्न सकेनन् । ‘मैले केही नेतालाई भनें, प्रशासन, शान्ति मन्त्रालयमा पनि पुगेर निवेदन दिएँ, तर कसैले सुनुवाइ गरेन,’ उनले भने, ‘जिल्लामा जनआन्दोलनका घाइते, अपांगको अवस्थाबारे अध्ययन गर्न एउटा समिति बन्यो, त्यसले रिपोर्ट पनि दियो, त्यसपछि के भयो थाहा भएन ।’ देशमा परिवर्तनको अपेक्षासहित जनआन्दोलनमा होमिएको स्मरण गर्दै उनी अहिलेको अवस्थाप्रति असन्तुष्ट छन् । ‘राजनीतिमा अहिले निष्ठा र इमानदारी हराएको छ । कार्यकर्ताको योगदान हेर्ने चलन छैन,’ उनले भने, ‘त्यसकारण राजनीतिमा सक्रिय हुन कठिन भयो । आफ्नो व्यवसाय गरेर बसिरहेको छु ।’ जनआन्दोलनपछि जनतामा देशको राजनीति सुध्रने र जनजीवनमा परिवर्तन आउने ठूलो आशा भए पनि अहिले त्यस्तो हुन नसकेको उनको बुझाइ छ ।

‘देशमा परिवर्तनपछि अपेक्षाअनुसार काम हुन सकेन । सिंहदरबारका अधिकार गाउँमा आउँछ त भने तर केही महसुस भएको छैन,’ उनले भने, ‘देशमा परिवर्तन, सुशासन र शान्ति हुनुपर्नेमा त्यो हुन सकिरहेको छैन । नेताहरू आफ्नो स्वार्थभन्दा माथि उठ्न सकेनन् ।’ नेताले दलगत स्वार्थभन्दा माथि उठेर देशको स्वार्थका लागि काम गरे हुन्थ्यो भन्ने उनको चाहना छ ।

अन्जनको संसारै अँध्यारो
बुटवल–७, दीपनगरका ३० वर्षे अन्जन श्रेष्ठ सफल उद्यमी बन्ने सोचमा थिए । ०६२ मा जनआन्दोलन सुरु भयो । व्यवस्था परिवर्तनका लागि अन्जन पनि आन्दोलनमा होमिए । सरकारी दमनले चर्को रूप लिँदै गर्दा ०६२ चैत २७ गते प्रहरीले बन्दुकको कुन्दाले हानेर उनको देब्रे आँखा फुटाइदियो । आन्दोलनबाट उज्यालो दिन ल्याउने सपना देखेका उनको त्यही दिनदेखि नै अँध्यारा दिन सुरु भए । ‘धेरै सपना बुनेको थिएँ । कुनै पूरा भएनन्,’ उनले भने, ‘जीवन गुजारा गर्ने काम मात्रै भएको छ ।’

आँखाको उपचारका लागि आर्थिक सहयोग त पाए । तर, आँखा फर्केन । ‘एउटा आँखा पूर्ण बन्द छ,’ उनले भने, ‘बचेको अर्को आँखा पनि क्रमशः धमिलिँदै गएको छ ।’

अन्जनका दुई सन्तान छन् । उनीहरूलाई पढाउने/लेखाउने जिम्मेवारी उनकै काँधमा छ । त्यो पूरा गर्न उनी अहिले बचेको एउटा धमिलो आँखाको सहाराले बुटवलमा टुर्स एन्ड ट्राभल्स चलाइरहेका छन् । लक्ष्यविहीनजस्तै बनेका उनी घरपरिवार धान्ने बलियो र नियमित स्रोत जुटाउने अवस्थामा छैनन् । ‘अहिले त घरपरिवार चलाउनै मुस्किल छ,’ उनले भने ।

उनलाई सरकारले चार लाख रुपैयाँ राहत दिएको थियो । बुटवलमा स्थापित जनआन्दोलन राहत समितिले पनि २५ हजार रुपैयाँ सहयोग गर्‍यो । उनले आन्दोलनमा दमन गर्नेको नामै किटान गरेर निवेदन दिए । अहिलेसम्म पनि कारबाही नहुँदा बेलाबेलामा विचलन गराउँछ । जनआन्दोलनपछि बनेका सरकारले आन्दोलनको मर्म नबुझेको मूल्यांकन छ । ‘जनआन्दोलनको मर्मअनुसार नेता चलेनन्,’ उनले भने, ‘सहिद र घाइतेको सम्मान नै हुन सकेन भने त्यही रगतले पोल्छ । यस्तो गर्नु हुँदैन ।’

सहिद परिवारका गुनासा
संविधान घोषणापछि जनआन्दोलन–२ का सहिद बर्दियाका यामलाल लामिछानेको परिवार खुसी भयो । बुबाको केही सपना साकार भयो भनेर खुसियाली मनायो पनि । देश गणतन्त्रमा गएपछि मुलुकले काँचुली फेर्ला भन्ने उनीहरूको आशा थियो । अहिलेसम्म पनि पूरा हुन नसकेकामा उनीहरू चिन्तित छन् । वाम विचारधाराका यामलाल ०४९ मा गुल्मी वामीटक्सारबाट गुलरिया–२, पण्डितपुरमा बसाइँ सरेका थिए । राष्ट्रियताको पक्षमा वकालत गर्ने उनी शाही सरकारविरुद्ध आन्दोलनमा लागे । ०६३ वैशाख ७ गते राधाकृष्ण चोकमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सहिद भए । जनआन्दोलन २ मा बर्दियाका पहिलो सांसद हुन् उनी ।

गणतन्त्र आए राष्ट्रियता बलियो हुन्छ भनेर बाबुले भनेको छोरा द्रोण अहिले पनि सम्झिन्छन् । ‘तर, खै बुबाको सपना मात्र हो वा अहिलेको नेतृत्वको बेथिति,’ उनले भने, ‘अहिले त झन् सबैलाई वंशजका आधारमा नेपाली नागरिकता वितरण सुरु भयो ।’ संसद्मा विचाराधीन नागरिकता विधेयक पारित नहुँदै गृहमन्त्रीको निर्देशनले वितरण गरिएको नागरिकताले यहाँका मूल नेपाली अल्पमतमा पर्ने चिन्ता उनमा छ । ‘कतै मुलुक सिक्किम त हुने होइन,’ उनले भने, ‘०६३ देखिको नागरिकता छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुनुपर्छ ।’ अहिलेको सरकारले प्रत्यक्ष रूपमा जनताका पक्षमा काम गर्न नसक्दा निराशा लाग्ने गरेको द्रोणले बताए । जनआन्दोलन–२ मा सहभागी नवलपरासी पश्चिम, सुनवल–५ का विष्णु पाण्डेलाई ०६२ चैत ३० गते गोली लाग्यो । उनको तत्काल ज्यान गयो । सरकारले सहिद घोषणा गर्‍यो । पाण्डे पत्नी भागिरथीको पनि उस्तै गुनासो छ– आन्दोलनको उद्देश्य अहिलेसम्म पनि पूरा भएन ।

दुई छोरी र एक छोराको लालनपालनमा नै अहिले उनको दैनिकी बितेको छ । ‘राजनीतिक खिचातानीले सहिदको आत्माले शान्ति पाएन,’ उनले भनिन्, ‘परिवार गुमाउनुको पीडासँगै मुलुकको बिग्रँदो स्थिति देख्दा भावी पीढीले समेत कठोर संघर्ष गर्नुपर्ने हो कि भन्ने पीर लाग्छ ।’ सहिद परिवारलाई १० लाख रुपैयाँ दिएर मात्र सच्चा कदर नहुने भन्दै उनले जनआन्दोलनको मर्म पूरा नहुँदा सहिद परिवारका सदस्यलाई थप पीडा भएको बताइन् । सडक दुर्घटनादेखि आफ्नो स्वार्थका लागि भएका घटनामा मारिनेलाई समेत सहिद घोषणा गर्ने प्रवृत्तिले सहिदका परिवारमा थप पीडा छ ।


(साथमा, अमृता अनमोल/बुटवल, कमल पन्थी/बर्दिया र नवीन पौडेल/परासी)

प्रकाशित : वैशाख ११, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT