ठेकेदारको कब्जामा खुलामञ्च, महानगरपालिका मुकदर्शक

दामोदर न्यौपाने

काठमाडौँ — खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले धमाधम सटर बनाउने काम भइरहेको छ । केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दैछन् । त्यहाँ ५२ वटा सटर बनाउने गरी काम भइरहेको छ ।


सुरुमा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्र साघुँर्‍याएर बसपार्क राख्न दिएको काठमाडौं महानगरपालिकाले २०७१ सालदेखि खुलामञ्च कब्जा गर्ने प्रकृया अघि बढाएको थियो। अहिले बसपार्क संचालन भएको ठाउँमा धमाधम पिच गर्न लागिएको छ।

Citizen


बसपार्कभन्दा दक्षिणतिरको भाग जस्ताले बारिएको छ। जस्ताले बारिएर त्यहाँ दरबार हाइस्कुलका ठेकेदार कम्पनीको निवास स्थल बनाइएको छ। केही भागमा गाडी पार्किङस्थल बनाइएको छ। गाडी पार्किङ गरिएको ठाउँसम्म जाने ठाउँ हिलाम्य छ। ‘हामीलाई चाहिने खुला ठाउँ हो,’ बागबजारका सुशान वैद्य भन्छन्, ‘हेर्दा हेर्दै कब्जामा पर्‍यो खुलामञ्च।’

काठमाडौं भ्यूटावर बनाउन लागेको ठेकेदार कम्पनीले यो ऐतिहासिक तथा सांस्कृतिक स्थलमा मनोमानी गरेको हो। भ्यूटावर निर्माणको जिम्मा स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले लिएको छ। यहाँ बनेको संरचनाबारे वडा कार्यालय समेत बेखबर छ।

‘राता रात सटर निकालिएछ,’ काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष माइराम खड्गी भन्छन्, ‘छापामार शैलीमा बनाइएछ। ३० प्रतिशत सटरमा त पसलै सञ्चालन भइसकेका छन्।’

के बनाउन लागिएको हो भनेर खड्गीले महानगर प्रशासन विभागमा सूचना मागेका छन्। खड्गीले मंगलबार दर्ता गराएको पत्रमा ‘यस वडा अन्तरगत खुलामञ्चमा रहेको बसपार्क हाल कामपाबाट नीजि ठेकेदारलाई ठेक्कामा लगाइएको भन्ने बुझिन आएको छ। उक्त स्थानमा व्यवसायिक प्रयोजनको लागि सटरहरु निर्माण भइरहेका छन्। अतः खुलामञ्चमा रहेको बसपार्क को कसलाई ठेक्कामा लगाइएको हो? सटर निर्माण गर्न अनुमति दिइएको छ कि छैन?’ मंगलबार दर्ता गरेको पत्रमा खड्गीले लेखेका छन्, ‘यो आम सरोकारको विषय भएकाले उक्त विषय बारम्बार यस वडा कार्यालयमा सोधिने गरिएको हुँदा सो सम्बन्धमा हालसम्म यस वडा कार्यालयलाई केही पनि जानकारी नभएकाले जानकारी उपलब्ध गराइ सम्भव भएसम्म सो सम्बन्धि सम्झौता लगायत कागजपत्रको प्रतिलिपी समेत उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।’

महानगरले मौखिक रुपमाचाहिं यहाँ सटर बनाउन अनुमति नदिएको जानकारी पाएको खड्गीले बताए। ‘मैंले प्रवक्ता इश्वरमान डंगोलसँग जानकारी मागें। उहाँले थाहा छैन भन्नुभयो,’ खड्गी भन्छन्, ‘कसैले त्यसरी बनाएको थाहा पाएमा डोजर लगाएर भत्काइदिन्छु भन्नुभएको छ।’

महानगरले मुखले भत्काइदिन्छु भन्ने तर व्यवहारमा चाहिं चलाउन दिएर पैसा असुल गर्ने उपाय निकालेको सम्पदा संरक्षण अभियन्ता राजाराम तण्डुकार बताउँछन्।

‘जनप्रतिनिधले थाहा छैन भनेर बस्न मिल्दैन,’ तण्डुकार भन्छन्, ‘मेयर विद्यासुन्दर शाक्यलाई भेटेर यो कुरा राख्यौं। उहाँ जो भेटे पनि डोजर लगाएर भत्काइदिन्छु भन्नु हुन्छ। तर यहाँ बनाइराखेको टुलुटुलु हेरेर बस्नु भएको छ। डोजर लगाउँछु भन्न पनि नछाड्ने, बनाउन पनि दिइराख्ने रणनीति हो मेयर शाक्यको।’

विस्तारै छिर्ने, अस्थायी संरचना बनाउने अनि त्यसलाई स्थायी रुपमा कब्जा गर्ने प्रवृत्ति छ काठमाडौंका खुला ठाउँ। ‘२०४८ सालपछि तत्कालिन मेयर पिएल सिंहले टुँडिखेलका पसल भृकुटी मण्डप सारिदिए,’ सम्पदा बचाउ अभियान संघर्ष समितीका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘त्यहाँ पनि अस्थायी रुपमा राखिएको थियो। अहिले भृकुटी मण्डप कब्जा छ। त्यहाँ भित्रभित्रै पसल किनबेच हुन्छ। राखेपछि हटाउन सक्दैन सरकारले भन्ने उदाहरण हो यो। खुलामञ्च पनि भृकुटीमण्डप, बागमतिको दायाबाया सकुम्बासीले कब्जा गरे जस्तै कब्जा गर्ने रणनीति हो। तर हामी कब्जा हुन दिंदैनौं। महानगरले भत्काएन भने हामी डोजर लगेर भत्काइदिन्छौं।’

२०७१ फागुन २२ गते महानगरका तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा बसपार्कमा काठमाडौं भ्यूटावर बनाउने सम्झौता भएको थियो। अर्को व्यवस्था नभएसम्म खुलामञ्चमा सार्ने अनुमति दिएको थियो महानगरले। अस्पतालको वातावरणमा प्रभाव पर्छ भन्दै विर अस्पतालले आपत्ति जनाएको थियो। अर्को व्यवस्था नभएसम्म भन्दै ६ महिनाको लागि राखिएको थियो। ६ महिनामा त्यहाँबाट अन्त सारिएन। बसपार्क संचालन गदा औषधी पसल, शौचालय, टिकट काउण्टर विश्रामस्थल गरी चार वटा संरचना पनि बनाउन अनुमति दिएको थियो।

ठकेदार कम्पनीले आफ्नै खर्चमा अस्थायी बसपार्क बनाउने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने लगायतका सहमति भएको थियो।

यसको प्रयोग गरेवापत काठमाडौं महानगरपालिकालाई पहिलो वार्षिक ५० लाख रुपैयाँ राजस्व बुझाउने सहमति भएको थियो। त्यसपछि हरेक वर्ष २ दशमलब ५ प्रतिशतले राजस्व बढाउँदै लैजाने सहमति भएको थियो। राजस्व हरेक महिना किस्ताबन्दीमा तिर्नुपर्ने र नतिरेमा १० प्रतिशत जरिवाना लगाउने सम्झौता भएको थियो। भ्यूटावर निर्माण अवधि ३ वर्ष तोकिएको थियो। तोकिएको समयमा काम सक्नु त परै जओस्, निर्माण शुरु समेत भएको छैन।
महानगरले गत महिना फेरि बसपार्क संचालन गर्न स्वच्छन्द विकोइलाई कार्यादेश दिएको थियो। कार्यादेशमा सटर बनाउनेबारे कुनै उल्लेख छैन। ‘कसरी चलाउन दिएको हो, मैंलाई थाहा छैन,’ महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ भन्छिन्, ‘मैंले यसबारे परिषदमै कुरा उठाएको छु। गैरकानुनी काम गर्न दिनु हुदैन भनेर विरोध गरेको छु।’

खुलामञ्च जनताको मञ्च भएको बताउँछन् पूर्व रक्षामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान। ‘२०४६ सालमा प्रजातन्त्र आउँदा हाम्रा नेताहरुले यही मञ्चमा विजय सभा गर्नु भयो,’ प्रधान भन्छन्, ‘२०६३ सालमा लोकतन्त्र आउँदा पनि यही मञ्चमा विजय सभा भयो। २०४६ सालमा खुलामञ्चलाई सहिद मञ्च नामाकरण गरियो। यो जनताले आफन् ामत राख्ने थलो हो। यो ऐतिहासिक ठाउँ हामी मास्न दिंदैनौं।’

प्रधानका अनुसार यो ठाउँ कोही बेला दक्षिण एशियाकै ठूलो खुला ठाउँको रुफमा चिनिन्थ्यो। समयक्रममा यसको खण्डीकरण हुँदै आयो। राजा महेन्द्रले यसलाई टुत्राउने काम गरे बीसको दशकदेखि। रानीपोखरीदेखि त्रिपुरेश्वरको दशरथ रंगशालासम्म विशाल क्षेत्र थियो टुंडिखेल। २०१३ सालमा दशरथ रंगशाला बनेको हो। ‘सहिदगेटमा बाटै थिएन,’ बज्राचार्य सम्झन्छन्, ‘सानो गोरेटो थियो सिसंहदरबारतिर जाने। भद्रकालीसम्म जान पाइन्थ्यो। त्यहाँबाट पर गए सेनाले फर्काइदिन्थ्यो।’

बीसको दशकतिर बेलायती महारानी एलिजावेथ द्धितिय आउने भइन्। त्यो भ्रमणलाई ध्यान दिएर बाटो खोलिएको बज्राचार्य सम्झन्छन्। ‘यहाँबाट पूर्वतिर जाने बाटै थिएन,’ उनी सम्झन्छन्, ‘त्यही बेला सडक खोलियो। सडक खोलेपछि टुँडिखेल झन् टुक्रियो।’

२०२१ सालमा केही भागमा रत्नपार्क बनाइयो। रत्नपार्कसंगै सैनिक मन्च बन्यो। त्यतिमा मात्र सिमित भएन सेना। अहिले त प्याराफिटै बनाएको छ। तीनवटा भवन बनाएको छ। ती मध्ये दुई वटा गगनचुम्बी भवन बनेका छन्। एउटा पुस्तकालय बनेको छ। सेनाले यस्ता संरचना बनाउदा रक्षा मन्त्री उनै प्रधान थिए। ‘मैंले बनाउनु हुँदैन भन्दा भन्दै बनाउन शुरु गरे,’ प्रधान भन्छन्, ‘जनताको खुला ठाउँमा सेनाले व्यापार गर्ने ठाउँ बनाउनु हुँदैन भनेको थिएँ मैंले।’

महेन्द्रले यहाँका धेरै ऐतिहासिक स्थल मासिदिएको इतिहासकार साफल्य अमात्य बताउँछन्। टुँडिखेलको मध्यभागमा खरिको बोट थियो। त्यहाँ चौतारो थियो। त्यस चौतारोमा बसेर राणा प्रधानमन्त्रीहरु ऐतिहासिक निर्णय जनतालाई सुनाउने गर्थे। यही चौतारोमा बसेर राणा प्रधानमन्त्री चन्द्र शमशेरले दास उन्मुलन गर्ने भएको घोषणा गरेका थिए। विस १९८१ मा भएको थियो दासत्व उन्मुलन घोषणा। यही चौतारोमा बसेर राजा लगायत विदेशी पाहुना टुँडिखेलमा हुने राष्ट्रिय पर्व, उत्सव हेर्थे। अहिले पनि प्रजातन्क्र दिवस, संविधान दिवस, वडादशैंको बडाइ, कवाज, घोडेजात्रा जस्ता सांस्कृतिक त्रियाकलाप हुने गर्छ। यी गतिविध हेर्न अहिले चौतारोमा नभइ सैनिक मञ्चमा बस्ने गरिएको छ।
२०७२ सालमा भूइँचालो आउँदा टुँडिखेलमा बास बस्नेको घुइँचो लागेको थियो। घर हुने पनि बास बस्न यहीं आइपुगे। घर नहुने पनि यहीं आए। हुनेहरु केही समय पछि घर फर्के। नहुनेहरु यहीं बसिरहेका थिए लामो समयसम्म।

इन्द्रचोक, असन, भोटाहिटी लगायत ‘कोर सिटी’ मा केही विपत्ति आइलाग्यो भने सबै भेला हुने खाली ठाउँ छैन। टोलमा साना साना चोक छन्। त्यसबाहेक खुला ठाउँ खोज्न वसन्तपुर डबली या भूगोल पार्क पुग्नु पर्छ। ठूला घर भएकाले यि क्षेत्र पनि सुरक्षित लाग्दैनन्। त्यही भएर टुँडिखेलै जानु पर्छ। ‘भुइचालो आउदा बीस दिन टुँडिखेलमै बस्यौं,’ महाबौद्धका जुद्धरत्न बज्राचार्य भन्छन्, ‘भित्री सहरमा खुला ठाउँ नै छैन। केही समस्या पर्दा जाने ठाउँ यही हो।’

‘कोर सिटी’ का मात्रै जम्मा हुने ठाउँ हैन टुँडिखेल। त्रिपुरेश्वर, थापाथली, बागबजार, कान्तिपथ लगायत स्थानबाट खुला ठाउँ खोज्दै यहीं जानु पर्छ। भुइचालो आउदा टुँडिखेल बाहेक सैनिक मन्च समेत पिडितले भरिएका थिए। त्यति माक्रै होइन, राष्ट्रिय स्तरका कार्यत्रम हुने ठाउँ पनि हो टुँडिखेल।

मान्छे बस्ने थलो मात्रै बनेन टुँडिखेल। धरहरा लगायत सम्पदा भत्किए। ति भत्किएकाका सम्पदाका अवशेष विर्सन गर्ने थलो समेत बन्यो यो ठाउँ। पिडित पनि कोचाकोच गरेर बस्नु पर्ने अवस्था आयो। नेपालको धार्मिक, सांस्कृतिक, राजनैतिक परम्पराको साक्षी हो टुँडिखेल। ‘इतिहासको साक्षी यो ठाउँ मासिदै जानु दुखको कुरा हो,’ प्रधान भन्छन्, ‘जग्गा किनेर खुला ठाउँ पो बनाउनु पर्ने हो। भएको ठाउँ मास्ने? मेयर विदेश गएका हुन्छन्। उनले अमेरिकी राष्ट्रपति भवन अगाडकिो खुला ठाउँ हेरेका छैनन्? थाइल्याण्डको दरबार अगाडीको पार्क देख्नु भएन? विदेश किन जाने? विदेशबाट सिक्नु पर्दैन?’


प्रकाशित : वैशाख ११, २०७६ १५:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शल्यक्रिया गरेका महिलामा समस्या बल्झिँदै

क्षेत्रीय स्वास्थ्य निर्देशनालयले ९ हजार ५ सय जनामा गरेको परीक्षणमा १ सय ८३ जनाको पाठेघर खसेको पाइयो
मोहन शाही

डोटी — बोगटान गाउँपालिका चवरा चौताराकी नरपता धामीले पाठेघरको शल्यक्रिया गराएको वर्षदिनसम्म केही भएन । तर, वर्ष दिनपछि अहिले उनको समस्या बल्झिएको छ । गत साता गाउँमै आएको स्वास्थ्य शिविरमा जाँच गराउँदा डाक्टरले उनलाई प्रजनन् अंगहरू कमजोर भइसकेकाले बाहिर लत्रेको बताएपछि उनी झस्किइन् ।

उपचार गरेको वर्ष दिनमा समस्या बल्झिँदा पाठेघरको शल्यक्रिया राम्रोसँग नगरिएकाले दुःख भएको उनले अनुमान गरिन् । ‘म त पाठेघरकै शल्यक्रिया राम्ररी नभएकाले समस्या दोहोरिएको हुनसक्ने सम्झिरहेकी थिए,’ नरपताले भनिन्, ‘डाक्टरले फेरि शल्यक्रिया गर्नुपर्ने भनेपछि त झस्केकी छुँ ।’ यौन सम्बन्ध राख्न असहज हुने, पिसाब फेर्न गाह्रो हुने, हिँड्डुल गर्दा दुखाइ हुने अर्की एक बिरामीले बताइन् । भल्ट प्रोल्याप्सको समस्या पाठेघरको शल्यक्रिया गरेका १ प्रतिशतमा यस्तो समस्या देखिने गरेको भए पनि पहाडी क्षेत्रका महिलामा भने केही बढी देखापरेको चिकित्सकहरू बताउँछन् ।

‘हामी यसलाई भल्ट प्रोल्याप्स भन्छौं, पाठेघरको शल्यक्रिया गरेका महिलाहरूमा यस्तो समस्या देखिन्छ,’ शिविरमा आएका कोहलपुर मेडिकल कलेजका डा. होमनाथ अधिकारीले भने, ‘पाठेघरको शल्यक्रिया गर्नेबित्तिकै काममा लाग्ने, उकाली–ओराली हिँड्ने महिलाहरूमा यस्तो बढी देखिन्छ ।’

पछिल्लो समय यस्तो समस्या पाठेघर खसेर शल्यक्रिया गराएकाहरूमा देखिने गरेको छ । बोगटानमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको उक्त शिविरमा नरपतासँगै अन्य २ महिलामा पनि समस्या देखिएको छ । यसै वर्ष डोटीमा ११ महिला पीडित भेटिएको चिकित्सकहरू बताउँछन् ।

गत महिना डडेल्धुरामा सञ्चालन गरिएको निःशुल्क पाठेघर शल्यक्रिया शिविरमा पनि ४ महिलामा भल्ट प्रोल्याप्सको समस्या देखिएको कोहलपुर मेडिकल कलेजका सामाजिक एकाइ प्रमुख रामबहादुर मल्लले बताए ।

कलेजले लामो समयदेखि निर्देशनालयसँगको सहकार्यमा सूदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पाठेघर खसेका महिलाहरूको उपचार गर्दै आएको छ । एकाइ प्रमुख मल्लले विगतमा पाठेघर खस्ने विरामी मात्र देखा पर्ने गरे पनि पछिल्लो समय पाठेघरको शल्यक्रिया गरिसकेका महिलाहरूमा फुनः समस्या देखिने क्रम बढेको बताए ।

‘शल्यत्रिया गराएका केही महिलाहरूमा समस्या देखियो,’ उनले भने, ‘पाठेघर फालिसकेपछि केही समस्या आउदैन भन्ने यहाँका ग्रामीण महिलाहरूको बुझाइ रहेछ ।’ जनचेतना अभाव तथा लापरवाही पहिलाजस्तै दुख झेल्नुपर्ने बाध्यता आउने उनी बताउँछन् । निःशुल्क शिविरमा जाँच गर्न आएका १ हजार २ सय ७२ मध्ये ११ जनामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलाहरू थिए । यी मध्ये ३ जना भल्ट प्रोल्याप्सका बिरामी भेटिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रमेश मलासीले बताए ।

निर्देशनालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ५० जना महिलामा भल्ट प्रोल्याप्सको समस्या देखिएको निर्देशनालयमा कार्यरत मीनराज जोशीले बताए । हालसम्म निर्देशनालयले ९ हजार ५ सय जनामा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ८३ जनाको पाठेघर खसेको छ । त्यसबाहेक ५० जनामा भने भल्ट प्रोल्याप्सको समस्या बल्झिएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT