१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुनर्निर्माणले गति लिएको छ  : प्रधानमन्त्री 

नगेन्द्र अधिकारी

काभ्रे — प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणले गति लिएको दाबी गर्दै १ वर्षभित्रमा पुनर्निर्माण सक्ने अठोट व्यक्त गरेका छन् । 

पुनर्निर्माणले गति लिएको छ  : प्रधानमन्त्री 

एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्धघाटन गर्न काभ्रे आएका प्रधानमन्त्री ओलीले केही संरचनाबाहेक अन्य भने १ वर्षमा सम्पन्न हुने दाबी गरे ।


‘९ लाख घर, ९ हजार विद्यालय ध्वस्त भएका थिए, मुख्य रुपमा पुनर्निर्माण टुंग्याएका छौं,’ उनले भने, ‘आउँदो एक वर्ष भित्रमा पुनर्निर्माण टुंग्याउने गरी लागेका छौं ।’ धरहरा लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने तर्क गर्दै उनले कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा केही जति हतार गर्दा पनि नसकिने तर्क गरे । अघिल्लो कार्यकालमा शुरु गरेको पुनर्निर्माण्को अभियानले विचमा केही गति लिन नसकेको तर्क गर्दै उनले अब तिव्र गति लिएको दाबी गरे ।


बुधबार बिहान फेरी भूकम्प गएको प्रसंग कोट्याउँदै उनले राम्रो घर बनाउन सचेत गराएको बताए । नेपालको अब परिचय फेर्नुपर्ने तर्क गर्दै उनले डिजिटल, शिक्षित र विद्वान नेपाली बस्ने देशको परिचय दिनुपर्न धारणा राखे । रोजगारी दिन सक्ने खालको शिक्षा र जनशक्ति तयार गर्नुपर्ने तर्क गरे ।


सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकूलप्रसाद बास्कोटाले प्रधानमन्त्रीको नेतृत्वमा चलाइएको विद्यालय भर्ना अभियानमा ३ लाख बालबालिका भर्ना भएको दाबी गर्दै जहाँ विद्यार्थी त्यहाँको नीति अपनाइने तर्क गरे । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २० महिना भित्र सबै क्षतिग्रस्त विद्यालय भवन निर्माण सक्ने दाबी गरे । एडीबीका राष्ट्रिय निर्देशक मुख्तार खामुद खानोबले विभिन्न ९ नमुना विद्यालय निर्माण गरिरहेको जानकारी दिए । ११ करोड २४ हजारको लागतमा बनेको ३ वटा भवनमा ३६ कोठा छन् । छात्रावाससहितको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्यावलगायतका सुविधा छन् । जिल्लाको नमुना विद्यालयमा ७ सय २७ विद्यार्थी अध्ययनरत छन् ।


जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इञ्जिनियर शोभित श्रेष्ठका अनुसार, हालसम्म विद्यालय व्यवस्थापन समिति मार्फत ९८ विद्यालय पुनर्निर्माण सम्पन्न भएका छन् । एडिबीको भूकम्प आपतकालिन सहायता परियोजना मार्फत २८ मध्ये २१ विद्यालय निर्माण सम्पन्न भएका छन् ।


एशियाली विकास बैंक (एडीबी) मार्फत नै थप १० विद्यालय निर्माण शुरु भएका छन् १० वटा बोलपत्र आव्हान हुने प्रकृयामा छन् । भारतीय दुतावास मार्फत १० विद्यालयको लागि बजेट विनियोजन भएर विस्तृत अध्ययन भइरहेको छ । जिल्लाका ५ सय ९० सामुदायिक विद्यालय मध्ये तीन सय ५३ पूर्ण रुपमा र एक सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।


प्रकाशित : वैशाख ११, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?