कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिन

जनकराज सापकोटा

काठमाडौँ — नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो । 

नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिन

स्रोतका अनुसार ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरी फागुन ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यागमन अधिकारीले ती चारमध्ये तीनको राहदानीमा टाँसिएको श्रम स्टिकर नक्कली रहेको र एकको राहदानीमा टाँसिएको स्टिकर अरूकै नाममा जारी गरिएको पत्ता लगाएका थिए ।


राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा बेपत्ता भएको दाबी गरे ।


जबकि नक्कली श्रम स्टिकरको फन्दामा परेकी पीडित जानुकादेवी दाहालले कान्तिपुरसँग राहदानी लिएपछि अध्यागमन अधिकारी नै गायब बनेको र आफूहरूलाई कुनै औपचारिक पत्र नथमाइएको बताइन् । ‘नक्कली श्रम स्टिकर भएको भन्दै रोकेपछि उनीहरूले राहदानी जफत गरे । म झन्डै डेढ घण्टासम्म कुरेर बसें तर अध्यागमन अधिकारीले न पत्र दिए न केही सोधपुछ नै गरे,’ उनले भनिन् । उनले आफू अलपत्र परेपछि विमानस्थलको गेटमा रहेका सुरक्षाकर्मीलाई भनेर बाहिरिएको बताइन् ।


विमानस्थलभित्र छिरेका यात्रु कागजपत्र नमिलेर वा अन्य कारणले बाहिरिनुपर्‍यो भने अध्यागमनले अफलोड गरेको औपचारिक पत्र सुरक्षाकर्मीलाई देखाउनुपर्छ । अध्यागमन अधिकारीले राहदानी जफत गरेपछि त्यसको विवरण समेटेर किन पत्र दिएनन् र उनीहरू कसरी विमानस्थलबाट पत्रबिना नै सुरक्षा घेरा पार गरेर बाहिरिए भन्ने खुल्न सकेको छैन । चारै जना यात्रु आफ्नो लगेजसमेत छाडेर निस्केका थिए । दाहालले भनिन्, ‘घटनाको तीन महिना बितिसक्यो न कुनै कारबाही भएको छ, न मैले लगेज र राहदानी नै पाएकी छु । यो कस्तो खेलाँची ।’


गुपचुप राख्न खोजिएको यो घटना एक कान दुई कान हुँदै घटना बाहिरिएपछि मात्रै अध्यागमनले कारबाहीका निम्ति पत्राचार गरेको देखिन्छ । नक्कली श्रम स्टिकरको यो घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृहसचिव प्रेम राईसम्म पुगेको छ ।


सामान्यतया नक्कली श्रम स्टिकरको घटनाबारे अध्यागमन विभागले तुरुन्तै छानबिन सुरु गर्थ्यो । घटनाको झन्डै एक महिनापछि अर्थात् फागुन ३० गते मात्रै गृह मन्त्रालयले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले भने घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग रानीपोखरीलाई पत्राचार गरेको थियो । प्रभागले चैत ३ गते पत्र काटेर अनुसन्धानको जिम्मा प्रहरी परिसर काठमाडौंलाई दिएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनासम्बद्ध कागजात केही नपाएकाले विस्तृत अनुसन्धान अगाडि बढी नसकेको बताए ।


अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले उक्त घटनाबारे आफूले श्रममन्त्रीलाई समेत जानकारी गराएको र नक्कली श्रम स्टिकरको घटना गम्भीर भएको बताए । स्रोतका अनुसार विमानस्थल अध्यागमनले यो घटनाबारे अध्यागमन विभागका महानिर्देशकलाई पनि समयमै जानकारी नदिएको देखिन्छ । स्रोतले भन्यो, ‘अध्यागमन अधिकारीलाई थाहै नदिई भागे भनिए पनि उक्त घटनामा कैफियत देखिन्छ । किन उनीहरूलाई राहदानी जफत भएको पत्र अध्यागमन अधिकारीले थमाएनन् ?’


महानिर्देशक पौडेलले दुबई हिँड्न लागेकाहरूसँग जनही सात हजार रुपैयाँ लिएर दलालले नक्कली श्रम स्टिकर भिडाएको बताए । उनले भने, ‘विमानस्थलभित्रै ब्यागेज छाडेर भाग्नुपर्ने अवस्था किन आयो भन्ने कुरा शंकास्पद देखिन्छ ।’ कान्तिपुरसँग सम्पर्कमा आएकी दाहालले आफू श्रम अनुमतिका लागि ताहाचलस्थित श्रम कार्यलय पुगेका बेला एक जना एजेन्ट भेटेको र उसैले सात हजार रुपैयाँ लिएर श्रम अनुमतिको स्टिकर टाँसिदिएको बताइन् । उनले भनिन्, ‘विमानस्थल पुगेपछि मात्र श्रम स्टिकर नक्कली रहेको थाहा पाएँ ।’ उनले विमास्थलमा रोकिएका अन्य तीनलाई भने आफूले नचिनेको बताइन् ।


विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीले अध्यागमनले अफलोड हुने यात्रुलाई लिखित कागज दिनुपर्नेमा उक्त घटनामा नदिएको हुन सक्ने बताए । उनले नक्कली श्रम स्टिकर थाहा भएपछि अध्यागमन अधिकारीले प्रहरीलाई जानकारी दिनुपर्नेमा त्यसो नभएको बताए । ‘म नआउँदैको घटना रहेछ । बुझेर भनौंला,’ उनले भने ।


विमानस्थल अध्यागमनले चारै राहदानी वाहकलाई अर्को राहदानी नदिन भन्दै राहदानी विभागलाई समेत पत्राचार गरेको छ । महानिर्देशक पौडेलले राहदानी जफत भएपछि केहीले प्रतिलिपि राहदानी बनाएको भेटिएको भन्दै यो घटनामा पनि अर्को राहदानी जारी नगर्न पत्राचार गरिएको बताए ।


आफ्नो खोसिएको राहदानी फिर्ता नपाएपछि र थप कारबाहीबारे केही खबर नपाएपछि जानुकादेवी झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीसँग सहयोग लिन पुगेकी थिइन् । मेयर शिवाकोटीले केही दिनअघि गृहसचिव प्रेमकुमार राईलाई भेटेरै गुनासो राखेको कान्तिपुरलाई बताए । स्रोतले भन्यो, ‘कर्मचारीहरूले गल्ती लुकाउने नाममा घटना गृह मन्त्रालय पुर्‍याएको देखियो । जबकि यस्तै अरू घटनामा अध्यागमनले सोझै प्रहरीलाई अनुसन्धान गर्न अनुरोध गर्थ्यो ।’ मेयर शिवाकोटीले घटनाबारे आफूले विमानस्थलका उच्च प्रहरी अधिकारीसँग पनि कुरा गरेको बताए । उनले भने, ‘पीडितलाई झन् पीडित बनाउने काम भयो ।’


नक्कली श्रम स्टिकरको यो पहिलो घटना भने होइन । २०७१ कात्तिकमा पनि विमानस्थल अध्यागमनले नक्कली श्रम स्टिकर देखाएर दुबई उडन लागेकी कास्की लेखनाथ नगरपालिका १ की दिलमाया विकलाई पक्राउ गरेको थियो । २०७५ कात्तिकको दोस्रो साता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजातका आधामा श्रम स्वीकृति दिने काममा संलग्न भएको आरोपमा वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका २५ कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका १ सय ८४ महिलालाई मिलेमतोका आधारमा श्रम स्वीकृति दिएको भन्दै अख्तियारले मुद्दा अगाडि बढाएको थियो ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?