कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बढी भारले बस खस्यो, ६ को मृत्यु ३४ घाइते

डीआर पन्त

डडेलधुरा — धनगढीबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको साहुखर्कमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दुर्घटना अत्यधिक भारले भएको ट्राफिक प्रहरीले जनाएको छ । 

बढी भारले बस खस्यो, ६ को मृत्यु ३४ घाइते

ज्यान गुमाउनेमा बझाङको तल्कोट–४ का धनबहादुर घर्ती, केदारश्यु गाउँपालिका–५ का नरेन्द्र गुरुधामी र हरूली बोहरा, तल्कोट ५ की कलशीदेवी गुरुधामी, भारत, बिहारका मोहम्मद नसिर र विहारकै मोहम्मद गुलजार छन् । गुलजारलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।


मंगलबार अपराह्न धनगढीबाट छुटेको ना६ख १८३१ नम्बरको यात्रुवाहक बस सडकबाट २ सय मिटर तल खसेको हो । ३२ जनाको भार क्षमता भएको बसमा ५० भन्दा बढी यात्रु र व्यापारिक प्रयोजनको सय क्विन्टलभन्दा बढी सामान थियो । ‘क्षमताभन्दा बढी भार रहेका कारण दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरीको स्याउले पोस्टका हवल्दार कृष्णकिरण चन्दले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’


धनगढीबाट साँझ ४ बजेतिर छुटेको बस १३ घण्टापछि साहुखर्क पुगेको देखिन्छ । सामान्यतः अत्तरियादेखि ४ घण्टाको दूरीमा पुग्न बसले निकै समय लगाएको दुर्घटनाबाट जोगिएका बझाङ, कोटभैरवका धर्मसिंह रोकायाले बताए । उनले भने, ‘अत्तरियामा ३ घण्टासम्म व्यावसायिक प्रयोजनको सामान लोड गर्ने/नगर्ने विषयमा यात्रु, ट्राफिक प्रहरी र गाडी सञ्चालकबीच विवाद हुँदा अत्तरियामै बस रोकिएको थियो ।’


अत्तरियास्थित ट्राफिक प्रहरीसँग सेटिङ मिलेपछि राति अबेर बस अगाडि बढेको रोकायाले बताए । सामान र यात्रु धेरै बढी भएको भन्दा बसका कर्मचारीले आफूलाई अर्को गाडीमा आउनु भन्दै ओराल्न खोजेको पनि उनले बताए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियादेखि डडेलधुरासम्म ६ ठाउँमा ट्राफिक प्रहरीका चेकपोस्ट छन् । ती कुनै पनि पोस्टमा प्रहरीले उक्त बसलाई जाँच नगरेको यात्रुले जनाए ।


गम्भीर घाइते ५ जनालाई माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । बाँकी २९ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उपक्षेत्रीय अस्पताल लगिएका सामान्य घाइते उपचारपछि घर फर्किसकेका छन् । तराईका कैलाली कञ्चनपुरबाट पहाडी जिल्लामा चल्ने अधिकांश सवारीसाधन पुराना भएका र अत्यधिक भार बोकेर गन्तव्यमा जाने गरेका कारण पटकपटक दुर्घटना हुने गरेको देखिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?