बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको संलग्नता

बलराम बानियाँ

काठमाडौँ — बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास । प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा भूमाफिया र भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भइसकेको छ । तस्बिर : केशव थापा/कान्तिपुर

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेलापर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको छ ।

‘२०२१ र ०४७ सालको नापीमा सरकारी पर्ती जग्गा भनी स्पष्ट किटान गरिएको जग्गा बस्न्यातले मोहीका नाममा कायम गरिनुपर्छ भनी मन्त्रिपरिषद्मा पेस गर्नुभयो । प्रस्तावका साथ पेस भएको नापीको फिल्डबुकमा मोही नभएको जग्गा भनी स्पष्ट लेखिएको थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले कान्तिपुरलाई भन्यो, ‘उहाँकै प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्‍यो । नक्कली मोहीहरूले धमाधम जग्गा आफ्नो नाममा बनाएर बेच्न थाले ।’ नक्कली मोहीका अधिकांश जग्गा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनका परिवारका सदस्यको नाममा किनिएको छ ।’ मोही नै नभएको जग्गामा बस्न्यातको प्रस्तावमा ‘नाराञ्चा महर्जन’ नामको मोही खडा गरी जग्गा दर्ता गराएको भेटिएको हो ।

बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिका नाममा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गा खाली थियो । त्यो खाली जग्गाको बीचबीचमा पर्ने भागलाई विझिन्न टुक्रा बनाई व्यत्तिका नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटोसमेत थिए ।

३५ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रयास विफल भएपछि वरपरका जग्गाधनीले गुठीका नाममा दर्ता गर्न मञ्जुरीनामा दिए । अख्तियारमा यसबारे उजुरीसमेत परेको थियो । २०६० असार १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी तामेलीमा राख्ने निर्णय गर्‍यो । निर्णय तत्कालीन कार्यवाहक फ्रमुख आयुक्त ललितबहादुर लिम्बू र आयुत्त वेदप्रसाद शिवाकोटीले गरेका हुन् । अनुसन्धान अधिकृतका रूपमा कानुनका सहसचिव मोहन बञ्जाडे थिए ।

अख्तियारले त्यसको ९ महिनापछि २०६० चैत ३ गते गुठीमा जग्गा कायम हुने भनी गुठी संस्थानलाई गुठीको जग्गा संरक्षणका लागि पत्र लेख्यो । स्रोतले भन्यो, ‘भूमाफियाले लिम्बू र शिवाकोटीलाई प्रभावमा पारिसकेका थिए, अनुकूलको निर्णय गराए ।’ तर अलि पछि उनीहरूबीच कुरा नमिलेको स्रोतको दाबी छ । अनि अख्तियारबाट लिम्बू र शिवाकोटीले २०६४ जेठ २० गते उक्त जग्गा सरकारका नाममा दर्ता गर्नु भनी सरकारलाई निर्देशनात्मक आदेश दिने निर्णय गराए । केही वर्षको अन्तरमा यसरी फरक निर्णय भएपछि आदेशविरुद्ध गुठीका मोही भनिएकाहरू सर्वोच्च अदालत गए ।

सर्वोच्चले अख्तियारको निर्देशन बदर हुने भनी परमादेश जारी गर्‍यो । त्यो आदेशपछि सरकारका नाममा दर्ता भएको जग्गा गुठीका नाममा दर्ता हुनुपर्ने थियो । त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । त्यतिबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाल काण्डका कारण दाहालले राजीनामा दिएलगत्तै माधवकुमार नेपाल प्रधानमन्त्री भए ।

तर मालपोत र भूमिसुधारका अधिकारीहरू अदालतको आदेश भयो भन्दैमा मोहीबिनाको जग्गा मोहीसमेत कायम हुने गरी दर्ता गर्ने प्रस्ताव उठाउन तयार भएनन् । जग्गा सोझै व्यक्तिका नाममा दर्ता गर्ने योजना विफल भएपछि अर्कै ढंगले हत्याउने खेल भयो,जसमा भौतिक योजना तथा निर्माण मन्त्रालयमार्फत प्रधानमन्त्री निवास विस्तार योजना रचियो ।

जसका रणनीतिकार थिए, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात । सरकारी निवास, भवनलगायतको जिम्मेवारी हालको सहरी विकास मन्त्रालयमातहत रहेको भवन विभागसमेत रहेको तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत पर्थ्यो । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘सार्वजनिक जग्गा प्रधानमन्त्री निवासमा गाभ्ने, अनि त्यहाँ मोही रहेको देखाई उनीहरूलाई सार्वजनिक जग्गा दिने ढंगको जालझेल भयो ।’

बस्न्यातको रणनीतिअनुसार भवन विभागबाट टिप्पणी उठेर सबै प्रस्ताव तयार भयो । २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले बालुवाटारको जग्गा विस्तार गर्‍यो । जसमा ३५ रोपनी जग्गामध्ये २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थप हुने भयो । ‘थपिएको जग्गा यसै पनि सरकारको नाममा थियो,’ अख्तियारस्रोतले भन्यो, ‘निजी जग्गा प्रधानमन्त्री निवासका लागि ल्याइएको भए व्यक्तिको जग्गा अधिग्रहण गरेर उनीहरूलाई मुआब्जा दिएर जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पुर्‍याउनुपर्ने थियो । उनीहरूले सरकारी जग्गा सोझै लिए । तर त्यहाँ मोही थिए भनेर सरकारी जग्गा कब्जा गर्ने काम भयो ।’

त्यो जग्गा लिएपछि मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवासको पश्चिमी साइडमा ८ मिटर चौडा ५ सय ७० मिटर लामो बाटो खोलिदियो, जुन बाटोले निजी जग्गाधनीहरूलाई सरकारी जग्गामा बनाइएको प्लटिङको जग्गासम्म पुग्न निकै सहज भयो । त्यसक्रममा एक रोपनी ११ आना २ पैसा सरकारी जग्गासमेत बाटोमा प्रयोग भएको मिसिलबाट देखिन्छ । त्यही निर्णयका क्रममा सरकारी जग्गा बालुवाटारको प्रधानमन्त्री निवासभित्र बढाउँदा त्यहाँ रहेका मोहीलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय भयो, जबकि त्यहाँ कुनै पनि मोही थिएनन् ।

२०६६ चैत २९ गतेको निर्णयलाई कार्यान्वयन गर्न नसकिने भनी भूमिसुधार मन्त्रालयले मोहीका नाममा जग्गा दिन नसकिने प्रतिउत्तर लेख्यो । त्यसपछि मोही भनिएका व्यक्तिहरूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर आफूहरूले जग्गा पाउनुपर्ने माग राखे । प्रधानमन्त्री कार्यालयको परिपत्र भनी भूमिसुधार मन्त्रालयका जग्गा प्रशासन महाशाखाका उपसचिव हुपेन्द्रमणि केसीले बाटो, राजकुलो र सरकारी जग्गामा मोही कायम गरिदिए । सरकार मातहत रहेको समरजंग कम्पनीको जग्गा पनि मोहीका नाममा पर्ने भयो ।

२०६७ सालमा फेरि भूमिसुधार मन्त्रालयले मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यार्थ आएका बखत निर्णय गर्ने भनी प्रस्ताव मुल्तबीमा राखिदियो । २०६७ मंसिर १६ गते मालपोत कार्यालय डिल्लीबजारले उक्त निर्णयलाई बेवास्ता गरी विभिन्न व्यक्तिलाई मोही कायम गरिदियो । मालपोत कार्यालयले २०६६ माघ १० गते नम्बर ९००९ उल्लेख गरी पठाएको पत्रमा जग्गाको विवरणसमेत छ । त्यही प्रस्तावका साथमा नापी कार्यालयको फिल्ड बुकसमेत छ, जसमा मोही देखिँदैन भने पर्तीजग्गा भनी उल्लेख छ ।

त्यही टिप्पणीका आधारमा भौतिक मन्त्रालयका तत्कालीन सचिव बस्न्यातले मन्त्रिपरिषद्मा प्रस्ताव लगे । मालपोत कार्यालयले ‘डाइवर भाइचा’ मोही भनी उल्लेख गरे पनि नापीमा मोही नभएको जग्गा भनिएको थियो । १०६ नम्बरको मोही भनी नाराञ्चा महर्जन उल्लिखित जग्गामा मोही थिएन ।

पछि मोहीका नाममा जग्गा आएको छोटो अवधिमै यी जग्गा धमाधम उमा ढकाल र माधवी सुवेदीका नाममा पास गरिएको थियो । उमा शोभाकान्त ढकालकी पत्नी हुन् भने माधवी रामकुमार सुवेदीकी पत्नी हुन् । जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले भन्यो, ‘अनेक व्यक्तिका नाममा यसरी मनोमानी दर्ता गरिदिएको देखिन्छ ।’

मालपोत स्रोतका अनुसार २०२१ सालमा नापीमा नगरतर्फ २३ (क्ष) कित्ता नम्बर ७६ क्षेत्रफल २ रोपनी १२ आना भनी उल्लेखित जग्गालाई २०४७ सालको नयाँ नापीले पनि कायम गरिदिएको थियो । पछिल्लो नापीमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सिट नं. १०२ अन्तर्गतको १०२५ (१५ कित्ता नम्बर २१) भनी उल्लेख गरिएको छ । त्यो विवरण हेर्दा उक्त जग्गा पर्ती हो । यही पर्ती जग्गालाई मोही कायम गरिनुपर्छ भनी भौतिक सचिव बस्न्यातले मन्त्रिपरिषद्मा प्रस्ताव पठाए ।

कतिपयमा मोहीको नाम फेरे भने कतिपयमा फिल्डबुकमा मोही नजनिए पनि मोही दिनुपर्छ भनी जबर्जस्ती निर्णय गराए । स्रोतका अनुसार कित्ता नम्बर १०६ नम्बरमा मोही छैन । फिल्डबुकमा मोही नभएको भनी जनिएको जग्गामा बस्न्यातले मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा ‘नाराञ्चा महर्जन’ भनी मोही कायम गरिदिएको विवरण पठाए । यसरी उनीहरूले सार्वजनिक सम्पक्ति व्यत्तिको नाममा दर्ता गराए ।

'उच्च नैतिक चरित्र’
विभिन्न विवादास्पद निर्णयमा सामेल भएर अवकाश पाएका सचिव बस्न्यातपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त बने ।

सर्वोच्च अदालतले अयोग्य घोषणा गरेका कारण विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बहिर्गमनसँगै बस्न्यात अख्तियारका कार्यवाहक प्रमुख आयुक्त बनेका थिए । संवैधानिक परिषद्मा अख्तियार प्रमुखको नियुक्तिको प्रसंग उठदा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले बस्न्यातको योग्यतामाथिको प्रश्न सर्वोच्च अदालतमा विचाराधीन भएकै अवस्थामा उनको सिफारिस गर्न नहुने अडान राखेकी थिइन् ।

तर उनलाई महाभियोग लाग्नासाथ हतारहतार डाकिएको संवैधानिक परिषदको बैठकमा तत्कालीन कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले सहमति जनाए र बस्न्यातको नाम सिफारिस भयो र उनी प्रमुख आयुक्त भए ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बढी भारले बस खस्यो, ६ को मृत्यु ३४ घाइते

डीआर पन्त

डडेलधुरा — धनगढीबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको साहुखर्कमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दुर्घटना अत्यधिक भारले भएको ट्राफिक प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमा बझाङको तल्कोट–४ का धनबहादुर घर्ती, केदारश्यु गाउँपालिका–५ का नरेन्द्र गुरुधामी र हरूली बोहरा, तल्कोट ५ की कलशीदेवी गुरुधामी, भारत, बिहारका मोहम्मद नसिर र विहारकै मोहम्मद गुलजार छन् । गुलजारलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।

मंगलबार अपराह्न धनगढीबाट छुटेको ना६ख १८३१ नम्बरको यात्रुवाहक बस सडकबाट २ सय मिटर तल खसेको हो । ३२ जनाको भार क्षमता भएको बसमा ५० भन्दा बढी यात्रु र व्यापारिक प्रयोजनको सय क्विन्टलभन्दा बढी सामान थियो । ‘क्षमताभन्दा बढी भार रहेका कारण दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरीको स्याउले पोस्टका हवल्दार कृष्णकिरण चन्दले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

धनगढीबाट साँझ ४ बजेतिर छुटेको बस १३ घण्टापछि साहुखर्क पुगेको देखिन्छ । सामान्यतः अत्तरियादेखि ४ घण्टाको दूरीमा पुग्न बसले निकै समय लगाएको दुर्घटनाबाट जोगिएका बझाङ, कोटभैरवका धर्मसिंह रोकायाले बताए । उनले भने, ‘अत्तरियामा ३ घण्टासम्म व्यावसायिक प्रयोजनको सामान लोड गर्ने/नगर्ने विषयमा यात्रु, ट्राफिक प्रहरी र गाडी सञ्चालकबीच विवाद हुँदा अत्तरियामै बस रोकिएको थियो ।’

अत्तरियास्थित ट्राफिक प्रहरीसँग सेटिङ मिलेपछि राति अबेर बस अगाडि बढेको रोकायाले बताए । सामान र यात्रु धेरै बढी भएको भन्दा बसका कर्मचारीले आफूलाई अर्को गाडीमा आउनु भन्दै ओराल्न खोजेको पनि उनले बताए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियादेखि डडेलधुरासम्म ६ ठाउँमा ट्राफिक प्रहरीका चेकपोस्ट छन् । ती कुनै पनि पोस्टमा प्रहरीले उक्त बसलाई जाँच नगरेको यात्रुले जनाए ।

गम्भीर घाइते ५ जनालाई माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । बाँकी २९ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उपक्षेत्रीय अस्पताल लगिएका सामान्य घाइते उपचारपछि घर फर्किसकेका छन् । तराईका कैलाली कञ्चनपुरबाट पहाडी जिल्लामा चल्ने अधिकांश सवारीसाधन पुराना भएका र अत्यधिक भार बोकेर गन्तव्यमा जाने गरेका कारण पटकपटक दुर्घटना हुने गरेको देखिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्