बारपाकमा ढुंगाका छानाको ठाउँ जस्तापाता

हरिराम उप्रेती

बारपाक, गोरखा — भूकम्प गएको चौथो वर्ष लाग्दा ढलेका घर लगभग उठेका छन्, पहिचान गुमाएर । ढुंगाले छाएका एकनासका घर हराएका छन् । गाउँको सौन्दर्य र मौलिकता गुमेको छ । हुनेखानेले करोडसम्म खर्च गरेर पक्की ढलान घर ठड्याएका छन् । मध्यमवर्गले गच्छेअनुसार । केहीले निर्माण थाल्न सकेकै छैनन् ।

चार वर्षअघिको त्रासदी । महाभूकम्पको केन्द्रविन्दु बारपाकका स्थानीयको मानसपटलमा ताजै छ । एकै झटकामा यहाँका ७२ जनाले ज्यान गुमाए । सयभन्दा बढी घाइते भए । १ हजार ३ सय घर खण्डहर बने ।
घटनाको चौथो वर्ष लाग्दा ढलेका घर लगभग उठेका छन् तर पहिचान गुमाएर । ढुंगाले छाएका एकनासका घर हराएर ‘खिचडी’ बस्ती ठडिएको छ । गाउँको सौन्दर्य र मौलिकता गुमेको छ । हुनेखानेले करोडसम्म खर्च गरेर पक्की ढलान घर ठड्याएका छन् । मध्यमवर्गले गच्छेअनुसार । आर्थिक अवस्था कमजोर भएका केहीले अझै निर्माण सुरु गर्न सकेका छैनन् ।

हिमालय माविअघिको खाली चौरमा पाका पुस्ताको ‘जक्सन’ छ । दैनिकजसो भेला हुन्छन् । भूकम्पपछि बारपाकले के पायो, के गुमायो, छलफल चल्छ । गाउँको मौलिकता गुमेकोमा चिन्ता जनाउँछन् । बसिबियालोमा अबको सम्भावनाबारे गफिन्छन् । आरसीसी घरप्रति उनीहरू असन्तुष्ट छन् । रंगीविरंगी घर चित्त बुझेको छैन । ‘पहिले नमुना थियो, अहिले अर्कै बारपाक बन्यो,’ ७३ वर्षीय भेषबहादुर घलेको तर्क छ, ‘भूकम्पले ल्याएको परिवर्तन छानामै देखिन्छ ।’ ढुंगाका छानालाई आरसीसी र टिनले विस्थापित गरेको उनले बताए । ‘जमना बदलियो, पुरानो बस्ती इतिहास बन्यो,यो बारपाकीका लागि दुर्भाग्य हो ।’
भौगोलिक हिसाबले पनि सिमेन्टजडित घर उपयुक्त नभएको पाका पुस्ताको गुनासो छ । ‘उहिलेकै घरमा बस्न आनन्द, न्यानोमा उस्तै । अहिले सिमेन्टको घरमा आगो फुके धुवाँ लाग्ने, कुनामा अलग्ग बस्यो, ग्यासमा पकायो खायो’, ८८ वर्षीय पूर्णबहादुर घलेको दुखेसो छ, ‘ऊ बेलाको ढुंगा खई लाग्थेन, हावाहुरीले उडाउने डर हुन्नथ्यो, फेरिरहनु पनि नपर्ने,’ उनले भने, ‘ढुंगाले छाएको गाउँको सौन्दर्य अर्कै थियो, अहिले खिचडी भएको छ ।’ घर हेरेर धनी र गरिबछुट्याउन सक्ने बस्ती बसेको उनले सुनाए ।

सिमेन्टको घरमा अन्नबाली राख्न पनि समस्या परेको उनको तर्क छ । घलेले भने, ‘भकारीमा अन्न राख्नै छाडे, अहिलेका मान्छे खेतीपाती गर्दैनन्, पैसा तिर्‍यो, थैलो (बोराको चामल) ल्यायो, खायो ।’ भूकम्पको राहतमा भर पर्दा सुरुका दुई वर्ष खेती, किसानीडामाडोल बनेको कतिपय स्थानीयले बताए । भूकम्पपछि आएका पर्यटकले रैथाने स्वाद आक्कलझुक्कल चाख्न पाएका छन् ।

भेडापालन संकटमा पर्दै छ । लोकल कुखुराको साटो ब्रोइलरप्रति आकर्षण बढेको छ । कोदोको ढिँडोलाई बजारको चामलले विस्थापित गरेको छ । यही अवस्था जारी रहे भविष्यमा यसले बारपाकको पर्यटक आवागमनमा ठूलै असर पुग्ने स्थानीयको आंकलन छ । बारपाकलाई पुरानै अवस्थामा फर्काउन नसकिए पनि प्रयास थाल्ने ७२ वर्षीय रोशनी घले बताउँछिन् । ‘सिमेन्टको घर बनाइयो तर यस्तो घर हेर्न पाहुना नआउने रहेछन्,’ उनले भनिन्, ‘अब होमस्टे चलाउन अर्को ढुंगाले छाएको पुरानै मोडलको घर नबनाई सुखै छैन,पाहुना बसाउन अर्को घर बनाउँदै छु ।’

पहिलो किस्ता लिएको लाभग्राहीलाई आधार मान्दा बारपाकमा मात्र ८५ प्रतिशत पुनर्निर्माण सकिएको छ । १३ सय ६७ मध्ये १२ सय १९ ले घर निर्माण सकेर तेस्रो किस्ता लिएका छन् । घर निर्माण नगर्नेको कारण खोजीमा जुटेको वडाध्यक्ष रोशन विकले बताए ।

४० प्रतिशत आरसीसी र ६० प्रतिशत ढुङ्गामाटोको घर बनेका छन् । युवा पुस्ता भूकम्पपछि बारपाकले शाख जोगाउन नसकेकोमा चिन्ता जनाउँछन् । चाहेर पनि अब मौलिकता फर्काउन नसक्ने स्थानीय जितबहादुर घलेको तर्क छ । ‘गाउँ हो कि सहर छुट्याउन गाह्रो छ,’ उनले भने, ‘आरसीसी र ढुंगा, माटाका घर सराबरी बनेका छन्, के भन्ने ?’ पुनर्निर्माण प्राधिकरणले ढुंगा, माटोबाट बनेका घर पनि भूकम्प प्रतिरोधी हुन्छ भनेर बुझाउन नसक्दा यो अवस्थाआएको उनले आरोप लगाए ।

‘तीन लाख दिन्छौं, भूकम्पप्रतिरोधी हुनुपर्‍यो, इच्छाअनुसार बनाउनुस् भनेको भए मौलिकता बिग्रन्थेन,’ उनले भने, ‘१७ प्रकारको नक्सामा हाम्रा घर परेनन्, अनुदान नपाइने डरले स्वरुप बिग्रियो ।’ प्राविधिकले दुईकोठे घर बन्धन राखी बनाए पैसा पाइन्छ भनेर ढिपी गर्दा समस्या थपिएको उनले बताए ।

भूकम्प गएलगत्तै गुरुयोजना बनाएर काम नगर्नू कमजोरी भएको उनले स्वीकारे । ‘भूकम्पअघि दुई–तीनवटा ढलान गरेका घर थिए, तिनलाई भूकम्पले खासै असर गरेन, ढुंगा, माटोको घर एउटै बाँकी बसेन,’ उनले भने, ‘मान्छेको दिमागमै ढुंगा,माटोको घर बलियो हुँदैन भन्ने पर्‍यो ।’

गरिबका घर बन्नै बाँकी
यहाँ परापूर्वकालदेखि (जैशी) ज्योतिषीलाई हेराएर मात्र घरको जग राख्ने प्रचलन छ । कात्तिक र चैतमा जग राख्दैनन् । केही भूकम्पपीडितले साइत नजुरेकाले जग हाल्न नपाएको घलेले बताए । दलित बस्ती र आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन थालेका छैनन् । ‘सरकारले पाँच वर्षभित्र घर बनाए हुन्छ भनेको सुनेकाले पनि उनीहरू ढुक्कसँग बसेका छन्,’ घलेले घने ।

करिब १५ प्रतिशत घरधुरी यसभित्र पर्ने उनले बताए । बारपाक पुनर्निर्माणकोअवस्था सन्तोषजनक रहेको उनको दाबी छ । भूकम्पलगत्तै आफूखुसी घर बनाएकाहरूले भूकम्पप्रतिरोधी मापदण्ड पूरा गरेनन् । सरकारी अनुदान लिएर उनीहरूले अर्को घर बनाएका छन् । यसो हुँदा केही बारपाकीको दुईवटा घर भएको छ । ‘ठूलो घरको साइडमा सानो घर छ, त्यो अनुदान लिनका लागि बनाइएको हो, त्यो घर अब बाख्रा, कुखुरा पाल्न प्रयोग होला,’ उनले भने, ‘तीन लाख पाउन १० लाख खर्चेर बनाएको घर भत्काउने कुरा पनि भएन ।’ सरकारी कार्यालयका घर पनि सुविधासम्पन्न छन् ।

विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र प्रहरी चौकीको पक्की भवन बनेको छ । बस्तीभित्रै एम्बुलेन्स जाने सडक छ । टहरोमा अध्ययन गर्दै आएका हिमालय मावि बारपाकका विद्यार्थी पक्की भवनमा सरेका छन् । काम निकै सुस्त भए पनि १२ किलोबाट बारपाकसम्म पुग्ने सडक कालोपत्रेको योजना परेको छ । भूकम्प स्मृति पार्क र भ्यु टावर निर्माणाधीन छ ।

भित्री सडकमा ढुङ्गा छाप्ने योजना स्थानीयले बनाएका छन् । पर्यटक संख्या बढेको छ । गाउँमा बैंक खुलेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरू विभिन्न कार्यक्रम लिएर बारपाक पुगेका छन् । भूकम्पअघि तीन होटल थिए । अहिले ७–८ वटा सञ्चालनमा रहेको स्थानीय उषादेवी घलेले सुनाइन् । साना घरेलु उद्योग खुलेका छन् ।
२०६६ मा बारपाकका १३ घरधुरीबाट सुरु भएको होम स्टे सेवा २० घरबाट दिइएको बारपाक होम स्टे सञ्चालक समिति अध्यक्ष मनु घलेले बताइन् । ‘२० घरमा एक सय ४० जनासम्म राख्न सक्छौं,’ उनले भनिन् । होटल खुल्ने क्रम बढदै जाँदा होम स्टेमा पाहुना घटेको उनको दुखेसो छ । पाहुनालाई भुलाउन चुटा नाच प्रस्तुत गर्न थालेको उनले बताइन् ।
ऋणको भारी
अनुदान किस्ता बेलैमा नपाउँदा बारपाक–१ की छलिमाया विकलाई ऋणले थिचेको छ । ढुंगा र बालुवा खरिद र ढुवानीमै ४० हजार खर्च भइसक्यो । ३० बोरा सिमेन्ट र चुरी रड साहु रिजाएर उधारोमा ल्याएकी छन् । ‘सामान र कामदारलाई गरेर एक लाख ८० हजार ऋण लागेको छ,’ उनले भनिन्, ‘डीपीसी सकेपछि दोस्रो किस्ता पाइन्छ भनेका छन्,छाउने बेलासम्म प्राविधिकको मुख देख्न पाइएन ।’सरकारले दिएको तीन लाखले घर नबन्ने उनको गुनासो छ ।

‘अब धेरै ऋण नगर्ने सोचमा छु, अहिले बसेको टहरो भत्काएर त्यही जस्ताले नयाँ घर छाउनुपर्ला,’ उनले भनिन्, ‘प्राविधिक आए किस्ता पनि पाइन्थ्यो होला, फिनिसिङ गर्दासम्मदुई लाख ऋण खोज्नुपर्ने भइसक्यो ।’ कान्तिलाल गुरुङको समस्या पनि उस्तै छ । ‘पैसा नहुँदा छिट्टै घर बनाउन सकिन,’ उनले भने, ‘जसोतसो घर बनाउन आटेको, तीन लाख अनुदान पाइएला/नपाइएला, प्राविधिक त आउलान् नि !’ घर बनाउँदा यहाँका अधिकांशलाई ऋण लागेको छ । २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बारपाककै गोपाल विकको घर शिलान्यास गर्दै देशभर पुनर्निर्माण सुरु भएको सन्देश दिएकी थिइन् ।

राष्ट्रपतिले शिलान्यास गरेको विकको घर निर्माणले पूर्णता पाए पनि ऋणको भार थपिएको छ । राष्ट्रपतिलाई नयाँ घर देखाउने उनको धोको छ । ‘पाँच कोठे घर जसोतसो निर्माण सकेको छु, फिनिसिङतिर लाग्ने भए अझै एक लाख खर्च होला, अहिलेपाँच लाख ऋण छ,’ उनले भने ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

फेरि किर्ते उपभोक्ता समिति

अवधेशकुमार झा

राजविराज — नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

यो प्रकरणमा पनि पूर्वसांसद तथा राजपा केन्द्रीय सदस्य बीपी यादवको संलग्नता रहेको स्रोतको दाबी छ । यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल हिरासतमा छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २५ लाख रुपैयाँको योजनामा किर्ते समिति बनाएको आरोप लागेका उनीहरूमाथि सोमबार सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किर्ते समिति फेला परेको पछिल्लो योजना १५ लाख रुपैयाँको हो । जुन प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । उक्त समिति छिन्नमस्ता–५ का वडाध्यक्ष रामानन्द पण्डित अध्यक्षताको बैठकले गठन गरेको पूर्वाधार विकास कार्यालयमा रहेको योजनाकोफाइलमा उल्लेख छ ।

जबकि पण्डित वडा नम्बर ४ का अध्यक्ष हुन् । ‘५ नम्बर वडाको योजनाका लागि मेरो अध्यक्षतामा कसरी बैठक हुन्छ त ?,’ उनले भने, ‘त्यस्तो कुनै पनिउपभोक्ता समिति मेरो अध्यक्षतामा भएको बैठकमा गठन भएको छैन ।’

फाइलमा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले गरेको भनिएको सिफारिससमेत संलग्न छ । मंसिर २४ गतेको मितिमा चलानी नम्बर ३१० राखी गरिएको सिफारिसपत्र पनि किर्ते नै छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले उक्त पत्र खानेपानी तथा सरसफाइ १ नम्बर डिभिजन कार्यालयलाई पठाइएको बताए । ‘पूर्वाधार विकास कार्यालयका नाममा कसरी गयो,थाहा भएन,’ उनले भने ।

उपाध्यक्ष मण्डलले खानेपानी कार्यालयलाई गरिएको सिफारिसमा हस्ताक्षर गरेको र सो पत्र वडा नम्बर ५ का अनिल मिश्रलाई दिएको बताइन् । मिश्रले भने उक्त सिफारिस पूर्वसांसद यादवको आग्रहमा गाउँपालिकाबाट लिएको र उनैलाई दिएको सुनाए । ‘३१० चलानी नम्बरको पत्र त खानेपानी डिभिजनलाई सम्बोधन गरिएको हो, मैले पूर्वसांसद बीपी यादवलाई दिएँ, पूर्वाधार विकास कार्यालयको नाम कसरी भयो,मलाई थाहा भएन, बीपीजीले नै भन्नसक्नुहुन्छ,’ उनले भने ।

खानेपानीलाई पठाइएको सिफारिस किर्ते गरेर पूर्वाधार विकास कार्यालयको नाममा बनाई लेटरप्याड र उपाध्यक्षको हस्ताक्षरसमेत दुरुपयोग गरिएको हो । उक्त समितिमा उल्लिखित पदाधिकारी र सदस्यमध्ये केहीको नागरिकतामा केरकार गरिएको छ । सदस्य उल्लेख गरिएकी मन्दादेवी चमैनको नागरिकतामा बेल्ही चपेनाको ठाउँमा माथिबाट छिन्नमस्ता लेखेर केरमेट गरिएको फोटोकपीमा प्रस्ट देखिन्छ ।

सम्बन्धित योजना उपभोग गर्नेहरूमध्येबाटै समिति गठन गर्नुपर्ने प्रावधानसमेत उल्लंघन गरिएको छ । समितिमा अध्यक्ष उल्लेख गरिएका सुरेन्द्रकुमार मण्डल बेल्ही चपेना ३ का हुन् । जुन हाल राजगढ गाउँपालिकामा पर्छ । अघिल्लो समिति पनि मण्डलकै नागरिकता केरमेट गरी बनाइएको थियो ।

समिति उपाध्यक्ष रामकृष्ण यादव, सचिव इन्दु यादव, कोषाध्यक्ष विजयकुमार यादव, सदस्यहरू बबितादेवी यादव, मन्दादेवी चमैन र रानीदेवी यादवमध्ये कोही सम्बन्धित वडाका होइनन् । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसित राम्रो सम्पर्क बनाएका बीपी यादवले सप्तरीमा स्वीकृत योजनामा आफूखुसी उपभोक्ता समिति गठन गरेको स्रोतको दाबी छ । उक्त मन्त्रालयबाट सप्तरीमा २० योजना स्वीकृत भएका छन् । तर कुन–कुन योजना सञ्चालनमा छन् भने विवरण पूर्वाधार विकास समन्वय इकाई कार्यालय राजविराजमा छैन ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्