२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गुल्मीमा एकै गाउँका ९६ बिरामी

खानेपानीको प्रदूषण र मात्रा परीक्षणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पठाइयो
घनश्याम गौतम

(रूपन्देही) — खोलाको दूषित पानी पिउँदा गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटमा ९६ जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई भर्ना गरिएको छ । अवस्था गम्भीर रहेकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको छ । 

गुल्मीमा एकै गाउँका ९६ बिरामी

तम्घासमा ३ जनाको उपचार भइरहेको छ । ८५ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा बिहीबारदेखि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलले बताए ।


आइतबार सामान्य रूपमा ४/५ जना बिरामी भए पनि सोमबार २६ जना बिरामी परेका थिए । बुधबार साँझबाट एक्कासि धेरैजना बिरामी पर्न थालेको उनले बताए । बिहीबारसम्ममा ९६ भन्दा बढी बिरामी परेको उनले बताए । चार वर्षअघि आगलागीले पूरै दजाकोट ध्वस्त भएको थियो । ६० भन्दा बढी घर जलेर नष्ट भएका थिए । 'आगलागीबाट भर्खर उठदै गरेको गाउँमा एक्कासि महामारीजस्तै फैलियो,' उनले भने, 'खानेपानीमै समस्या देखिएको छ ।'


उपचारमा संलग्न नगरपालिकाका स्वास्थ्य सहसंयोजक पुष्कर गौतमका अनुसार धेरै बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ । 'दूषित पानीकै कारण फुड प्वाइजनको आशंकामा उपचार गरेका छौं,' उनले भने, 'हिजोभन्दा आज बिरामी बढेपछि जनस्वास्थ्य कार्यालयबाट पनि स्वास्थ्यकर्मी झिकाएका छौं ।' जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । गाउँकै शिविरमा ८ जनाको र अन्यको घरमै उपचार गरिएको स्वास्थ्यकर्मी गौतमले बताए ।

स्थानीय एक जनप्रतिनिधिका अनुसार दजाकोटमा आगलागी भएदेखि नै खानेपानीको विषयमा तल्लो गाउँ र माथिल्लो गाउँबीच चर्को विवाद हुँदै आएको छ । आगलागीले ध्वस्त भएको सिंगो गाउँ पुनर्निर्माण भइरहेकाले स्थानीयकै पहलमा माथिल्लो गाउँबाट पुनर्निर्माणका लागि मात्र खानेपानी ल्याइएको छ । 'मुहान पनि फोहोर नै छ,' उनले भने, 'दुई गाउँको विवादकाबीच जिल्ला प्रशासनदेखि राजनीतिक दलका नेताको ठूलो दबाबमा पानी ल्याइएकाले केही आशंका पनि बढेका छन् ।' उपचारमा संलग्न चिकित्सकले भने पानी दूषित भएको आशंका गरिएको भए पनि अन्य केही भन्न नसकिने बताए ।


गाउँमा वडा ३ को नुरखोलाको पानी पाइपमार्फत गाउँमा ल्याइएको छ । पानीको प्रदूषण र मात्रा परीक्षणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा पठाइएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?