कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २.३७ अर्ब रकमान्तर

जनकपुर — आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘आफ्ना मान्छे’ को नामै किटेर ठूला योजनाको रकम फुटकरमा सारेका हुन् ।

आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २.३७ अर्ब रकमान्तर

स्थानीय तह र संसदीय कोषले छनोट गरेजस्ता साना र फुटकर योजनामा करोडौं रुपैयाँ सारिएको छ । उक्त बजेट मन्त्रीहरूले गृह जिल्ला र संसदीय क्षेत्रमा पारेका छन् । उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा १ अर्ब ६७ करोड ७ लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते २ सय ७४ वटा शीर्षकमा ७० करोड रुपैयाँ रकमान्तर गरेका हुन् ।

प्रदेश २ को विकास सूचकांकसँग जोडिएको यी दुई मन्त्रालयको बजेट एकीकृत र ठूला योजनामा खर्चिनुपर्नेमा मन्क्रीकै निर्देशनमा आर्थिक वर्षको अन्त्यतिर टुत्रे योजनामा छरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले पर्यटन क्षेत्रमा विनियोजन गरिएको ३२ करोड रुपैयाँलाई छिन्नभिन्न पारेर १ सय २६ वटा योजनामध्ये ६६ वटा गृह जिल्ला सर्लाहीमा लगेका छन् । तीमध्ये ३५ वटा आफ्नै संसदीय क्षेत्रमा खन्याएका छन् ।

रकमान्तर गरिएका अन्य योजना कार्यान्वयनमा लगे पनि पर्यटनको ३२ करोड रुपैयाँ छिन्नभिन्न गरेर एउटै जिल्लामा अधिकांश योजना लगेको भन्दै मन्त्रालयका सचिव विद्यानाथ झाले फाइल अड्काइदिएका छन् । राजपाबाट मन्त्री बनेका रायले सर्लाहीको हरिपुर्वा, पर्सा, जिगअर्वा, संग्रामपुर र ब्रह्मपुरीमा मात्रै ३५ वटा योजना लगेका छन् । जसमध्ये धेरैजसो बजेट विवाहमण्डप निर्माणमा लगाइएको छ ।

सर्लाहीको पर्सामा इदगाह मर्मत सम्भार, हरिपुर्वा–७ मा ब्रह्मस्थान पर्खाल निर्माण, महोत्तरीको मनरासिस्वा–८ मा

कटैया बजार मर्मत, धनुषाको जमुनियामा छठघाट निर्माण, महोत्तरीको जिरोमाइलमा धर्मशाला निर्माण र सप्तरीको हनुमाननगरमा विवाहमण्डप निर्माणलगायत १ सय २६ वटा योजनामा पर्यटनको ३२ करोड रुपैयाँ मन्त्री रायले खन्याएका हुन् ।

पर्यटनको बजेट छिन्नभिन्न पारेर मन्त्रालयले खर्चका लागि वन निर्देशनालयलाई रकम पठाइसकेको छ । मन्त्रालयका सचिव झाले बिहीबार निर्देशनालयलाई ‘सरकारको नीति तथा कार्यक्रमअनुसार बजेटमा विनियोजित रकम समानुपातिक रूपमा सबै जिल्लामा पर्ने गरी खर्च गर्न’ पत्र काटेका छन् । ‘पर्यटनको बजेट वन निर्देशनालयमार्फत खर्च गर्नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने, ‘रकमान्तर गरिएको बजेटको समानुपातिक वितरण पनि गरिएको छैन ।’

सचिव झाले पर्यटन विकास आयोजना बनाएर धार्मिक पर्यटन पूर्वाधार र सर्किटमा एकमुष्ट रकम खर्च गर्न प्रस्ताव गरे पनि मन्त्री रायले पर्यटनको बजेट वन निर्देशनालयमार्फत खर्च गर्न अड्डी लिए । छिन्नभिन्न पारिएको पर्यटनको बजेट स्वीकृत गर्न रायले तारन्तार दबाब दिएपछि सचिव झा २० दिन बिदामा बसे । तालिम, सेमिनार, अध्ययन भ्रमण र क्षमता अभिवृद्धिमा बजेटको ठूलो हिस्सा रकमान्तर गरिएको छ ।

नामै किटेर योजना

रकमान्तर गरिएको ७० करोड रुपैयाँमध्ये २४ करोड छोरा मेयर रहेको नगरपालिकामा खन्याएका सामाजिक विकासमन्त्री नवलकिशोर साहले नाम र मोबाइल नम्बरै किटेर योजना जिल्ला पठाएका छन् । सामाजिक विकास मन्त्रालयको चौमासिक विभाजन फाराममा योजना सिफारिस गर्ने र योजना पाउने दुवै व्यक्तिको नाम किटिएको छ ।

कान्तिपुरलाई प्राप्त तीन पन्नाको चौमासिक फाराममा मन्त्री, प्रदेश सांसद र सत्तासीन दलका नेताको सिफारिसमा छनोट भएको योजनामार्फत खर्च गर्ने भन्नेसमेत उल्लेख छ । सिरहाको सुखीपुर नगरपालिकामा इतहादु आधारभूत विद्यालयका लागि विनियोजन गरिएको ७ लाख रुपैयाँ खर्च गर्न श्यामनन्दन यादवलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

यादवलाई सिरहाको २२ वटा योजनाका लागि खर्च गर्दा सम्पर्क व्यक्ति तोकिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको सिफारिसमा सामाजिक विकास मन्त्रालयले सिरहामा लगेका सबै योजनामा सम्पर्क

व्यक्ति श्यामनन्दनलाई तोकिएको छ ।

संघीय समाजवादी फोरमसँग आबद्ध श्यामनन्दनले योजनामा आफ्नो नाम सल्लाहै नगरी राखिएको बताए । ‘सामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, थाहा छैन,’ श्यामनन्दनले कान्तिपुरसँग भने, ‘अहिलेसम्म कसैले सम्पर्क गरेको छैन । उपभोक्ता समितिले पनि मसँग सोधेको छैन ।’

सप्तरीको तिरहुत गाउँपालिकाको आधारभूत विद्यालय त्रिकोलको पर्खाल र कक्षाकोठा निर्माणका लागि विनियोजन गरिएको १ लाख रुपैयाँमा सिफारिसकर्तामा गाउँपालिकाको नाम रहे पनि सम्पर्क व्यक्तिको नाम तोकिएको छैन । यस्तै, राजपाका प्रदेश सांसद बिक्की यादवको सिफारिसमा सप्तरीको डाकनेश्वरी नगरपालिकाको फत्तेपुर र पथरवामा सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ दुई शीर्षकमा विनियोजन गरिएको छ ।

दुवै योजनामा सम्पर्क व्यक्तिमा सांसद यादवकै नाम छ । सप्तरीको अग्निसाइर–कृष्णसाइर गाउँपालिकामा ८ लाख रुपैयाँ आयुर्वेद विद्यालयको पर्खाल निर्माणका लागि विनियोजित बजेटका लागि राजकुमार यादवलाई

सम्पर्क व्यक्ति तोकिएको छ ।

प्रदेशसभाको वैशाख ३ गतेको बैठकमा विपक्षी दल नेकपा र नेपाली कांग्रेसले जिल्लामा गएको बजेटमा सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख गरिएकामा आपत्ति जनाएका थिए । मन्त्री साहले विपक्षीले आरोपमात्र लगाएको दाबी गरे । ‘आरोपका लागि आरोप लगाउने काममात्र हो, सबै योजना नियमसंगत छ, कुनैमा बदमासी भएको छैन,’

मन्त्री साहले भने ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?