१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सामुदायिकमा भर्ना पाउनै मुस्किल

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगरको जननमुना विद्यालयले यसवर्ष ४ सय विद्यार्थीका लागि भर्ना खोलेको थियो । आवेदन पर्‍यो १ हजार ७ सयको । उत्कृष्ट नतिजाका कारण बर्सेनि विद्यार्थीको चाप बढ्दै गएपछि यो सामुदायिक विद्यालयमा यस वर्ष ४६ वटा सेक्सन बनाइएको छ । यहाँ हरेक वर्ष प्रवेश परीक्षापछि मात्र भर्ना लिइने गरिएको छ । 

सामुदायिकमा भर्ना पाउनै मुस्किल

वीरेन्द्रनगरकै अमरज्योति माध्यमिक विद्यालयमा भर्ना अभियान चलिरहेकै बेला प्रधानाध्यापक र वडा सदस्यबीच हातपातको प्रयास भयो । प्रधानाध्यापक खगेन्द्र थापामाथि वडा १२ का सदस्य रामकुमार दर्लामीले हातपात गर्ने प्रयास गरेका थिए । कारण थियो, ‘विद्यालयमा उनका आफन्तले भर्ना नपाउनु ।’


जिल्लामा यीसहित श्रीकृष्ण संस्कृत तथा साधारण मावि गुणस्तरीय शिक्षामा अब्बल सामुदायिक विद्यालय मानिन्छन् । तीनवटै विद्यालयमा भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, शान्त वातावरण, उत्कृष्ट नतिजालगायत कारण विद्यार्थी भर्ना गराउन अभिभावकको प्रतिस्पर्धा हुने गरेको छ ।


अमरज्योतिका प्रधानाध्यापक थापाले विद्यालयमा चाहिने कोटाभन्दा बढी भर्ना गर्न नसकिने बताएपछि जनप्रतिनिधिसँग विवाद भएको थियो । उनका अनुसार कक्षा १ देखि १० सम्म १ हजार १ सय विद्यार्थीको कोटा भए पनि एक हजार आठ सय जनाले आवेदन फाराम भरेका थिए ।


जिल्लाका अन्य सामुदायिक विद्यालयको शैक्षिकस्तर नसुध्रिँदा यी विद्यालय भने उत्कृष्ट बन्दै गइरहेका छन् । पछिल्लो समय सामुदायिकमा छात्रवृत्तिका लागि विद्यार्थी भर्ना हुने क्रम बढे पनि यी विद्यालयले आफूलाई अब्बल साबित गरिरहेका छन् ।


भौतिक पूर्वाधार, अनुशासन, नतिजामुखी गुणस्तरीय शिक्षाका कारण विद्यालयमा चाप धेरै भएको जननमुना माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनका अनुसार २६ जनाको दरबन्दी रहेको विद्यालयमा एक सय २५ जना विषयगत शिक्षकले अध्यापन गराउँदै आएका छन् ।


दरबन्दी कम हुँदा करार र आंशिक शिक्षक थप्नुपरेको उनले जानकारी दिए । ‘सबैको नजरमा हाम्रो विद्यालय परेको छ,’ उनले भने, ‘आजसम्म बन्द/हडतालले छोएको छैन, शिक्षकले रोटेसनअनुसार पठनपाठन गराउँदै आएका छौं ।’ गत वर्ष कर्णाली प्रदेशमा सर्वोत्कृष्ट भएको विद्यालयबाट दुई विद्यार्थीले एसईईमा ४ जीपीएस ल्याएका थिए ।


जिल्लामा पाँच सय दुई सामुदायिक विद्यालय छन् । अंग्रेजी माध्यमसँगै सहज शैक्षिक उपलब्धि हासिल हुनेगरी पढाइ हुन थालेपछि निजी छाडेर सामुदायिकमा भर्ना हुन आउनेको लहर चलेको हो । ‘विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षासमेत सञ्चालन गरिएको छ, हरेक कक्षाका विद्यार्थीलाई प्रयोगात्मक पठनपाठनमा जोड दिइरहेका छौं,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘विद्यार्थीको गतिशीलतामा सुधार, अनुशासन र जिम्मेवारीलाई प्राथमिकता दिएर पठनपाठन गराइरहेकाले उत्कृष्ट बन्न सफल भएका हौं ।’

प्रकाशित : वैशाख १३, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?