३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घरायसी विवादमा पति र सासुले जलाएका थिए कञ्चनलाई

भरत जर्घामगर

सिरहा — सिरहामा एक महिलालाई आफ्नै पति र सासुले आगो लगाएर बिहीबार हत्या प्रयास गरेका छन् । कल्याणपुर नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले जलाएर हत्याको प्रयास गरेको हो । 

घरायसी विवादमा पति र सासुले जलाएका थिए कञ्चनलाई

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जलिरहेकी कञ्चनलाई छिमेकीले तत्कालै उद्दार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टरमा पुर्‍याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहीबारै धरान लगिएको थियो । उनलाई धरानमा पनि उपचार सम्भव नभएपछि काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


घटनापछि तत्कालै प्रहरीसमक्ष दिएको बयानमा पीडित कञ्चनले आफूलाई पति बेचन र सासु सुर्जी मण्डल खत्वेले बिहीबार बिहान सवा ९ बजे भान्सामा खाना पकाउने क्रममा घरायसी विवादमा जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद खरेलले जानकारी दिए । घाइते अवस्थामा थप केही बुझ्न गार्‍हो परेकोले अन्य कुराको बारेमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


पत्नीलाई जिउँदै जलाउने प्रयास गर्ने कञ्चनका पति बेचन मण्डल फरार छन् । कञ्चनकी सासु सुर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरीलाई जलाएको घटना थाहा पाएपछि सिरहाको अर्नामा सागरपुरबाट कञ्चनका बुवा रामलोचन मण्डल र आफन्त सन्तोष मण्डल मिर्चैया पुगेका थिए ।


बुवा रामलोचन, आफन्त सन्तोष र माईजुले उपचारका लागि कञ्चनलाई धरान पुर्‍याएका थिए । स्थानीयका अनुसार दुई वर्ष अघि बेचनसँग विवाह बन्धनमा बाधिएका पीडित कञ्चनका डेढ वर्षे छोरी छन् ।


हत्याका आरोपी पक्राऊ

लहान नगरपालिका-१७ स्थित बलान खोलामा गत वैशाख ५ गते हत्या गरिएका ६९ वर्षीय रतन बहादुर तामाङको हत्यामा संलग्न आरोपी ज्ञान बहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।


राजविराज नगरपालिका-३ स्थित रंगशाला नजिक बसोबास गर्ने ५५ वर्षीय ज्ञान बहादुरले आफूसँग सापटी लिएको ४५ सय रुपैयाँ नदिएको निहुँमा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको दुई दिनपछि तामाङको शव लहान १७ स्थित बलान र खुट्टी खोला नजिकै रहेको गढीस्थानमा फेला परेको थियो । हत्या गर्नुभन्दा दुई दिन अगाडिदेखि थापा पीडितकै घरमा बसेका थिए ।


घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले थापाले तामाङको हत्या गरिसकेपछि आफूमाथि शंका हुन नदिन पुनः तामाङकै घरमा फर्केर उनकी पत्नी मनमाया तामाङसँग १५ सय रुपैयाँ र लाभा कम्पनिको एउटा मोबाइल सेट लगेको जानकारी दिए ।


तामाङको मृत्यु खुकुरी जस्तो धारिलो हत्याको प्रयोगबाट भएको बताइएको छ । प्रहरीले थापालाई गत बुधबार सिरहाको धनगढीमाई नगरपालिका १० स्थित राम मन्दिर परिसरबाट पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख १३, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?