नेपालीको वार्षिक प्रतिव्यक्ति आय ४२ डलर बढ्ने

४ खर्ब ३३ अर्बले अर्थतन्त्र बढ्ने
कृष्ण आचार्य

काठमाडौँ — यस वर्ष अर्थतन्त्रको आकार ४ खर्ब ३३ अर्ब २८ करोड रुपैयाँले बढ्ने भएको छ । यो आर्थिक वर्षको नौ महिना (साउन–चैत) को वास्तविक तथ्यांक र बाँकी ३ महिना (वैशाख–असार) को अनुमानका आधारमा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ । ‘गत वर्ष ३० खर्ब ३१ अर्ब ३ करोड थियो, यस वर्ष ३४ खर्ब ६४ अर्ब ३१ करोड पुग्ने अनुमान गरिएको छ,’ तथ्यांक सार्वजनिक गर्दै योजना आयोगका सदस्य रामकुमार फुयाँलले भने ।

नेपालीको वार्षिक प्रतिव्यक्ति आय ४२ डलर बढ्ने

तथ्यांक विभागले तयार पारी शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन’ अनुसार मुलुकको अर्थतन्त्रको आकार जनाउने उक्त रकम वर्तमान मूल्य अर्थात् उपभोक्ताको मूल्यमा हो । यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । वि.सं. २०५७/५८ को आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ६.८१ प्रतिशत हुने भएको हो । यो गत वर्षभन्दा ०.५१ प्रतिशत विन्दुले बढी हो ।

गत वर्ष ६.३० प्रतिशतले आर्थिक वृद्धि भएको थियो । सरकारले यस वर्षको बजेटमा ८ प्रतिशतले आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो । यसभन्दा १.१९ प्रतिशत विन्दु कमले आर्थिक वृद्धि हुने अनुमान विभागको हो । ‘आर्थिक वृद्धिदर बढ्दै गए पनि हाम्रो अर्थतन्त्रको आकार अझै सानै छ,’ तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले कान्तिपुरसँग भने, ‘वृद्धिदरका हिसाबले हामी राम्रो बाटोमा छौं तर यसलाई दिगो बनाउनु चुनौतीपूर्ण छ ।’


कुल गार्हस्थ उत्पादनमा अझै पनि कृषिको योगदान बढी छ तर कृषि पेसा निर्वाहमुखी भएकाले अर्थतन्त्रको संरचनात्मक परिवर्तनले मात्रै दिगो हुने उनले बताए । ‘आर्थिक वृद्धि दिगो बनाउने उपाय र अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्न सके राम्रो हुन्छ,’ उनले भने, ‘निर्यातको अनुपात बढाउनुपर्छ ।’

आथिक वृद्धि प्रदेश ५ को बढी

प्रतिशतका आधारमा यस वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धि प्रदेश ५ ले गर्ने भएको छ । विभागले यस वर्षबाट पहिलो पटक प्रदेशअनुसारको आर्थिक वृद्धि तथा अन्य तथ्यांकहरू तयार पार्न थालेको छ । सार्वजनिक तथ्यांकअनुसार यस वर्ष प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् ७.३७ प्रतिशतले आर्थिक वृद्धि गर्ने अनुमान छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशले ७.०६, प्रदेश ३ ले ७.०४, प्रदेश २ ले ६.५३, प्रदेश १ ले ६.४९ र सुदूरपश्चिमले ६.२५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ ।

सबैभन्दा कम कर्णाली प्रदेशले ५.६८ प्रतिशतले आर्थिक वृद्धि गर्ने प्रक्षेपण विभागको छ । ‘पहिलो पटक प्रदेशको पनि आर्थिक वृद्धिदरको तथ्यांक समावेश गर्न पाउनु हाम्रा लागि महत्त्वपूर्ण हो,’ विभागका महानिर्देशक अर्यालले भने, ‘श्रमशक्ति सर्वेक्षण पनि हामीले प्रदेशअनुसारै सार्वजनिक गरेका छौं ।’ यसले अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र समावेश गरेकाले आर्थिक नीति तथा योजना निर्माण र सरकारलाई विश्लेषण गरी स्रोत वितरण गर्न सहयोग पुग्ने

उनले बताए ।

जीडीपीमा प्रदेश ३ को हिस्सा बढी

कुल गार्हस्थ उत्पादन (जीडीपी) को हिस्साका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ को छ । मुलुकको ३४ खर्ब ६४ अर्ब अर्थतन्त्रमध्ये प्रदेश ३ ले मात्रै १४ खर्ब ३२ अर्ब रुपैयाँ हिस्सा ओगट्ने अनुमान विभागको छ । जीडीपी रकमको आधारमा प्रदेश १ दोस्रो स्थानमा छ । उसको यस वर्षको अर्थतन्त्रको आकार ५ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँ हुने विभागको अनुमान छ । तेस्रोमा भने प्रदेश ५ छ । उसले यस वर्ष ४ खर्ब ५२ अर्ब ७९ करोड रुपैयाँको अर्थतन्त्र बनाउने छ । त्यसपछि क्रमशः प्रदेश २ को ४ खर्ब ४४ अर्ब ४९ करोड, गण्डकीको २ खर्ब ८८ अर्ब २० करोड र सुदूरपश्चिमको २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँको हुने अनुमान छ । सबैभन्दा कम कर्णालीको अर्थात् १ खर्ब १९ अर्ब २५ करोड रुपैयाँ मात्रै हुने अनुमान विभागको छ ।


आम्दानी, बचत र लगानी बढ्यो

यस वर्ष आम्दानी, बचत र पुँजी लगानी बढ्ने छ । उपभोगमा आधारित खर्च भने घट्ने छ । ‘हामीले लगातार तीन वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्दै छौं, यसको मतलब हाम्रो आम्दानी बढदो छ,’ विभागका महानिर्देशक अर्यालले भने, ‘आम्दानी बढ्नेबित्तिकै खर्च पनि सोही अनुपातमा बढ्छ भन्ने हुँदैन । यसले गर्दा बचत र लगानी बढ्यो । उपभोगमा आधारित खर्च घटयो ।’

तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ उत्पादनको खुद आन्तरिक बचत १३.३४ प्रतिशत मात्रै थियो । त्यसपछिको वर्ष २०७४/७५ मा १७.८१ प्रतिशत बचत गर्न थाले । यो वर्ष २०.८४ प्रतिशत बचत हुने प्रक्षेपण छ । त्यस्तै कुल गार्हस्थ उत्पादनमा खुद राष्ट्रिय बचत फनि वृद्धि हुने क्रममा छ । गत दुई आर्थिक वर्षमा खुद राष्ट्रिय बचत त्रमशः ४६.४४, र ४७.०९ प्रतिशत थियो । यस वर्ष बढेर ५२.३८ हुने प्रक्षेपण विभागको छ । तथ्यांकअनुसार सबै क्षेत्रको कुल स्थिर पुँजी निर्माण १२ खर्ब ७९ अर्ब रुपैयाँ हुनेछ । यो कुल गार्हस्थ उत्पादनको ३६.९३ प्रतिशत हो ।

४२ डलर प्रतिव्यक्ति आय बढ्ने

विभागको तथ्यांकअनुसार यस वर्ष नेपालीको प्रतिव्यक्ति आय पनि ४२ अमेरिकी डलरले बढ्ने भएको छ । गत वर्षसम्म १ हजार ५ अमेरिकी डलर रहेको नेपालीको वार्षिक प्रतिव्यक्ति आय यसपटक १ हजार ४७ डलर पुग्ने अनुमान छ । हालको विनिमय दरअनुसार एक नेपालीले वार्षिक १ लाख १८ हजार ९ सय १८ रुपैयाँ कमाउनेछन् ।

यो रकम गत वर्षभन्दा ४ हजार ७ सय ७० रुपैयाँले बढी हो । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीमा गएकाले पठाउने विप्रेषणको अंशसमेत बढ्ने अनुमान छ । गत वर्ष २४.९१ प्रतिशत रहेकोमा यस वर्ष २६.२४ हुने अनुमान विभागको छ ।

कृषि उत्पादन बढयो

विभागको तथ्यांकले प्राथमिक क्षेत्र भन्ने कृषिका प्रायः उत्पादन यस वर्ष बढ्ने छ । धान उत्पादन ८.८९ प्रतिशतले बढ्ने अनुमान छ । तरकारी ५.४९ प्रतिशत, गहुँ ४.५० प्रतिशत, मकै ३.४८ प्रतिशत र आलु ४.३० प्रतिशतले बढ्ने छ ।



प्रकाशित : वैशाख १४, २०७६ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?