कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मिठाई बाँडियो, रेल आएन

श्यामसुन्दर शशि

जनकपुर — सात महिना पहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले टेम्पलिङ इन्जिन (ट्रेक मर्मत गर्ने रेलको इन्जिन) मा सीमावर्ती जयनगरसम्म यात्रा गर्दै २०१८ को अक्टोबरसम्म रेल सञ्चालन भइसक्ने उद्घोष गरेका थिए ।

मिठाई बाँडियो, रेल आएन

उनीभन्दा अगाडि र पछाडि परीक्षण रेलयात्रा गरेका भारतीय राजदूत मन्दिपसिंह पुरीले पनि भौतिक संरचना निर्माण लगभग पूरा भइसकेको प्रतिक्रिया दिएका थिए । त्यसपछि विवाहपञ्चमी र पछिल्लोपटक वैशाख १ देखि रेल सञ्चालनमा आइसक्ने दाबी गरियो ।


भारत सरकारको करिब १० अर्ब लगानीमा निर्माणाधीन जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा त कहिले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने चर्चा पनि चल्यो तर जनकपुरवासीको रेल चढ्ने धोको अझै पूरा हुन सकेको छैन ।


दुई देशबीचको सम्झौताअनुसार सन् १०१६ मेसम्म सञ्चालन भइसक्नुपर्ने जयनगर–जनकपुर–भंगहा–बर्दिबास रेलसेवा तीन वर्ष ढिला भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो । ओली नेतृत्वको सरकारले जनकपुर रेल्वेलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । ‘पूर्वाधार निर्माणमा विलम्ब छ भने प्रस्ट भन्नुपर्‍यो, पटक पटक रेल्वे सञ्चालन हुने तिथि घोषणा गरेर सरकारले जनकपुरवासीसँग मजाक गर्दै छ,’ जनकपुर–४ का सुनील मिश्रले भने ।


१० महिना पहिले ब्लास्ट (ढुंगाको टुक्रा) बोकेर भारतीय मालवाहक रेल जनकपुर आउँदा छिट्टै सञ्चालन हुने भन्दै जनकपुर उपमहानगर–१ का वडाध्यक्ष शत्रुघ्न साहले मिठाई बाँडेका थिए । अहिले उनी निराश छन् । ‘रेल जनकपुरको जीवनरेखा हो । यो जति छिटो सञ्चालन हुन्छ, यहाँको आर्थिक गतिविधि त्यति छिटो बढ्छ,’ साहले कान्तिपुरसँग भने ।


प्रस्तावित जयनगर (भारत)–बर्दिबास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनमा आउन अझै दुई/तीन वर्ष लाग्ने प्राविधिकको भनाइ छ । रेल विभागका डीजी बलराम मिश्र भने जयनगर–जनकपुर–कुर्था (३५ किमि) तत्कालै सञ्चालन गर्न सकिने दाबी गर्छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘भौतिक संरचना तयार भइसकेको छ । इन्जिन खरिद प्रक्रिया पनि अगाडि बढिसकेको छ । तीन महिनाभित्र रेल सञ्चालनमा आउँछ ।’


मिश्रले भारतमा जारी लोकसभा निर्वाचनको कारण इन्जिन खरिदमा ढिलाइ भएको जानकारी दिए । इन्जिन र बोगी खरिद गर्न सरकारले ८५ करोड बजेट विनियोजन गरेको जनाउँदै उनले भने, ‘भारतमा रेल इन्जिन निर्माण कार्य भइरहेको छ । तीन महिनाभित्र एउटा र अर्को दुई वा तीन महिनाभित्र नेपाल आइसक्छ ।’


ग्राउन्ड जिरोमा हेर्दा परवाहा, जनकपुर र कुर्थामा अझै लेभल क्रसिङ भएको छैन । स्टेसनहरूमा शौचालय बन्न बाँकी छ । बिजुलीको काम पनि अधुरै छ । रेल विभागका इन्जिनियर विनोद ओझा एक महिनाभित्र यी सबै काम सकिने बताउँछन् । उनका अनुसार परियोजना तीन चरणमा पूरा हुनेछ ।


प्रथम चरणमा जयनगर–कुर्था, दोस्रोमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) मा रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना सञ्चालन हुँदै छ । दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको ओझाले जानकारी दिए ।


‘रेल्वे स्टेसन, पुलपुलेसा, कल्भर्ट तथा लिकमा माटो पुर्ने काम भइसकेको छ । पहिलो चरणमा सञ्चालनमा आएको तीन महिनाभित्र दोस्रो चरणमा समेत रेल सञ्चालन हुनेछ,’ उनले भने । तेस्रो चरणको भंगहादेखि बर्दिबाससम्म लिक निर्माण गर्न १ सय १० बिघा अधिग्रहण गर्नुपर्ने हुन्छ । इन्जिनियर ओझाका अनुसार जग्गा अधिग्रहणको काम द्रुत गतिमा हुँदै छ । ‘जग्गाको लगत लिने, जग्गाधनीको नाता प्रमाणितलगायत काम हुँदै छ,’ उनले भने ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?