किर्ते उपभोक्ता समिति प्रकरण : सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

अवधेशकुमार झा

राजविराज — किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा सप्तरी प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई शनिबार नियन्त्रणमा लिएको छ । गोइतलाई सिरहाबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । 

किर्ते उपभोक्ता समिति प्रकरण : सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनामध्ये अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन भएको विषय कान्तिपुरमा उजागर भएको थियो । विभिन्न गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी दुबै स्थानमा सडक निर्माण उपभोक्ता समिति बनाएको आरोपमा प्रहरीले यसअघि नै पूर्वसासंद तथा राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादव तथा राजपाका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डललाई यसअघि नै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


किर्ते गरी उपभोक्ता समिति बनाउँदा सिडिई गोइतको पनि संलग्नता रहेकोले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसपी विष्टले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सप्तरीका सञ्चालित योजनामा राजपाका नेताद्वय बीपी यादव र हरि मण्डलले किर्ते गरी उपभोक्ता समिति गठन गरेको समाचार कान्तिपुरमा प्रकाशित भएपछि गोइतलाई प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयमा तानिएको थियो । यसअघि सप्तरी प्रहरीले गोइतका विषयमा जानकारी दिन पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाको सम्पर्क कार्यालय राजविराजमा पत्राचार गरेको थियो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँ बराबरको योजनाको बजेट कुम्ल्याउन किर्ते उपभोक्ता समिति र किर्ते व्यक्ति खडा गरी बैंक खाता खोलिएको रहस्य खुलेको थियो । यस्तै सप्तरीकै छिन्नमस्ता गाउँपालिका ५ स्थित लालु दासको घरदेखी पश्चिम सडक निर्माण योजनामा पनि वडाध्यक्षको हस्ताक्षर तथा छिन्नमस्ता गाउँपालिकाको सिफारिस किर्ते गरी उपभोक्ता समिति गठन गरिएको थियो ।


प्रकाशित : वैशाख १४, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?