२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भाषा सिक्न दाङ झरे कुसुन्डा

काशीराम डाँगी

रोल्पा — लोपोन्मुख रहेको कुसुन्डा भाषा सिक्न रोल्पाबाट एक परिवार दाङ झरेको छ । यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो । भाषा आयोगको सहयोगमा देउखुरीमा कुसुन्डा भाषाको औपचारिक कक्षा सञ्चालन भइरहेको छ ।

रोल्पाको रुन्टीगढी–५ का लालबहादुर कुसुन्डाले पत्नी र एक्ली छोरीलाई कक्षा पठाएका हुन् । त्यहाँ उनैकी दिदी कमला र साथी ज्ञानीमैयाले भाषा सिकाउँछन् । लालबहादुरलाई कुसुन्डा भाषाको सामान्य जानकारी छ । उनकी पत्नी बेलमती र पाँच वर्षकी छोरी सवितालाई दाङ लैजान कुसुन्डा विकास समाजले सहयोग गरेको छ ।


रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भाषा सिकेका कुसुन्डा परिवारको संरक्षणसम्बन्धी योजना अघि सार्ने बताए । उनले जीवनयापनका लागि कुसुन्डालाई सघाउने वचनसमेत दिए । जिल्लाकै एक मात्र कुसुन्डा परिवार भएकाले सरकारले एक दशकअघि उनीहरूलाई घर बनाइदिएको थियो । ५१ वर्षे लालबहादुर र ४८ वर्षकी बेलमतीको ०६८ मा गाउँलेको पहलमा बिहे भएको थियो । बेलमती स्थानीय पुनमगर समुदायकी हुन् ।


भाषा सिकाउन लमही नगरपालिका–६, कुलमोडका ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला लागिपरेका छन् । आयोगले दुवैलाई स्रोत व्यक्तिका रूपमा खटाएको छ । उनीहरूले मासिक तीन हजार रुपैयाँ पाउँदै आएका छन् । कुसुन्डा समाजका अनुसार ज्ञानीमैया र कमला मात्रै कुसुन्डा भाषाका जानकार हुन् । रोल्पाकी कमला बिहे भएर दाङ आएकी हुन् । दुवै जनाले पुर्खाले बोलेका आधारमा भाषा सिकेको बताए ।


समाजले देशभर कुसुन्डाको संख्या २ सय ७३ रहेको जनाएको छ । तीमध्ये दाङमा ९८ र रोल्पामा ३ जना छन् । दाङमा भाषा सिक्न रोल्पा, दाङ र प्यूठानका गरी २२ जना सहभागी छन् । कुसुन्डा भाषाका अध्येता उदय आलेमगरले सहजीकरण गर्दै आएका छन् । उनले लोपोन्मुख अवस्थामा पुगेको भाषा जोगाउन पाएकामा खुसी व्यक्त गरे । उनले यसअघि कुसुन्डा भाषासम्बन्धी शब्दकोशसमेत प्रकाशित गरिसकेका छन् । थारू र मगर भाषा, संस्कृति र अवस्थाको समेत अध्ययन गर्दै छन् ।


कुसुन्डा भाषा चार चरणमा पढाइ भइरहेको छ । आलेका अनुसार कुल ३ सय ६० घण्टा पढाइन्छ । पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहारका भाषा सिकाइन्छ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणका बारेमा भाषागत शिक्षा दिने योजना छ ।


कुसुन्डा समाजका अध्यक्षमा दाङका धनबहादुर कुसुन्डा छन् । वनमै रमाउने, खेतीपाती नगर्ने र जंगलमै डुलिहिंड्ने कुसुन्डाको पुर्ख्यौली चलन हो । उनीहरू समूह बनाएर वनमा बस्ने, कन्दमूल खाने, धनुकाँडबाट सिकार खेल्ने र मागेर जिउ पाल्ने गर्दै आएको पाइएको अध्येता आलेले बताए ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?