कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपालमा लगानी गर्न चिनियाँ व्यापारीलाई राष्ट्रपति भण्डारीको आग्रह

लक्ष्मी लम्साल

बेइजिङ — राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको दाबीसहित आधा दर्जन उदाहरण पेश गरेर लगानी गर्न आग्रह गरेकी छन्।

नेपालमा लगानी गर्न चिनियाँ व्यापारीलाई राष्ट्रपति भण्डारीको आग्रह

चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार (चाइना कमर्सियल स्टक इन्टरप्राइजेज) ले आइतबार बेइजिङमा गरेको ‘नेपाल-चाइना आर्थिक तथा व्यापारिक मञ्च-२०१९, लगानीका अवसरको खोजी तथा बलियो आर्थिक सहकार्य’ विषयक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘ढुक्क भएर नेपालमा लगानी गर्न तथा प्रविधि हस्तान्तरण गरी फाइदा लिन चिनियाँ लगानीकर्ताहरूलाई अनुरोध छ।’


नेपालमा लगानीको वातावरण भएको पुष्टी गर्ने क्रममा राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले नेपालमा नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराएकी थिइन् । गत महिना काठमाडौंमा भएको लगानी सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले यसअघिको राजनीतिक अस्थिरताका अब नभएकोले वैदेशिक लगानी भित्रिन समस्या नरहेको बताइन्।


राष्ट्रपति भण्डारीले लगानी गर्नका लागि अब नेपालमा इतिहासकै सबैभन्दा बलियो र स्थिर सरकार बनेको दाबी समेत गरिन्।


विकासका लागि वर्तमान सरकारसँग स्पष्ट भिजन भएकोतर्फ पनि राष्ट्रपति भण्डारीको संकेत थियो। उनले देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची र दिशा भएको सरकार पनि अहिले नेपालमा बनेकाले लगानीको वातावरण बनेको प्रस्ट्याइन्।


लगानीकर्ताहरूका लागि सुरक्षा सबैभन्दा ठूलो कुरा हो। त्यसमा राष्ट्रपति भण्डारीले लगानीको सुरक्षालाई नेपालले आफ्नो जिम्मेवारीका रूपमा लिएकाले चिनियाँहरूलाई नेपालमा लगानीको सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताइन्।


राष्ट्रपति भण्डारीका अनुसार चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल नै उपयुक्त गन्तव्य हुनुको अर्को कारण नेपालीहरूले चीनलाई विश्वासिलो र भरपर्दो साझेदारका रूपमा लिएकाे बताएकी थिइन् । 'चिनियाँ लगानीकर्ताहरू नेपालमा आउँदा नेपालको जनस्तरबाट पनि उपयुक्त साथ र समर्थन हुन्छ,' उनले भनिनन् ।


चीनमा शनिबार सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा भाग लिनुका साथै चीनको ९ दिवसीय राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बीआरआईले लगानीका थप अवसरका ढोका खोलेकाले चिनियाँ उद्यमी व्यवसायीहरूलाई नेपालमा प्रवेश गर्न आह्वान गरिन्।


नेपालका सामु पर्याप्त भौतिक साधन श्रोत र प्रविधिको अभाव भएकाले छिमेकी राष्ट्र लगायत विश्व समुदायले सहयोगका लागि अवसर भएको बताउँदै राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिएको र यो क्रम जारी रहेको बताइन्। उनले भनिन्, ‘वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दु केन्द्र कार्यान्वयनमा ल्याउनुका साथै कर प्रणाली पनि उदार बनाइँदैछ।’


नेपाली तथा चिनियाँ गरी करीब दुई सयको हाराहारीमा रहेका उद्योगी व्यवसायीहरूमाझ राष्ट्रपति भण्डारीले बहुराष्ट्रिय कम्पनीले नेपालबाट राम्रो मुनाफा लिइरहेकोले चिनियाँका लागि पनि आकर्षक गन्तव्य भएको दाबी गरिन्। साथै उनले पर्यटन वर्ष २०२० मा छिमेकीबाट गुणात्मक वृद्धि होस् भन्ने चाहेको बताउँदै थपिन्, ‘त्यतिधेरै टाढा जान सक्ने चिनियाँका लागि नजिकको नेपाललाई नै गन्तव्य बनाउन किन सकिँदैन? चिनियाँले नेपालमा जाँदा टाढिएको महसुस गर्नुपर्ने छैन।’


उद्यमीहरूलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल इतिहासकालदेखि नै चीन र भारतको व्यापारको ट्रान्जिट रूट बनेको बताए। चीनको निरन्तरको साथ र सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताउँदै मन्त्री ज्ञवालीले चीन नै नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता मुलुक रहेको बताए।


चिनियाँ लगानीकर्ताका लागि नेपाल अहिले सबै खालका वातावरणले उपयुक्त रहेको भन्दै मन्त्री ज्ञवालीले नेपालमा लगानी गर्न चिनियाँ उद्यमीहरूलाई अनुरोध गरे।


नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारी, नेपाल चेम्बर अफ कमर्स तथा इण्डस्ट्रिजका उपाध्यक्ष चन्द्र ढकाल, सीएनआईका अध्यक्ष सतिश कुमार मोरे, नेपाल-चाइना चेम्बर अफि कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपालमा लगानीका संभाव्य क्षेत्रहरूबारे जानकारी प्रस्तुत गरे।


यसैगरी चीनको वाणिज्य मन्त्रालय, एसिया विभागका निर्देशक फङ काङ, चाइना रेल्वे इन्टरनेश्नल ग्रुपका उपाध्यक्ष वाङ ली च्ये, ह्वाच्येन इन्टरनेश्नल ग्रुपका अध्यक्ष चाङ रोङह्वा, आयोजक स्टक इन्टरप्राइजेजका अध्यक्ष वाङ फुछिङ, छिङ्ह्वा विश्वविद्यालय अन्तर्गत बेल्ट एण्ड रोड पोर्टलका निर्देशक श् च् सिन, चाइना रेलवे फर्सट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रपका उप निर्देशक चु लिचङ लगायतले नेपालमा आफूले लगानीका वातावरणबारे थाहा पाएका कुराहरूको प्रोजेक्टरमार्फत् जानकारी गराउँदै चिनियाँ सहकर्मीहरूलाई नेपालमा लगानीका लागि भर्जिनल्याण्ड रहेको बताएका थिए।


यसैबीच चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीले नेपाल लगानी बोर्ड र चीनको सिआनस्थित नेपाली डा.राजीव झाको नेतृत्वमा रहेको नेपाल ट्रान्स हिमालयन फेण्डसिप सोसाइटी, नेपाल-चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र चीन ओभरसिज डेभलपिङ एसोसिएसनसँग सहकार्यसम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेको छ।


प्रकाशित : वैशाख १५, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?