२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सगरमाथा सफाइ टोलीले तीन अलपत्र शव भेट्टायो

काठमाडौँ — सरकार र स्थानीय तहको पहलमा पहिलो पटक सगरमाथा हिमाल सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ ।

सगरमाथा सफाइ टोलीले तीन अलपत्र शव भेट्टायो

नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङका अनुसार सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक/एक वटा शव भेटिएका हुन् । ती शवबारे विस्तृत विवरण आइनसकेको संघले जनाएको छ ।


हिमालमा फालिएका ग्यास सिलिन्डरलगायत फोहर संकलन गरिरहेको सफाइ टोलीले ती शव पनि आधारशिविर झार्न प्रयास गर्ने गुरुङले बताए । विदेशी सञ्चारमाध्यमले हालसम्म आरोहण क्रममा मृत्यु भएकामध्ये १ सय ९५ जनाको शव त्यहीं रहेको दाबी गर्दै आएका छन् । यिनमा अधिकांश विदेशी आरोही छन् । केही हिमाल चढेर फर्केका तथा केही चढ्ने क्रममा मृत्यु भएकाहरू छन् ।


पर्यटन विभागले यसबारे आधिकारिक तथ्यांक नभएको जनाउँदै आएको छ । सफाइ अभियान टोलीले हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिसकेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले २ हजार किलोग्राम ओखलढुंगा र १ हजार किलोग्राम राजधानी ल्याइसकिएको जनायो ।


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानअन्तर्गत १० टन फोहर संकलन गर्ने तयारी छ । वैशाख १ देखि थालिएको अभियानका लागि २ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ । ४५ दिने अभियानमा १२ जना शेर्पा खटाइएका छन् भने नेपाली सेनासहित नौवटा निकाय संलग्न छन् ।


प्रकाशित : वैशाख १५, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?