आउने वर्ष ओलम्पिक यहाँ

विपिन श्रीस

काठमाडौँ — ‘सन् २०२० मा हुने ओलम्पिक हेर्न आउनुस्, त्यहाँ मैले धेरै मात्रामा काठ प्रयोग गरेको छु । तपाईंलाई लाग्न सक्छ– यो त नेपालबाटै प्रभावित भएको हो ।’ जापानी वास्तुकलाविद् केङ्गो कुमाले यसो भन्दा पानीपोखरीस्थित जापानी दूतावासको सभाहलमा सहभागीका कान ठाडा भए ।

आउने वर्ष ओलम्पिक यहाँ

कुमाले स्टेडियमबारे बताउनुअघि सातौं शताब्दीतिर प्यागोडा शैलीमा निर्माण भएको जापानको पाँचतले होर्यु–जी मन्दिरलाई भक्तपुरको पाँचतले मन्दिरसँग तुलना गर्दै भने, ‘जापानको मन्दिर पनि नेपाली प्रविधिबाट प्रभावित थियो कि जस्तो लाग्यो ।’


नेपालका लागि जापानी दूतावासले आइतबार आयोजना गरेको ‘काठमाडौंमा जापानी कलाकार’ शीर्षकको अन्तर्क्रियामा टोकियो विश्वविद्यालयको आर्किटेक्चर विभागका प्राध्यापक कुमाले नेपाललाई वास्तुकलासम्बन्धी आफ्नो परम्परागत सीपलाई जोगाउन सुझाव दिए । मौलिक वास्तुकला प्रकृतिमैत्री हुने भएकाले प्रकृतिविरुद्ध जान नहुने उनले तर्क गरे ।


‘जापानमा सन् १९६० पछिको आर्थिक विकाससँगै एकाएक कंक्रिट भवनहरू बने । त्यो जापानको गल्ती थियो । जापानीले अहिले महसुस गर्दैछन्,’ जापानको न्यु नेसनल ओलम्पिक स्टेडियमका वास्तुकलाविद् कुमाले भने, ‘नेपालले जापानको गल्ती नदोहोर्‍याओस्, आफ्नो मौलिक वास्तु प्रविधि चिन्न सकोस् ।’


उनका अनुसार अहिले परम्परागत र प्रकृतिसँग मिल्दो (वातावरणमैत्री) संरचना निर्माण गर्ने चेतना मानिसमा आएको छ । कुमाले दुईदिने नेपाल बसाइमा काठमाडौं उपत्यकाका परम्परागत वास्तुकला अवलोकन गरेका थिए । ‘नेपालको परम्परागत वास्तुकला वातावरणमैत्री छ,’ उनले भने, ‘परम्परागत वास्तुकला जोगाउन दक्ष कालीगढको संरक्षण र सीप हस्तान्तरण गर्नुपर्छ ।’


उनले मान्छे मरेर गए पनि सीप रहिरहने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । कुमाले नेपाल र जापान दुवै देशमा पहाड रहेको, पानी परिरहने र दुवै देश भूकम्पीय क्षेत्रमा पर्ने हुनाले यी पक्षलाई ध्यान दिँदै संरचना निर्माण गर्नुपर्ने बताए । ‘परम्परागत प्रविधिलाई परिमार्जित गर्दै भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सकिन्छ,’ उनले भने ।


कुमाका अनुसार जापानको परम्परागत वास्तुकलामा काठ मात्र प्रयोग गरिन्छ । ‘नेपालमा काठ र इँटा प्रयोग भएको पाएँ, जसलाई हाइब्रिड स्ट्रक्चर भनिन्छ,’ उनले थपे, ‘भूकम्प प्रतिरोधी बनाउन मिश्रित प्रविधि अपनाउन सक्छौं । हाइब्रिड स्ट्रक्चरबाट हामीले परम्परागत वास्तुकला जोगाउँदै बलियो संरचना निर्माण गर्न सक्छौं ।’


उनले ओलम्पिकका लागि स्टेडियम निर्माण गर्दा पनि काठसँगै स्टिल (फलाम) प्रयोग गरेको सुनाए । ‘नेपालको परम्परागत वास्तुकलामा काठ र इँटाको संरचनाभित्र स्टिल र कार्बन फाइबर राख्न सकिन्छ, त्यसो गर्दा अझ बलियो हुन सक्छ,’ उनले भने, ‘यस विषयमा जापान र नेपाल मिलेर अनुसन्धान गर्न सकिन्छ ।’ उनले यस विषयमा पहल गर्न नेपालका लागि जापानी राजदूतलाई आग्रह पनि गरे ।


वास्तुकलाविद् कुमाले चीन, फ्रान्स, स्कटल्यान्डलगायतका देशमा प्रकृतिमैत्री संरचना डिजाइन गरेका छन् । उनी आफ्नो वास्तुकलामा स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गर्छन् । अन्तर्क्रियामा जापानी उपन्यासकार मारिको हायासी र पटकथा लेखिका मिहो नाकाजोनोले जापानी साहित्य र लेखनसम्बन्धी धारणा राखेका थिए ।


साढे तीन दशकदेखि लेखन क्षेत्रमा उपन्यासकार हायासीले जापानमा लेखकका रूपमा स्थापित हुन साहित्यिक पत्रिकामा निरन्तर लेख्न जरुरी भएको बताइन् । ‘मैले ३२ वर्षसम्म पत्रिकामा लेखेँ,’ उनले भनिन्, ‘साहित्यिक पत्रिकामा लेख्दा धेरै पाठकले थाहा पाउँछन् । त्यसले स्थापित हुन सहयोग पुग्छ ।’


उनले जापानमा पुस्तकको वार्षिक एक खर्ब यन बराबर कारोबार हुने गरेको जानकारी दिइन् । ‘भाषामा कमजोर भएर हो कि ? जापानी साहित्य विश्वमा सशक्त रूपमा प्रस्तुत हुन सकेको छैन,’ उनले भनिन् ।


प्रेम तथा इतिहासको विषयमा उपन्यास लेख्दै आएकी हायासीले ऐतिहासिक विषयमा लेख्न निकै कठिन हुने बताइन् । उनले डेढ शताब्दीअघिको जापानको राजनीतिक अवस्थाबारे एनएचके टेलिभिजन शृंखलाका लागि लेखिरहेकी छन् । उनले हालसालै मात्र नेपालका लागि जापानका राजदूत मासामिसी साइगोको पुर्खाबारे ‘सेगोडन’ नामक उपन्यास लेखेकी छन् । साइगोको पुर्खाले जापानको आधुनिकीकरणमा योगदान गरेका छन् ।


पटकथा लेखिका नाकाजोनाले इतिहाससम्बन्धी पटकथा लेख्दा इतिहासका प्राध्यापकसँग छलफल गर्ने गरेको बताइन् । नाकाजोनाले हायासीसँग सहकार्य गर्दै ‘सेगोडन’ लाई टीभी ड्रामा भर्सनमा पटकथा लेखेकी छन् ।


संयोगले नेपालमा

हायासीले लेखेको उपन्यास ‘सेगोडन’ जापानलाई मेजी शासनबाट मुक्त गराउन लडेका योद्धाबारे लेखिएको छ । त्यही योद्धाको चौथो पुस्ताको सदस्य नेपालमा राजदूत रहेको बेला पर्‍यो । यो कुरा उनले त्यही उपन्यासमा आधारित टेलिऋंखलाकी पटकथाकार नाकाजोनोलाई सुनाइन् । लहैलहैमा वास्तुकलाविद् केङ्गो कुमा पनि मिसिए । ‘सेडोगन’ टिभी ड्रामामा जापानी राजदुत मासामासी साइगोकी छोरीले पनि अभिनय गरेकी छन् ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?