कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ताजाकोट पुगे चिकित्सक, रोग पहिचान हुन ३ दिन लाग्ने

सुर्खेत र हुम्ला — मौसमी रुघाखोकीले प्रभावित हुम्लाको ताजाकोटमा सुर्खेत र मुगुबाट चार चिकित्सकसहितको टोली पुगेको छ । चिकित्सकले बिरामीमा देखिएको लक्षण–चिहनका आधारमा इन्फ्लुएन्जा भए पनि कुन किसिमको हो भन्ने यकिन गर्न तीन दिन लाग्ने जनाएका छन् ।

ताजाकोट पुगे चिकित्सक, रोग पहिचान हुन ३ दिन लाग्ने

प्रभावित क्षेत्रमा आइतबार बिहान पुगेका कर्णाली प्रदेश अस्पतालका फिजिसियन केएन पौडेलले सोमबार बिहान ५ जना बिरामीको खकारको नमुना (थ्रोट स्वाब) लिने जानकारी दिए । ‘भोलि (सोमबार) बिहानै नमुना लिएर पर्सि सुर्खेत फर्किंन्छौं,’ उनले भने, ‘सुर्खेतमा प्रयोगशाला परीक्षणपछि मात्र कुन समस्या हो भन्न सकिन्छ ।’ स्वाबको नमुना लिएको २४ घण्टाभित्र प्रयोगशाला परीक्षण गरिसक्नुपर्ने भएकाले सोमबार मात्र नमुना लिन लागिएको उनले बताए ।


आइतबार बिहान सेनाको हेलिकप्टरबाट प्रदेश अस्पतालका चिकित्सकहरू पौडेल, टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाकोट पुगेका थिए । मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना पैदलमार्गबाट आइतबार बिहान प्रभावित क्षेत्र पुगेका थिए ।


चारै जना डाक्टरले आइतबार दिनभर मैला स्वास्थ्य चौकीमा बसेर उपचार गरे । डा. पौडेलका अनुसार पहिलो दिन १ सय ३२ बिरामीको उपचार गरिएको छ । ‘सिकिस्त बिरामी कोही पनि आएनन्, सामान्य रुघाखोकी लागेका बिरामी उपचारपछि घर फर्किसके,’ उनले भने, ‘अधिकांशमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) देखियो, कुन प्रकारको हो भन्ने ल्याब टेस्टपछि मात्र थाहा होला ।’


गाउँमै गएर थप बिरामीको उपचार र प्रयोगशाला परीक्षणपछि ताजाकोटमा देखिएको स्वास्थ्य समस्या महामारी हो/होइन भन्न सकिने उनले बताए । प्रभावित क्षेत्रमा पुगेका प्रदेश स्वास्थ्य निर्देशनालयका र्‍यापिट रेस्पोन्स टिम (आरआरटी) फोकलपर्सन श्याम आचार्यका अनुसार उपचारका लागि आउनेमा बालबालिका र वृद्धवृद्धाको संख्या अधिक छ । १५ वर्षमुनिका २७ बालबालिका र ५० वर्षमाथिका ५६ वृद्धवृद्धा उपचारका लागि स्वास्थ्य चौकी आएका उनले बताए ।


यिनीहरूमध्ये सबैभन्दा बढी ३५ जनामा रुघाखोकी र सबैभन्दा कम ६ जनामा झाडापखाला देखिएको आचार्यको भनाइ छ । पेटसम्बन्धी (ग्यास्ट्रो) का ३१, हाड जोर्नीका १२ र अन्य स्वास्थ्य समस्याका ३६ बिरामी आएका उनले बताए । प्रकोपबाट सबैभन्दा बढी ताजाकोट–१, डाँडागाउँ र जिमाना प्रभावित भएका छन् ।


स्वास्थ्य चौकी टाढा पर्ने भएकाले आइतबार यी दुवै गाउँबाट बिरामी आएनन् । त्यसैले सोमबार गाउँमै गएर उपचार गर्ने योजना बनाइएको फोकलपर्सन आचार्यले बताए । उनका अनुसार आइतबार वडा २ अन्तर्गत पर्ने मैला, तोलीबाडा र खटिकबाडा तथा वडा ३ अन्तर्गत पर्ने थापागाउँका बिरामी मात्र आए ।


चैत अन्तिम सातादेखि मौसमी रुघाखोकीको प्रकोप देखिए पनि धेरै ढिलो मात्र समस्या बाहिर आएको थियो । शनिबारसम्म ९ जनाको मृत्यु भएको जानकारी पाउनेबित्तिकै कर्णाली प्रदेश सरकारले तुरुन्त उपचारको प्रबन्ध गरेको थियो । सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारसँग समन्वय गरी हेलिकप्टरबाट औषधि र चिकित्सक पठाइएको जानकारी दिए ।


‘हामीले समस्याबारे जानकारी पाउनेबित्तिकै संघीय सरकारको समन्वयमा छिट्टै टोली पठाउन सक्यौं,’ हुम्ला सदरमुकाम सिमकोटमा रहेका उनले भने । प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रीता भण्डारीले सुर्खेतबाट गएको टोली तीन–चार दिन प्रभावित क्षेत्रमा बस्ने बताइन् ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?