१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेइजिङमा लुम्बिनी शान्ति बगैंचा

लक्ष्मी लम्साल

बेइजिङ — राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचा उद्घाटन गरेकी छन् । विश्व बागवानी एक्स्पो–२०१९ अन्तर्गत लुम्बिनी शान्ति बगैंचा नामक नेपाली पेभिलियनमा नेपालबाट झिकाइएका बिरुवा रोपेर उद्घाटन गरेकी हुन् ।

बेइजिङमा लुम्बिनी शान्ति बगैंचा

उद्घाटनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत नेपाली डेलिगेसन थिए । विश्वका १ सय १० मुलुक तथा क्षेत्रका संगठनले भाग लिएको एक्स्पो उद्घाटनको सांस्कृतिक साँझमा पनि भण्डारी सहभागी थिइन् ।


सांस्कृतिक प्रस्तुति उद्घाटनमा बोल्दै चीनका राष्ट्रपति सी चिनफिङले शनिबार सकिएको बीआरआई दोस्रो शिखर सहकार्य मञ्चसँगै बागवानी एक्स्पो पनि निकै महत्त्वपूर्ण भएको बताए । ‘विश्व बागवानी एक्स्पो–२०१९ सुरु भयो,’ राष्ट्रपति सीले भनेपछि तालीको गडगडाहटसँगै मञ्चमा नेपालसहित विभिन्न देशको झन्डा फहराइएको थियो ।


मन्तव्य सकेर मञ्चमा फर्किएका सीले सोही लहरमा बसेकी राष्ट्रपति भण्डारीसँग हात मिलाए । समारोहमा विभिन्न देशका प्रतिनिधि सहभागी थिए । पाँच महिनाभन्दा बढी अर्थात् १६२ दिनसम्म चल्ने यो एक्स्पो अक्टोबर ७ तारिखमा सम्पन्न हुनेछ । चीनले यस वर्षको घरेलु कूटनीतिमा बेइजिङ विश्व एक्स्पोलाई पनि महत्त्वको सूचीमा समावेश गरेको छ । एक्स्पो स्थल राजधानी बेइजिङ केन्द्रदेखि ७४ किमि टाढा यानछिङ जिल्लामा पर्छ । सोही जिल्लाले सन् २०२२ बेइजिङ ओलम्पिकका लागि कार्यक्रम संयोजन गर्दै छ । आयोजकका अनुसार १ करोड ६० लाखले यो एक्स्पो अवलोकन गर्ने पूर्वानुमान छ ।


विश्व बागवानी मामिला सहकार्य ब्युरोका उपनिर्देशक वु काङका अनुसार कम्तीमा १० हजार कर्मचारी खटिएर बगैंचा र घरहरू बनाउने कार्य पूरा भएको हो । हरित जीवन, सुन्दर घर नाम दिइएको यस एक्स्पोले वातावरणीय सूचना तथा चीन सरकारको प्रदूषण नियन्त्रणप्रतिको पहललाई उजागर गरेको छ । एक्स्पोभित्र ८० वटा बगैंचा पेभेलियन र घर छन् । एक्स्पो प्रस्तुतिमा विभिन्न देशका कलाकारले हरित जीवन र वनस्पति जगतका अनेक आयाम झल्किने नृत्य तथा गायन अभिनय प्रस्तुत गरेका थिए ।


बिहान चिनियाँ उद्यमीसँग लगानीका विषयमा सम्बोधन गरेकी राष्ट्रपति भण्डारी दिउँसो अरनिकोले बनाएको श्वेत चैत्यको अवलोकन गरेकी थिइन् । बेइजिङको केन्द्रमा रहेको प्यागोडा शैलीमा तेह्रौं शताब्दीमा निर्मित उक्त श्वेत चैत्य तत्कालीन समयको सबैभन्दा अग्लो संरचना मानिन्थ्यो ।

प्रकाशित : वैशाख १६, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?