वैशाखमै पेट्रोलियम अन्वेषण

दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ 
ज्योति कटुवाल

दैलेख — चीन सरकारको ‘चाइना जियोलोजिकल सर्भे’ र नेपालको खानी तथा भूगर्भ विभागले यही वैशाखमा शिरस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्ने भएका छन् । यसका लागि फागुन १६ मा चिनियाँ पक्षसँग सम्झौता भइसकेको छ ।

वैशाखमै पेट्रोलियम अन्वेषण

चीनको राजधानी बेइजिङमा चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुन र नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच सम्झौता भएको हो । सम्झौतामा वैशाख १८ देखि अन्वेषण गर्ने उल्लेख भए पनि प्राविधिक कारणले केही ढिलो भएको खानी तथा भूगर्भले जनाएको छ । महानिर्देशक सापकोटाले चिनियाँ टोली नेपाल आउने तयारीमा रहेको जानकारी दिए । नेपाल सरकारका तर्फबाट व्यवस्थापनको काम बाँकी रहेकाले केही ढिलाइ भएको र वैशाख अन्तिम साता अन्वेषण कार्य सुरु हुने उनको भनाइ छ ।


अन्वशेषणका लागि २ अर्ब २० करोड रुपैयाँको सम्झौता भएको छ । खानी तथा भूगर्भ विभागका परियोजना प्रमुख सुदीप रजौरेले अन्वेषणका लागि करिब २ वर्ष समय लाग्ने बताए । ‘सबैभन्दा पहिले चिनियाँ टोली र खानी तथा भूगर्भ विभागको टोलीले कुन–कुन स्थानमा सर्भे गर्ने भनेर निश्चित गर्नेछन्,’ उनले भने, ‘सर्भेको कामसँगै जमिनको कम्पनको तरंग पठाएर ड्रिलिङ गर्न उपयुक्त स्थान कुन हो भनेर पत्ता लगाउन समय लाग्नेछ ।’


दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ । खानी तथा भूगर्भ विभागले १३ वर्षअघि उक्त ज्वाला मिथेन ग्यास भएको प्रमाणित गरेको थियो । त्यसपछि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख आएको थियो । एक सातासम्म अनुसन्धान गरेर फर्केपछि अन्वेशषणका लागि प्रक्रिया अघि बढेको हो । नेपालमाथि भारतले नाकाबन्दी गरेको बेला २०७२ मंसिर २१ गते तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे शिरस्थान पुगेर पेट्रोलियम पदार्थ उत्खनन गर्ने घोषणा गरेका थिए ।


दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद रवीन्द्र शर्माले कुनै पनि हालतमा पञ्चकोसी क्षेत्रमा पेट्रोलियम अन्वेषण सुरु गरी पेट्रोलियम पदार्थ निकाल्नुपर्ने बताए । दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले पञ्चकोसी क्षेत्रको धार्मिक मूल्य मान्यतालाई कायमै राखी दैलेखलाई पुरातात्त्विक सम्पदाका रूपमा स्थापित गरिनुपर्ने बताए ।

प्रकाशित : वैशाख १६, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?