कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणका क्रममा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्री ली स्याउफङले हस्ताक्षर गरेका छन् । 

चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर

प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले चीनका समुद्री बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुलेको छ । अहिलेसम्म समुद्री पहुँचमा नेपाल भारतनिर्भर रहँदै आएको छ । चार वर्षअघि दक्षिणी छिमेकी भारतले नाकाबन्दी थोपरेपछि नेपालले उत्तरी छिमेकीसँग नाका खोल्न पहल गरेको थियो । नेपालले ढिला गरी तयार गरेको प्रोटोकलमा हस्ताक्षर भएको हो ।

प्रोटोकलमा हस्ताक्षरपछि भ्रमण दलका सदस्य एवं युवा नेता योगेश भट्टराईले व्यापार तथा पारवहनका लागि चिनियाँ बन्दरगाह प्रयोग गर्दै तेस्रो विश्वसँग सम्बन्ध स्थापित गर्ने हैसियत नेपालको बनेको प्रतिक्रिया कान्तिपुरलाई दिए । ‘राष्ट्रपति भण्डारीको भ्रमणलाई चीनले निकै महत्त्व दिएको पाइयो,’ उनले भने, ‘नेपालमा स्थिर र बलियो सरकार बनेका बेला चीनले यसलाई एउटा बलियो साझेदारी देखाउने अवसरका रूपमा लिएको हुनुपर्छ ।’

१७ वर्षदेखि चीनमा रहेर काम गर्दै आएका गैरआवासीय नेपाली संघ चीनका पूर्वअध्यक्ष, हिमालय सीमापार व्यापार संघका सदस्य एवं क्वाङतोङ–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय चेतावनीले पारवहन प्रोटोकलमा हस्ताक्षरले नेपाली अर्थतन्त्रमा विकासको नयाँ ढोका खुल्ने बताए । ‘यसबाट नेपाललाई फाइदै फाइदा छ, बार्गेनिङ पावर बढ्छ,’ उनले भने, ‘तर हस्ताक्षर गरेर मात्र हुँदैन । कार्यान्वयन गरिनुपर्छ ।’

राष्ट्रपति भण्डारीको भ्रमणकै क्रममा चीनको सहयोगमा निर्मित परियोजनाको पुनः मर्मत तथा सुदृढीकरणका लागि अनुदान सहायतासम्बन्धी प्रमाणपत्र आदानप्रदान भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र चिनिया वाणिज्य मन्त्री चोङ शानले प्रमाणपत्र आदानप्रदान गरेका हुन् । यस्तै, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता पनि भएको छ । नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र चीनतर्फबाट चीन अन्तर्राट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओले हस्ताक्षर गरेका छन् ।

नेपालको उत्तरी क्षेत्रमा जनजीविकाका क्षेत्रमा सुदृढ सहायता सबल बनाउनेबारे एउटा बैठक माइन्युट गरिएको छ । नेपालका वाणिज्य सचिव घिमिरे र चीन अन्तर्राट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओबीच बैठक भएको हो । चीनको भन्सार प्रशासन र नेपालको वाणिज्य मन्त्रालयअन्तर्गत भन्सार विभागबीच सहकार्य तथा मैत्रीपूर्ण प्रशासनिक सहायताका विषयमा सम्झौता पनि भएको छ । यसमा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव घिमिरे र नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले हस्ताक्षर गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग र मानकीकरण प्रशासन चीनबीच मानकिरण सहायतासम्बन्धी समझदारी भयो ।


यसमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले हस्ताक्षर गरे । सांस्कृतिक सम्पदाको अवैध आयात तथा निर्यात, चोरी नियन्त्रणका लागि पनि भएको सम्झौतामा राजदूत पौडेल र चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका प्रशासक लिउ युचुले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारी र समकक्षी सी चिनफिङको उपस्थितिमा सम्झौता–समझदारीमा हस्ताक्षर गरिएको हो । चीनले नेपालको भन्सार सृदृढीकरणदेखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय, चीनसँग सिमाना जोडिएका नेपालका उत्तरी २० वटा जिल्लामा सामाजिक तथा आर्थिक विकासका निम्ति १७ अर्ब नेपाली रुपैयाँ सहयोग गरेको छ ।

थप सहयोग गर्न चीन इच्छुक

चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार साँझ ग्रेट हल अफ द पिपुल्समा राजकीय सम्मान दिएका छन् । जनबृहत् सभा भवनको पूर्वपट्टिको चोकमा भण्डारीलाई राजकीय सम्मान अर्पण गरिएको थियो । गणतन्त्र स्थापनाको एक दशकपछि अहिले नेपाली राष्ट्रपतिबाट उत्तरी छिमेकी चीनको राजकीय भ्रमण भएको हो ।

सम्मान कार्यक्रमपछि द्विपक्षीय कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन हिमाल र नदीले जोडिएका पुस्तौंदेखिको मित्र हुनुका साथै दुवैतर्फका जनताको मन र मुटु साटिएको बताएका थिए । चीनले द्विदेशीय मित्रता विकासलाई निकै महत्त्व दिएको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अक्षुण्णता तथा विकासको राष्ट्रिय परिस्थितिअनुरूप रोजाइलाई उच्च सम्मान गरेको दोहोर्‍याए । उनले चीनको आन्तरिक मामिला तथा महत्त्वपूर्ण सवालहरूमा नेपालले दिएको समर्थनप्रति पनि आभार व्यक्त गरेका थिए ।

नेपाल बीआरआईमा सक्रियतापूर्वक सहभागी भएकामा सराहना गर्दै सीले पूर्वाधार निर्माण तथा नेपाल–चीन सीमापार आर्थिक सहयोग क्षेत्रको निर्माण गर्नॅपर्नेमा जोड दिए । ‘चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा थप सहयोग र समर्थन गर्ने इच्छा लिएको छ,’ उनले भने ।

भेटवार्तामा सीले दुवै देशका विधायक अंगहरू, राजनीतिक पार्टी, युवा, थिंक ट्यांक, मिडिया तथा स्थानीय जनसमुदायबीचको आदानप्रदानलाई अझै घनीभूत पार्न अपरिहार्य रहेको पनि बताए । नेपाल–चीन मित्रताको ठोस स्तम्भ खडा गर्नॅपर्ने, सहयोगलाई नयाँ तहमा उकास्नुपर्नेमा सीले जोड दिए ।

प्रत्युत्तरमा राष्ट्रपति भण्डारीले बीआरआई सम्मेलन सफलताका साथ सम्पन्न भएकामा बधाई ज्ञापन गरिन् । ‘बीआरआई विश्व प्रभावका हिसाबले ऐतिहासिक अवधारणा हो,’ उनले भनिन्, ‘यसले नेपाल–चीन सहकार्यको गतिलो मञ्च पनि उपलब्ध गराएको छ ।’

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले गरेको प्रगति उल्लेखनीय भएको बताइन् । उनले शान्तिपूर्ण सहअस्तित्वका आधारमा रहेर चीन नेपालको सच्चा मित्र भएको उल्लेख गरिन् । नेपाल एक चीन नीतिमा अडिग रहेको जनाउँदै नेपालको भूमि प्रयोग गरी चीन विरोधी गतिविधि गर्न नदिने वचन उनले दिइन् । ‘चीनको समृद्धि तथा स्थिरता नेपालका लागि अवसर हो,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘चीनसँग अधिकाधिक क्षेत्रमा मैत्रीपूर्ण फाइदाजनक सहयोगलाई अझै गहन पार्न नेपाल इच्छुक छ ।’

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीको राजकीय सम्मान समारोहमा चिनियाँ नेताहरू तिङ् सुएस्याङ, याङ च्ये छ, वु वैहवा, वाङ यी, स्या पाओलोङ, ह लिफङलगायत सहभागी थिए ।

नेपाली टोलीबाट भेटवार्तामा सहभागी भएका बेइजिङस्थित दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालको पूर्वाधार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग गर्ने विषयमा सकारात्मक रहेको धारणा राखेका थिए । बीआरआई सम्मेलन, विश्व बागवानी एक्स्पोलगायतमा राष्ट्रपति भण्डारीको उपस्थितिप्रति सीले प्रसन्नता प्रकट गरे । ‘नेपालले पनि चीनलाई ठूलो सहयोग गरिरहेको छ,’ उनले भने, ‘विशेषगरी तिब्बती मामिलामा नेपालले देखाएको दह्रो समर्थनप्रति चीन खुसी छ ।’

उचित समयमा नेपाल आउँछु : सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले उचित समयमा नेपाल भ्रमण गर्ने वचन दिएका छन् । ग्रेट हल अफ द पिपुल्समा नेपाली समकक्षी भण्डारीले दिएको नेपाल भ्रमणको निमन्त्रणाप्रति प्रतिक्रिया जनाउँदै उनले नेपाल भ्रमणलाई महत्त्व दिएको बताए । ‘नेपालले मेरो आगमन प्रतीक्षा गरिरहेको मलाई थाहा छ । मैले पनि नेपाल भ्रमणलाई अत्यन्त प्राथमिकता र महत्त्वमा राखेको छु,’ उनले भने, ‘कुन समयमा कसरी भ्रमण गर्ने भन्ने कुरा छलफल गरेर टुंगो लगाउनुपर्छ ।

सीले यसअघि भेट भएका नेपाली नेताहरूलाई पनि भ्रमणका लागि दुवै पक्षलाई सजिलो हुने समय पर्खिरहेको बताउने गरेका थिए । चीनको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष चाओ ल चीले राष्ट्रपति भण्डारीको सम्मानमा दिएको भोजमा उनका समकक्षी सी पनि सरिक भएका थिए ।

राष्ट्रपति भण्डारी दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा भाग लिने गरी राजकीय भ्रमणमा आएकी हुन् । पल्लो शान्सी र बेइजिङपछि राष्ट्रपति भण्डारीको भ्रमण मंगलबारदेखि नेपालसँग सिमाना जोडिएको तिब्बततर्फ केन्द्रित हुनेछ । तिब्बत भ्रमणपछि भण्डारी त्यतैबाट नेपाल फर्किने कार्यतालिका छ ।

प्रकाशित : वैशाख १७, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?