कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी 

अर्जुन राजवंशी

बिर्तामोड — कचनकवल २ का ५५ वर्षीय बमबहादुर गुरुङ र ३६ वर्षका भूपाल गुरुङ गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय झापा पुगे । पुग्नुको उद्देश्य थियो भूपालको वंशजको नागरिकता बनाउनु । भूपाल बमबहादुरको छोरा भएको पुष्टि गर्ने आवश्यक कागजात साथैै लगेका थिए । भूपालको नागरिकता बन्ने प्रक्रिया अघि बढ्दै थियो । 

भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी 

कागजपत्र पेस गर्ने क्रममा कार्यालयका कर्मचारीको आँखा अनायास भूपालको औंलामा पर्‍यो । औंलामा मसी लगाइएको थियो । कसरी मसी लाग्यो भनेर सोधीखोजी भयो । त्यस क्रममा भूपाल भारतीय नागरिक भएको पुष्टि भयो । प्रहरीले उनको साथबाट भारतीय मतदाता परिचयपत्रसमेत फेला पार्‍यो ।

उनी भारतमा जारी लोकसभा निर्वाचनमा मतदान गरेर नागरिकता बनाउन झापा आएका रहेछन् । उनी रहेछन् भारतको असम मणिपुरका । मतदाता परिचयपत्रमा भूपालका बाबुको नाम चन्द्रबहादुर गुरुङ उल्लेख थियो । यसअनुसार सँगै आएका बमबहादुर गुरुङ पनि नक्कली बाबु निस्किए ।

दुई जना पक्राउ परेपछि प्रहरीले उनीहरूलाई वंशजको नेपाली नागरिकता प्राप्त गर्ने गरी आवश्यक कागजी प्रक्रिया बनाइदिने व्यक्तिको खोजी भयो । त्यसक्रममा भारतीयलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा कचनाकबल गाउँपालिकाका जनप्रतिनिधिसहित ९ जनाका नाममा जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार कचनकवल २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ, वडासचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडाका नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरीले कचनकवल २ का कविता गुरुङ, गंगाप्रसाद भट्टराई, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल र तुलसीराम गुरुङको नाममा समेत पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू भूपालको जन्मदर्ता र नागरिकताका लागि सर्जमिनलगायत प्रक्रियामा संलग्न रहेको डीएसपी श्रेष्ठले बताए ।

भूपाललाई छोरा भन्दै बमबहादुरले तयार पारेको कागजातमा वडा सचिव गौतमको हस्ताक्षरसहितको छाप लगाइएको छ । भूपालको जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा वडाध्यक्ष भट्टराईले सहीछाप गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले भूपालको जन्मदर्ता समयमै बनाउन नसकेको तथा पछि साथीहरूसँग घर छोडी हिँडेकाले अहिलेसम्म नागरिकतासमेत बनाउन नपाएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनप्रतिनिधिको लापरबाहीका कारण भारतीय नागरिकले नेपाली नागरिकता पाउने अवस्था बनेको आरोप लगाए । उनले भने, 'वडास्तरमा जनप्रतिनिधि र कर्मचारीले राम्ररी ध्यान नदिँदा झन्डै भारतीय नागरिकले नेपाली नागरिकता पायो ।' भारतीय नागरिकलाई नेपाली नागरिकता दिने गरी कागजपत्र निर्माणमा संलग्न भएका जनप्रतिनिधि, कर्मचारी र स्थानीय सबैमाथि नागरिकता ऐनअनुसार कारबाही हुने उनले बताए ।


प्रकाशित : वैशाख १८, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?