१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कान्तिको आईसीयू नाम मात्रैको

अतुल मिश्र

काठमाडौं — बालबालिकाका लागि मुलुककै एक मात्र केन्द्रीय 'रेफरल' कान्ति बाल अस्पतालले पूर्ण क्षमताका साथ इन्टेन्सिभ केयर युनिट (आईसीयू) सञ्चालन गर्न सकेको छैन  ।

कान्तिको आईसीयू नाम मात्रैको

डाक्टरलगायत जनशक्तिको दरबन्दी, सञ्चालन खर्च अभाव र राजनीतिक तहको असहयोगका कारण ५२ शय्या क्षमता भएको आईसीयूमा अहिले ३१ शय्या मात्रै मुस्किलले चलिरहेको छ । शय्या अभावकै कारण दैनिक ५-६ बिरामी अन्यत्र सिफारिस हुने गरेका छन् ।

मुलुकमा १५ वर्षमुनिका बालबालिका कुल जनसंख्याको ४० प्रतिशत छन् । करिब १ करोड २५ लाख बालबालिकाका लागि केन्द्रीयस्तरको बाल अस्पताल कान्ति मात्रै हो । 'नर्स, डाक्टरलगायत जनशक्ति अभावमा कसरी आईसीयू चलाउन सकिन्छ ?,' अस्पतालबाट हालै सेवानिवृत्त वरिष्ठ बाल रोग विशेषज्ञ डा. कैलाश साह प्रश्न गर्छन् ।

कान्ति बाल अस्पतालको दुरवस्थाका लागि स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयसमेत दोषी रहेको विज्ञहरूको भनाइ छ । 'बालबालिकाले विरोध गर्दैनन्, हडताल गर्दैनन् । यही कारण मुलुकको एक मात्र कान्ति बाल अस्पताल सरकारको प्राथमिकतामा अझै परेको छैन,' डा. साह भन्छन्, 'सरकार आफैं चाहँदैन कान्तिको आईसीयू चलोस् र गरिब समुदायले सेवा-सहुलियत पाऊन् ।' केही अघिसम्म आईसीयूको ३७ शय्या चलाइएकामा अहिले ३१ मात्रै सञ्चालनमा छन् ।

यसअन्तर्गत हाल पीआईसीयूका लागि १२, एनआईसीयू १०, एसआईसीयू ७ र आइसोलेसनका लागि २ शय्या छुटयाइएका छन् । कान्तिमा विद्यमान पूर्ण क्षमताका हकमा एमआईसीयूका लागि २५, पीआईसीयूका लागि १५, सर्जिकलका लागि १० र आइसोलेसनका लागि २ गरी ५२ शय्याको आईसीयू चलाउनुपर्ने थियो ।

'जनशक्ति पटक्कै छैन, ४ डाक्टर र ३ नर्सको तलब सरकारले नभई एनजीओले दिन्छ,' अस्पतालका एक चिकित्सकले भने, 'करिब १५ वर्षअघिकै ३९ मेडिकल अफिसरको मात्र दरबन्दी यहाँ छ ।'

हाल ३ जना स्थायी चिकित्सकमध्ये २ जना काठमाडौंबाहिर समायोजनमा परेका छन् । १७ मेडिकल अफिसरको तलब कान्ति अस्पतालले खुवाउने गरे पनि उनीहरू अध्ययन गरिरहेकाले अस्पतालमा काम गर्दैनन् । 'अस्पताल करिब ३० जना रेजिडेन्ट चिकित्सकको भरमा चलिरहेको छ,' ती चिकित्सकले भने ।

अस्पतालका निर्देशक डा. गणेश राईले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार यहाँ भएका आईसीयू राम्ररी चलाउन चिकित्सक, नर्सजस्ता जनशक्ति कम्तीमा ५ गुणा बढाउनुपर्ने बताए । '५२ शय्या आईसीयू चलाउन हाल भएको जनशक्तिमा थप ४३ डाक्टर र १ सय २५ जना नर्सलगायत अन्य आवश्यकता परिपूर्ति गर्नुपर्छ,' उनले भने ।

उनका अनुसार कान्तिमा भेन्टिलेटररहित आईसीयू शय्याका लागि १२ सय र भेन्टिलेटरसहित शय्याका लागि एक दिनमा २५ सय रुपैयाँ लिने गरिएको बताए । अन्यन्त्र भने एक दिनको शुल्क १० हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । गरिब र तिर्ने क्षमता नभएकाबाट कान्तिले आईसीयू शुल्कसमेत नलिने गरेको डा. राईले बताए ।

प्रकाशित : वैशाख १८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?