२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पशुपतिनगरमा खुल्यो अध्यागमन केन्द्र

भारततर्फ नखुलेसम्म सेवा दिन नसक्ने
विप्लव भट्टराई

इलाम — लामो समयसम्मको पहल र प्रतीक्षापछि सीमावर्ती पशुपतिनगर फाटकमा अध्यागमन केन्द्र खुलेको छ  । दार्जिलिङलगायत क्षेत्र घुमघामका लागि आएका भारतबाहेकका पर्यटक नेपाल आउनलाई सहज हुने ठानिए पनि भारततर्फ नखुल्दा भने सेवा सञ्चालन हुने छैन  ।

पशुपतिनगरमा खुल्यो अध्यागमन केन्द्र

भारतले पहल गर्ने आश्वासन दिएपछि दबाब बढाउन नेपालले एकतर्फी रूपमा केन्द्र सञ्चालनमा ल्याएको हो । पर्यटन सूचना केन्द्रको भवनमा रहेको अध्यागमन केन्द्र आइतबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।

यताबाट प्रक्रिया पूरा गरेर पठाए पनि भारततर्फ अध्यागमन केन्द्र नहुँदा कुनै पनि पर्यटक प्रवेश गर्न सक्दैनन् । 'भारतबाट नेपाल आउने पर्यटकलाई यता नपठाएसम्म हामीले केही गर्न सकिंदैन,' कार्यालय प्रमुख गणेशचन्द्र मिश्रले भने, 'कूटनीतिक पहलमार्फत जतिसक्दो चाँडो सीमापारि पनि केन्द्र स्थापनाको पहल गर्नुपर्छ ।'

२०५७ सालमा पनि नेपाल सरकारले पशुपतिनगर फाटकमा अध्यागमन कार्यालय स्थापना गरेको थियो । 'भारतले आफ्नोतर्फ खोल्न नमानेपछि २ वर्षपछि कार्यालय बन्द गर्नुपर्‍यो,' त्यस क्षेत्रका पूर्वसांसद बेनुपराज प्रसाईले भने, 'उतिबेला भारतले आफ्नोतर्फ जमिन नभएको भन्दै एउटै भवनमा सञ्चालन गर्न माग गर्दा नेपाल पक्षले मानेको थिएन ।'


चहलपहल घटदै गएको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा अध्यागमन केन्द्र स्थापना भएपछि बजार पुरानै अवस्थामा र्फकने आसमा स्थानीय छन् । सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरसमेत घोषणा गरेकाले अध्ययागमन केन्द्रले सेवा थाल्दा इलाम र पूर्वी पहाडका पर्यटकीय क्षेत्रमा प्रभाव पर्ने नगरप्रमुख रणबहादुर राईको भनाइ छ ।

'भारतीय राजदूत मञ्जितसिंह पुरीले हामीसँग आफ्नोतर्फ पनि चाँडै केन्द्र खोल्ने प्रतिबद्धता जनाएका छन्,' उनले भने, 'यो पटक दुवैतर्फबाट सेवा सञ्चालन हुनेमा आशावादी छौं ।'


केन्द्रले सेवा सञ्चालनमा ल्याए ठूलो लगानीमा खोलिएका होटलसहित विभिन्न क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने होटल व्यवसायी गोविन्द क्षत्रीले बताए । 'एकतर्फी कार्यालय उद्घाटन गरिएकाले विश्वास गर्ने आधार भने छैन,' उनले भने । भारतर्फ पनि केन्द्र खुल्ने हो भने दार्जिलिङ घुम्न आएका तेस्रो मुलुकका पर्यटकलाई सिधै अध्यागमन केन्द्रले प्रवेशआज्ञा (भिसा) जारी गर्न सक्छ ।


केन्द्रले १५ दिन ३० दिन र ९० दिनसम्मको भिसा जारी गर्न सक्छ । दार्जिलिङ क्षेत्रमा बर्सेनि ठूलो संख्यामा तेस्रो मुलुकका पर्यटक आउने गरेका छन् । नेपाल घुम्न चाहने पर्यटकले काँकरभिट्टामा रहेको अध्यागमन केन्द्रमार्फत नेपालका पर्यटकीय क्षेत्र पुग्ने गरेका छन् । काँकरभिट्टाबाट नेपाल छिर्ने पर्यटक इलामसहितका पूर्वी पहाडी क्षेत्र नगई सिधै राजधानीलगायत अन्यत्र जाने भएकाले पनि पशुपतिनगरमा अध्यागमन केन्द्र राख्न वर्षौंदेखि माग हुँदै आएको थियो ।


नेपाल सरकारले कूटनीतिक पहल गरेर भारततर्फ पनि कार्यालय खुलाउनुपर्छ स्थानीय बताउँछन् । केन्द्रमा आठ जनाको दरबन्दी रहे पनि अहिले १ अधिकृत, १ कार्यालय सहयोगी र १ कम्प्युटर अपरेटर कार्यरत छन् ।

प्रकाशित : वैशाख १८, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?