कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नागरिकता लिन घुइँचो

सरकारले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुमा घुइँचो लागेको छ ।
प्रदेश २ ब्युरो

जनकपुर — कर्मचारी अभावमा गुज्रिरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीलाई नागरिकता बाँड्न हम्मे पर्न थालेको छ । वंशजको नागरिकता लिनेको संख्या ह्वात्तै बढेपछि प्रशासन कार्यालयलाई दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको छ ।

नागरिकता लिन घुइँचो

'एक महिनायता नागरिकता लिनेहरूको भीड छ,' प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, 'पहिले दैनिक ३०-४० जनाले नागरिकता लिन्थे । अहिले ६० देखि ८० जनासम्मलाई वंशजको नागरिकता दिइरहेका छौं ।'


सरकारले जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको नेपाली नागरिकता दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको संख्या बढेको हो । माध्यमिक शिक्षा परीक्षा -एसईई) भर्खरै सकाएका युवायुवतीले पनि नागरिकता बनाइरहेकाले भीड बढेको प्रजिअ पौडेलले बताए ।


पछिल्लो समय वंशजको नागरिकता लिनेमा महिलाको संख्या पनि बढी छ । प्रदेश सरकारले महिलाहरूका लागि विभिन्न योजना ल्याएकाले उनीहरू पनि नागरिकता लिन प्रशासन कार्यालय पुग्ने गरेका छन् । 'नागरिकता लिन आउनेको संख्या अत्यधिक छ, कर्मचारी अभाव छ,' प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले भने, 'नागरिकता गम्भीर विषय भएकाले कागजपत्र सूक्ष्म तरिकाले अनुसन्धान गर्दा समय लाग्छ ।'


जिल्ला प्रशासन कार्यालय सप्तरीमा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारीसहित कुल ३३ जना कर्मचारीको दरबन्दी छ । प्रजिअ पौडेल सहसचिव होइनन् । उनी कायममुकायम प्रमुख जिल्ला अधिकारी मात्र हुन् । एकजना सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहे पनि लामो समयदेखि सप्रजिअको पदपूर्ति हुन सकेको छैन । प्रशासकीय अधिकृत, नायब सुब्बालगायतका अन्य पदहरू पनि दरबन्दीअनुसार पूर्ति हुन सकेको छैन ।


५०१ लाई नागरिकता

जिल्ला प्रशासन कार्यालय पर्साबाट चैत २५ यता बुधबारसम्ममा ५ सय १ जनाले वंशजका आधारमा नागरिकता पाएका छन् । जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानलाई चैत २५ मा वंशजको नेपाली नागरिकता दिन थालिएको हो ।


प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले २०६३/०६४ मा जन्मका आधारमा नागरिकता लिएकाहरूका छोराछोरीले अहिले नागरिकता लिइरहेको जानकारी दिए । २०७० चैत २० यता जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाएका थिएनन् । २०६३/०६४ मा जन्मका आधारमा नागरिकता पाएकाहरूको सन्तान त्यसअघि नै जन्मिएको पाइए नागरिकता नदिने नियम थियो ।


जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन आउनेको भीड दैनिक बढ्दो छ । नागरिकता बनाउन आउनेमा युवा बढी छन् । इलाका प्रशासन कार्यालय सुपौलीबाट पनि नागरिकता वितरण गरिंदैछ । कार्यालयका प्रशासकीय अधिकृत उज्ज्वल बस्नेतले दैनिक १ सयभन्दा बढीलेे नागरिकताका लागि निवेदन दिने गरेको बताए । 'तत्काललाई निवेदन दर्ता गरी कागजात छानबिन गरिरहेका छौं,' उनले भने ।


कागजी प्रक्रियामा कडाइ

जिल्ला प्रशासन कार्यालय, रौतहटले जन्मसिद्ध नागरिकता लिएकाका १ सय १० जना सन्तानलाई नागरिकता वितरण गरेको छ । नागरिकता लिने प्रक्रियामा कडाइ गरेपछि धेरैले लिन नपाएको प्रशासनको भनाइ छ । बुवाआमाको नागरिकता भए पनि जन्मसिद्धका आधारमा नागरिकता नपाएका धेरै स्थानीयले प्रशासनबाट नागरिकता पाएका छन् ।


तीमध्ये अधिकांश दलित समुदायका छन् । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकीय अधिकृत हेमराज फुयालले बसाइँ सराइ नभएका र पछि जन्मदर्ता बनाएकालाई मान्यता नदिएको बताए । वैशाख ८ गतेबाट यहाँ जन्मसिद्धको आधार मानिएकाहरूलाई नागरिकता वितरण गरिएको हो ।


प्रशासनले जिल्लाभरिका स्थानीय तह र वडाहरूलाई जन्मसिद्धका नागरिकका सन्तानको हकमा तत्काल जन्मदर्ताको सिफारिस नदिन निर्देशन दिएको छ । 'पछि जन्मदर्ताको कागज बनाउँदा झुक्याउन सक्छन्,' अधिकृत फुयालले भने, 'कागजी प्रक्रियामा कडाइ गरिएन भने गलत मानिसको हातमा नागरिकता पर्न सक्छ ।'


अवधेशकुमार झा (सप्तरी), शंकर आचार्य (पर्सा), शिव पुरी (रौतहट)

प्रकाशित : वैशाख १९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?