उमेर ८०, सय बढी पशुपालन

जंगलमा बसेर गाईबाख्रा पाल्दै आएका ८४ वर्षीय भवानीप्रसाद लिम्बू र उनकी श्रीमती ८६ वर्षीया छविमाया लिम्बूले नजिकैको मानव बस्ती नटेकेको तीन दशक नाघेको छ ।
रमेशचन्द्र अधिकारी

फलामेटार, धनकुटा — वरिपरि जंगल र भीरले घेरिएको ठूलो ढुंगा । नजिकै जस्ताले छाएको छाप्रो । त्यहीँ बस्छन् ८० वर्ष नाघेका बूढाबूढी । उनीहरूका साथी छन् करिब एक सय गाई र बाख्रा । सहर जानु धेरै परको कुरा, दुई-तीन घण्टामा पुग्न सकिने नजिकको बस्ती नटेकेको वर्षौं भयो । 

उमेर ८०, सय बढी पशुपालन

८४ वर्षका भवानीप्रसाद लिम्बू र उनकी श्रीमती ८६ वर्षीया छविमाया तेह्रथुमको छथर गाउँपालिका ३ लुकुवा नजिकको जंगलमा बस्दै आएको साढे तीन दशक भयो । सामान्य एकसरो मैलो लुगा लगाएका उनीहरूको शरीर कुपि्रसकेको छ । आँखा कमजोर भएको छ, कान कम सुन्छन् । काममा भने दुवै सक्रिय छन् । गाईबाख्राका साथमा उनीहरूको दिनचर्या जंगलको सेरोफेरोमै बित्छ ।


केही वर्ष पहिलेसम्म उनीहरू ढुंगाको ओढारमा थिए । अहिले आफैंले बनाएको छाप्रामा ओत लागेका छन् । छाप्राको तल्लो भागमा गाईगोठ र माथिल्लो भागमा बाख्राको खोर छ । खोरसँगै काठको फलेक ओछयाइएको खुला स्थानमा बूढाबूढी सुत्छन् । गाईबाख्राको मल थुपि्रएर अग्लो ढिस्को बनेको छ । ओढारभित्रको चुलोमा खाना पाक्छ । छाप्रोभन्दा माथिल्लो भागबाट सुक्खाका

कारण निरन्तर ढुंगा झरिरहन्छन् । त्यसबाट जोगिँदै उनीहरूले जीवनको उत्तरार्द्ध बिताइरहेका छन् ।


लिम्बू दम्पतीले नजिकको बजार तथा बस्ती नटेकेको करिब तीन दशक भएको छ । 'उहिल्यै तेह्रथुमको शुक्रबारे बजार पुगेको थिएँ, त्यसपछि फेरि जाने फुर्सद मिलेन,' उनले भने । उनीहरू गाईबाख्रा पाल्ने ठाउँ खोज्दै जाँदा २०३९ वैशाखदेखि उक्त स्थानमा बस्दै आएका हुन् ।


धनकुटा र तेह्रथुमको सीमावर्ती भागमा रहेको तमोर नदी तरेर मात्र फलामेटार बस्ती पुग्न सकिन्छ । अन्य मानिसका लागि समेत नदी वारपार गर्ने माध्यम डुंगा छ । हिउँदमा नदीमा डुंगा चल्छ । वषर्ातमा वारपार गर्न बन्द हुन्छ । वारिको तेह्रथुमको लुकुवा गाउँ पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ । भवानी जंगलमा गाईबाख्रा चराउनेदेखि नदीबाट पानी बोकेर ल्याउने गर्छन् । दुई घण्टा समय खर्चिएर खानेपानी तमोरबाट ओसार्नुपर्छ ।


भवानीप्रसाद गोठालोबाट साँझ घर आइपुग्दा पत्नी छविमाया ढुंगाको ओढारमा खाना पकाएर कुर्ने गर्छिन् । उनीहरू बसेका ठाउँमा नौला मान्छे पुग्दैनन् । नदीपारि रहेका छोरा कुलबहादुर र बुहारी मनमाया भने बाबुआमा भेट्न जाने गरेको उनीहरूले बताए ।

छोरा, बुहारी र नातिनातिना भए पनि जंगलमै बस्न मन लाग्ने दुवै बताउँछन् । 'वनपाखामै बस्ने बानी पर्‍यो, अब दुःखसुख जे भए पनि यतै बिताउँछु,' भवानीले भने, 'छोराबुहारीले बोलाए पनि अन्त गाईबाख्रा पाल्ने ठाउँ नभएकाले जान मन लाग्दैन ।' भवानी एक घण्टा टाढाको तेलिया जंगलमा दैनिक गाईबाख्रा चराउन लैजान्छन् ।


उनीहरू बसेको ठाउँ तमोर करिडोरबाट तीन किलोमिटर टाढा पर्छ । धनकुटा सदरमुकामबाट चार घण्टामा मोटरसाइकलमा पुग्न सकिन्छ ।


गाईबाख्रा पालेर आम्दानी

लिम्बू दम्पतीले पालेका गाई र बाख्रा जंगलमै चर्ने र नजिकको नदीमा गएर पानी खाने भएकाले केही खुवाउनु पर्दैन । उनीहरू छाप्रामा गाईबाख्राको मलसमेत सोहोर्दैनन् । आफू बसेको ठाउँ सुक्खा भएकाले गाईबाख्रा चराउन एक घण्टा टाढाको घाँसे चौरमा लैजानुपर्छ ।


आफन्तका माध्यमले खसीबाख्रा र गाई बिक्री गर्दा मनग्य पैसा मिल्ने भवानीले बताए । उनी कमाइ गरेको पैसा फलामेटारमा बस्दै आएका छोरा कुलबहादुरलाई राख्न दिने गर्छन् ।


टेलिफोन, टेलिभिजनलगायत प्रविधिबारे उनीहरू अनभिज्ञ छन् । केही महिना अघिसम्म रात अँधेरामै बिताउँथे । अहिले भने गाउँपालिकाले सोलार बत्ती जडान गरिदिएको छ । नदीमा डुंगा चलुन्जेल फलामेटार गाउँबाट छोराबुहारीले चामल नुनलगायत खाद्यान्न लगिदिने गरेका छन् ।


उनीहरूलाई चितुवालगायत जंगली जनावरले भने बारम्बार सताउने गर्छ । 'कहिलेकाहीँ गोठमै आएर आँखा सामुन्ने चितुवाले गाईबस्तु खाइदिन्छ,' उनले भने, 'आफैं जोगिन छाडेर बस्तु जोगाउने कुरै भएन ।' कैयौंपटक चरिरहेका बेला गाईबाख्रा जंगली जनावरले खाइदिएको उनले सुनाए ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?