१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘फानी’ को प्रभाव शुक्रबार बेलुकीदेखि

अब्दुल्लाह मियाँ

काठमाडौँ — शत्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । 

‘फानी’ को प्रभाव शुक्रबार बेलुकीदेखि

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ । यो अहिले बंगालको खाडीबाट करिब दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातिर बढिरहेको छ । भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ ।


उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् । भारतमा विपद् व्यवस्थापन निकायले परिस्थिति विकराल हुने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सतर्क हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।


‘फानी विस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको छ,’ मौसमविद् पौडेलले कान्तिपुरसित भने, ‘शुक्रबारबाट यो प्रणाली उडिसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना देखिन्छ ।’ त्यो त्यहाँको तट हुँदै बंगलादेशतर्फ फर्कनेछ । फानी फर्कने क्रममा नेपालको पूर्वी भागमा असर पार्ने देखिएको हो । उक्त प्रणाली तटीय क्षेत्र (जमिनमा) आएपछि भने शक्ति घट्नेछ ।


महाशाखाका अनुसार उक्त प्रणाली भारतको विहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने देखिएको छ । ‘त्यो प्रणालीसँगै घुमेर आएको बादलले नेपालमा असर निम्त्याउने हो,’ मौसमविद् पौडेलले भने, ‘शनिबारसम्मै हावाहुरीसहित भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ पूर्वी नेपालको हिमाली भूभागमा पनि मध्यदेखि भारी हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले भनेको छ । भारतको विहार, भुटानमा समेत यसले असर निम्त्याउने देखिएको छ ।


२०७१ को कात्तिकमा भिक्रिएको ‘हुदहुद’ नामको चत्रवातका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो । त्यसलगत्तै ‘निलोफर’ नामको चक्रवातले पनि नेपालमा असर पुर्‍याएको थियो ।


पोखराबाट सुरु भएको शक्तिशाली हावाहुरीले एक महिनाअघि बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । शक्तिशाली रूपमा देखा परेको उक्त हावाहुरीलाई जल तथा मौसम विज्ञान विभागले ‘टोर्नेडो’ भनेको छ ।


मुलुकको पश्चिमी क्षेक्रमा शुत्रबार पश्चिमी वायुको प्रभाव हुने भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत देखिन्छ । महाशाखाले आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने उल्लेख गरेको छ ।


कसरी राखिन्छ चक्रवातको नाम ?

सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधी/चक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाहिँ बंगलादेशले प्रस्ताव गरेको हो । ‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले आठ/आठ वटा नाम प्रस्तुत गरेका थिए ।


जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्ने गरिएको छ । नाम पनि तिनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ । ‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?