कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सगरमाथा आरोहण सिजन : साउथकोलसम्म बाटो खुल्यो

सुरज कुँवर

काठमाडौँ — यस सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइरहेका नेपाली शेर्पा गाइडको टोली बिहीबार दिउँसो ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा पुगेको छ । साउथकोलबाट सगरमाथा र ल्होत्से हिमाल जाने मार्ग छुट्टिन्छ । नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्नेहरू अन्तिम प्रयास यहींबाट गर्छन् ।

सगरमाथा आरोहण सिजन : साउथकोलसम्म बाटो खुल्यो

आरोहण दलले साउथकोलमा आफ्नो अन्तिम क्याम्प राख्छन्, जसलाई चौथो क्याम्प भनिन्छ ।


'आठ जना नेपाली शेर्पा गाइइड बिहीबार दिउँसो २ बजे साउथकोलसम्म बाटो बनाउन सफल भएका छन्,' यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि डोरी टाँग्ने जिम्मा पाएको कम्पनी हिमालयन गाइड्सका सञ्चालक ईश्वरी पौडेलले कान्तिपुरसँग भने । उनका अनुसार बाटो बनाउनेहरू दोलखाका सिद्धि तामाङको नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा फिन्जु लामा भोटे, मिङ दोर्ची शेर्पा र आङ फुर्वा शेर्पा, दावा नोर्बु शेर्पा अनि सोलुखुम्बुका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा थिए ।


आरोहीहरूका लागि डोरी टाँग्दै गइरहेका शेर्पा गाइडको यो टोली मंगलबार ७ हजार ६ मिटरमा रहेको तेस्रो क्याम्पमा पुगेको थियो । दुई दिनको प्रयासपछि डोरी टाँग्दै साउथकोलसम्म पुगेको टोलीले बिहीबार साँझै ६४ सय मिटरमा रहेको दोस्रो क्याम्पमा फर्किरहेको खबर काठमाडौंमा पठाएको थियो ।


'तेस्रो र चौथो क्याम्प रहने साउथकोलमा बास बस्न नसकिने भएकाले शेर्पाहरूको टोली दोस्रो क्याम्पमा आउने गरेको हो,' हिमाल आरोहण गराउने कम्पनीहरूको एक्सपिडिसन एसोसिएसनका सचिवसमेत रहेका पौडेलले भने । उनीहरूले साउथकोल पुगेको खबर रेडियो सेट वाकीटकीबाट आधार शिविरमा टिपाएका थिए । आधार शिविरमा मोबाइल नेटवर्कमार्फत सम्पर्क हुन्छ । यो टोलीले वैशाख २७ गते चुचुरोसम्म बाटो बनाइसक्ने भनेको छ । डेडजोन पनि भनिने साउथकोलभन्दा माथि चुचुरामा पुग्न करिब ८ सय ४८ मिटर बाँकी रहन्छ । यही मार्गमा बालकोनी र हिलारी स्टेप पर्छन् । साउथकोलभन्दा माथि अत्यधिक गतिमा हावा चलेकाले तीन दिन बाटो बनाउने कार्य स्थगन हुनेछ । 'मौसम छिनछिनमा बदली भइरहेकाले तीन दिन डोरी टाँग्ने कार्य रोकिने भएको छ,' पौडेलले भने ।


गत वर्ष पनि सगरमाथाको दोस्रो क्याप्पदेखि माथि डोरी टाँग्ने कार्य हिमालयन गाइड्सले नै गरेको थियो । यस पटक यस कम्पनीले दोस्रो क्याम्पदेखि माथिका लागि १० हजार मिटर डोरी सगरमाथातर्फ ओसारेको छ । ६२ सय मिटर उचाइमा रहेको दोस्रो क्याम्पदेखि माथि बाटो बनाउन मात्रै कम्तीमा ८ हजार मिटर डोरी चाहिन्छ । ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरदेखि दोस्रो क्याम्पसम्म सगरमाथा पोलुसन कन्ट्रोल कमिटी -एसपीसीसी) का आइसफल डक्टरले आरोहणका लागि उक्लिने बाटो खोल्छन् । आधार शिविरदेखि दोस्रो क्याम्पसम्म डोरीको दाँजोमा अत्यधिक भर्‍याङ राख्ने गरिन्छ । बाटो बनाउने आइसफल डक्टर र शेर्पा गाइडहरूलाई आरोहणमा रहेका विदेशी सदस्यबाट दामासायी संकलन गरेर दिइन्छ । वसन्तकालीन सगरमाथा आरोहण सिजनमध्ये फागुनमा सुरु भई जेठमा सकिन्छ ।


खुम्बु आइसफलबाट तेस्रो क्याम्पतर्फ गइरहेका आरोहीहरु । तस्बिर : पासाङ रिन्जी शेर्पा र मिङ्मा थिन्डुक शेर्पाको फेसबुकबाट

प्रकाशित : वैशाख १९, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?