चुरे भावर क्षेत्रका ६ लाख जनसंख्या प्रभावित 

चुरे विनाश नै पानीको मूल सुक्नाको प्रमुख कारण
डीआर पन्त, मोहन बुढाऐर

डडेलधुरा/धनगढी — गाउंँ वरिपरि चुरेबाट निस्केका ४/५ वटा खोला छन् । नजिकै रंगुन नदी पनि छ । डडेलधुराको भित्री मधेस चुरे फेदीमा रहेको आलीताल गाउंँपालिकाको भावर क्षेत्र भने गर्मीयाम सुरुसँगै जहिले पनि पानी अभावमा तड्पन्छ । 

चुरे भावर क्षेत्रका ६ लाख जनसंख्या प्रभावित 

वर्षातमा गाउंँ र उब्जनीयोग्य जमिन बगर बनाउने गरी खोला-खहरेले बर्सेनि ताण्डव मच्चाउँछ । हिउंँद र गर्मीमा ती खोला रित्तै हुन्छन् । जताततै बलौटे बगर मात्र देखिन्छ । आलीताल गाउंँपालिका र अन्य निकायले दर्जन बढी खानेपानी योजना सञ्चालन गरिरहेका छन् । कुनै योजना मूल सुकेर ठप्प भए, कुनै योजना पूरा नहुँदै मूल हराए । जति योजना आए पनि गाउंँले खानेपानीका लागि सास्ती भोग्न बाध्य हुनुपरेको छ ।


कैलालीको चुरे भावर क्षेत्रका बस्तीमा पनि परम्परागत पानीका स्रोत सुक्दै गएका छन् । ग्रावेटी सिस्टमबाट सञ्चालित खानेपानीका योजनाका धारामा पानी आउन छाडेको छ । डिपबोरिङबाट पनि मुस्किलले पानी भेट्टनिे गरेको छ । कैलालीको चुरे फेदी भावर क्षेत्र र चुरे आसपासका बस्ती, डडेलधुराको परशुराम नगरपालिका र आलीताल गाउँपालिकामा पनि सुक्खायाममा पानीको हाहाकार हुने गरेको छ । चुरेमा पर्ने मोहन्याल र चुरे गाउँपालिका बस्तीमा खानेपानीको समस्या सबैभन्दा बढी देखिएको छ । यहाँका कैयौं गाउँका बासिन्दा घन्टौं हिँडेर पानीको जोहो गरिरहेका छन् ।


चुरे क्षेत्रका बस्ती रित्तिँदै

पानीको दुःखले चुरे र मोहन्याल गाउँपालिकाका पुराना बस्ती खैराला, पन्डौन, सहजपुर, सुगरखाल, निगाली र गोदावरी नगरपालिकाको पहाडी दुर्गम क्षेत्रका केही बस्ती विस्थापित भएका छन् । गोदावरीको ओलानी बन्देगाडा बस्ती पनि गर्मीयाममा काकाकुल भएको छ ।


प्रतिव्यक्ति दैनिक ५० लिटर पानी आवश्यक हुने ठाउँंमा १० लिटर पानीसमेत पाउने अवस्था छैन । प्रमुख व्यवसाय पशुपालन भए पनि पशुका लागि पानीको जोहो गर्नु उनीहरूका लागि झन् मुस्किल हुने गरेको छ । 'पानी समस्याका कारण पछिल्लो समय चुरे भावर क्षेत्रबाट पलायन हुनेको संख्या बढेको छ,' डडेलधुरामा ग्रामीण जलस्रोत व्यवस्थापन कार्यक्रममा कार्यरत देवराज भण्डारी भन्छन्, 'चुरेको माथिल्लो भेगबाट भावर क्ष्ाेत्र र तराईमा बसाइँ सर्नेको संख्या निकै बढेको हो ।'


६ लाख बढी बासिन्दा पानीको संकट बेहोर्दै

पानीको दीर्घकालीन व्यवस्थापन र मूल संरक्षण हुन नसक्दा चुरे भावर क्ष्ाेत्रका बासिन्दाका लागि खानेपानी प्रमुख चुनौती बनेको छ । डडेलधुराको चुरे क्षेत्रका परशुराम नगरपालिका र आलीताल गाउँपालिका मात्र होइन, सुदूरका ४ जिल्लामा पर्ने चुरे भावर क्षेत्रका ६ लाख बढी बासिन्दाले पानीका लागि निकै संकट भोग्नुपरेको छ । सुदूरका कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा फैलिएको भावर क्षेत्रको माथिल्लो चुरेमा वन फँडानी सुरु भएपछि डेढ दशकयता खानेपानीको चरम संकट उत्पन्न भएको हो ।


तथ्यांकअनुसार सुदूरका ४ जिल्लाको कुल भूभागमध्ये २७ प्रतिशत भूभाग ओगटेको चुरे भावरमा भएका अधिकांश पानीका मूल र नदी सुक्न थालेपछि यो क्षेत्रका बासिन्दा समस्यामा पर्न थालेका हुन् । 'केही वर्ष अघिसम्म चुरे भावर क्षेत्रमा पानीको यति चर्को समस्या थिएन,' लामो समयदेखि खानेपानीका क्षेत्रमा कार्यरत इन्जिनियर नवीन पनेरु भन्छन्, 'यस क्षेत्रमा वन पैदावार निकासी गर्न जथाभावी सडक निर्माण र वन फँडानी सुरु भएपछि पानी संकट बढदै गएको हो ।'


सरकार र गैरसरकारी क्षेत्रबाट पछिल्लो दशकमा खानेपानीको संकटबाट मुक्त गर्न अर्बौं बजेट यो क्षेत्रमा खर्चिए पनि समस्या समाधान हुन नसकेको पनेरुले बताए । 'पानीको दीर्घकालीन व्यवस्थापनसहितका योजना बन्न सकेनन्,' उनले भने, 'लगानी मात्र भयो, व्यवस्थापन हुन नसक्दा खानेपानीको संकट टर्न सकेको छैन ।'


उर्वर भूमि मरुभूमिमा परिणत हुने अवस्था

कैलालीमा खानेपानी र वन तथा वातावरण क्षेत्रका विज्ञहरू पनि हालका वर्षमा चुरे र चुरे फेदीको भावर क्षेत्रमा पानीको हाहाकार हुनुको प्रमुख कारण यस क्षेत्रमा भएको तीव्र वन विनाश नै प्रमुख कारण भएको औंल्याउँछन् । भूमिगत जल विशेषज्ञ अमरबहादुर चन्द ठकुरी पानी रिचार्ज हुने चुरेको भावर क्षेत्रमा भएको वनजंगल विनाश र खोलानालाको दोहनले तराई मरुभूमिमा परिणत हुन बेर नलाग्ने बताउँछन् । 'भावर क्षेत्रको जल तह हालका वर्षमा घटदै गएर चुरे र चुरे फेदीका भावर क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो,' उनले भने ।


चुरे र भावर क्षेत्रमा १० वर्षयता पानीको मात्रा १० गुणाले घटेको खानेपानी क्षेत्रका विज्ञहरूको निष्कर्ष छ । खानेपानी विभागका वरिष्ठ इन्जिनियर गणेश उपाध्याय भन्छन्, 'मानव सिर्जित समस्याका कारण चुरे भावर क्षेत्रमा पानी संकट हरेक वर्ष गहिरिँदै जान थालेको हो ।'


'मूलबाट प्रतिसेकेन्ड एक लिटर पानी बग्ने ठाउँंमा आधा लिटर पनि बग्न छाडेको छ,' उपाध्याय भन्छन्, 'जलवायु परिवर्तनको असर त छँदैछ, त्यसमा पनि चुरे क्षेत्रमा प्रकृतिविरुद्ध भइरहेका मानव गतिविधिले समस्या हरेक वर्ष बढदै जान थालेको देखिन्छ ।' उनका अनुसार वन वातावरणमा परेको असरले लामो बर्खा नपर्नु, एकैचोटि ठूलो पानी पर्ने र त्यो जमिनभित्र छिर्न नपाएर बग्नु, पानीलाई रोक्ने बोटवृक्षहरू पहिलाको जस्तो भावर क्षेत्रमा नहुनु र रिभर बेल्टमा ढुंगा/गिट्टी उत्खननलगायत कारणले जल सतह कायम हुन नसकेको उनी बताउँछन् ।

डडेलधुरा, कैलालीलगायत सुदूरपश्चिमका ४ जिल्लामा पर्ने चुरे भावर क्षेत्रका ६ लाखभन्दा बढी बासिन्दाले पानीका लागि निकै संकट भोग्नुपरेको छ, पानीको दुःखले कैलालीको चुरे र मोहन्याल गाउँपालिकाका केही बस्ती विस्थापित भएका छन् ।

कैलाली र कञ्चनपुरमा लामो समय वन तथा वातावरणको क्षेत्रमा काम गरेका पूर्वजिल्ला वन अधिकृत रमेश चन्द ठकुरीले पछिल्लो समयमा भावर क्षेत्रमा भएको वन विनाश, वन तथा वातावरणीय मूल्यांकनबिना निर्माण भएका सडक तथा अन्य विकासका संरचना र चुरे बग्ने खोलानालाबाट जथाभावी ढुंगागिट्टी उत्खनलगायत कारणले संकट निम्तिएको बताए ।


उनी चुरेमा भूक्षयका कारण बस्ती जोखिममा पर्नु, पानीका मुहान सुक्दै जानु र तराईमा बाढीको प्रकोपसँंगै राजमार्गको पुल भासिने समस्या देखा पर्नु चुरे दोहनको प्रभाव भएको बताउँछन् । यसलाई नियन्त्रण गर्न नसकिए तराईको भविष्यसमेत संकटमा पर्ने उनको भनाइ छ ।


'चुरे दोहनलाई समयमै नियन्त्रण गर्न नसके कैलाली र कञ्चनपुरको उर्वर भूमि मरुभूमिमा परिणत हुन बेर लाग्दैन,' कैलालीमा वन तथा वातावरण क्षेत्रमा कार्यरत विजय श्रेष्ठ भन्छन् । उनका अनुसार भावर क्षेत्रको प्राकृतिक सम्पदा विनाशको कारण दुई दशकअघि ५ मिटर चौडाइका नदीनाला अहिले ५० मिटर फराकिलो भएका छन् । नदीको सतह बढेर राजमार्गका पुल भासिने अवस्थामा पुगेका छन् ।


यस वर्ष देखिएका मूल अर्को वर्ष एकाएक हराउन थालेका छन् । लाखौं खर्चेर यस वर्ष निर्माण भएका खानेपानी योजनामा अर्को वर्ष पानी आउन छोड्छ । पूरै चुरे भावर क्षेत्रमा यो समस्या चर्को रूपमा देखिएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक प्रमुख इन्जिनियर परिचित श्रेष्ठ भन्छन्, 'भावर क्षेत्रको बनोट र पानी सतह भएका क्षेत्रमा प्रशस्त चुना भएकाले पानीका अधिकांश योजना निर्माण भएको १, २ वर्षमा नै बन्द हुने गरेकाले यो क्षेत्रमा लगानी गर्नसमेत कठिनाइ भएको छ ।' वातावरणीय प्रभावसँगै चुरेमा अनधिकृत र अव्यवस्थित रूपमा भइरहेको प्राकृतिक स्रोतको दोहनले गर्दा समस्या झन् जटिल बन्दै जान थालेको पनि उनले बताए ।


स्रोत सुकेर योजना अलपत्र

डिभिजन कार्यालयका अनुसार कैलालीको चुरे गाउँपालिकाको ३ फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । अघिल्लो वर्ष ३० लाखको योजनाबाट ३५ धारा सञ्चालनमा ल्याइएको थियो । यो वर्ष मूलमा पानी सुकेर योजना अलपत्र छ । त्यस्तै एसियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न गाजरी खानेपानी योजनाको मूल सुकेको छ ।


अहिले जमिनबाट पानी तानेर ओभरहेड ट्यांकीबाट खानेपानी योजना पुनः सञ्चालनको तयारीमा रहेको छ । त्यसैगरी चुरे गाउँपालिकाभित्रका ४ वटा अन्य योजनामा समेत पानीको मूल सुकेको छ । एउटा गाउँको मूल सुकेपछि अर्काे मूलबाट पाइप तानेर खानेपानीको व्यवस्था गर्दै जाँदा पनि सबै मूल सुक्दै गएका छन् ।


कैलालीको गोदावरी नगरपालिका १०, ११ र १२ ओलानी र बन्दगाडा क्षेत्रमा पानीको समस्या बढी छ । तराईका गौरीगंगा, घोडाघोडी, बर्दगोरिया र लम्की चुहा नगरपालिकाका चुरे घाडीघासका बस्तीमा खानेपानीको समस्या टडकारो देखिएको छ । बस्तीभरि दर्जन कुवा भए पनि सबै सुकेका छन् । तिनमा बर्खामा मात्रै पानी रसाउने गरेको स्थानीयहरू बताउँछन् ।


खानेपानी तथा सरसफाइ कार्यालय कैलालीका इन्जिनियर मोहनबहादुर कुँवरले चुरे भावर क्षेत्रमा 'ग्राउन्ड वाटर स्टोरेज' एकदम न्यून भइसकेको बताए । 'ह्यान्डपम्प, परम्परागत कुवा र इनार लगायतका पानीपँधेराको पानीको स्रोत सुकेको छ,' उनले भने । मूलहरू सुक्दै आएकाले करोडौंका खानेपानी योजना अलपत्र परेको उनी बताउँछन् ।


इन्जिनियर कुँवरले मूलबाट बग्ने पानी (ग्राभेटी सिस्टम) बाट सञ्चालित दर्जनौं खानेपानीका योजनाको स्रोत सुकिसकेको बताए । 'मूल सुक्ने समस्याले डिपबोरिङ योजना सञ्चालनमा ल्यायौं,' उनले भने, 'कुनै बस्तीमा डिपबोरिङबाट पनि पानी भेट्टाउन सकेका छैनौं ।' अहिले डिपबोरिङबाट २ सय मिटर गहिराइबाट पानी तान्नुपरेको उनले बताए । केही वर्ष पहिला २० मिटरमा ह्यान्डपम्पबाट पानी तान्न सकिन्थ्यो । 'तल्लो जलाधार क्षेत्रमा पनि पानीको सतह अझ गहिराइमा गइसकेको छ,' उनले भने, 'धनगढी क्षेत्रमा अहिले २ सय मिटर गहिराइमा मात्रै पानी आउँछ ।'


स्थानीय तहका लागि खानेपानी प्रमुख चुनौती र प्राथमिकता

पानी संकटका कारण चुरे भावर क्षेत्रका स्थानीय तहले पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । परशुराम नगरपालिका ७ का अध्यक्ष केशव बोहराले भने, 'सडकपछि पहिलो प्राथमिकता खानेपानी बनेको छ ।' पानी संकट भोगिरहेका चुरे भावर क्षेत्रमा ठूला-ठूला योजना स्थानीय तहले निर्माण गर्न नसके पनि साना खानेपानी योजनामा ठूलो लगानी भइरहेको बोहराले बताए । चुरे भावर क्षेत्रका स्थानीय तहको साझा संकटका रूपमा रहेको खानेपानी समस्या समाधान गर्न एकीकृत रूपमा गुरुयोजना निर्माण गरी जानुपर्ने पनि अध्यक्ष बोहराले बताए ।


खानेपानीका लागि दैनिक ५ घण्टासम्म पैदल हिँड्नुपर्ने मलाश क्षेत्रका बासिन्दा अढाई करोड बढीको खानेपानी योजना स्वीकृत भएको सुनेर दंगदास छन् । तीन-चार किलोमिटर तल रहेको घट्टे खोलाबाट लिफ्टमार्फत पानी तानेर मलाशमा खानेपानी पुर्‍याउने योजना परशुराम नगरपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सुरु गरेपछि स्थानीय दंग परेका हुन् । मलाश क्षेत्रमा २ हजार बढी जनसंख्या छ ।

प्रकाशित : वैशाख २१, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?