'मेरो सरकार' को नेकपाभित्रै आलोचना

मैले पढदा थिएन, कति बेला राखिएछ, थाहा छैन : दाहाल
ऋषिराम पौड्याल

काठमाडौँ — नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा 'मेरो सरकार' उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए ।

'मेरो सरकार' को नेकपाभित्रै आलोचना

'अरू विषयमा छलफल भएको थियो,' दाहालले भने, 'मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी छैन ।'


बैठकमा सांसद रामकुमारी झाँक्रीले 'मेरो सरकार' भनिएकामा आपत्ति जनाएकी थिइन् । 'यो भाषा बेठीक छ । गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन,' उनले भनिन् । बैठकपछि झाँक्रीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन्, 'मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन । आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु ।' बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले यसलाई सरकारले प्रस्ट पार्नुपर्ने बताए । सांसदहरूले आलोचना गरेपछि नेताहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए ।


करिब साढे १२ बजे सुरु भएको बैठकको प्रारम्भ गर्दै दलका सचेतक देव गुरुङले उपनेता सुवासचन्द्र नेम्वाङलाई बोल्न दिएका थिए । नेम्वाङले प्रधानमन्त्री तथा संसदीय दलका नेता आउँदै हुनुहुन्छ, छलफल गर्दै गरौं भन्दै आफ्ना कुरा राखेका थिए । नीति तथा कार्यक्रम राम्रो आएको छ, यसको भावना र मर्म प्रस्ट गरौं भन्दै उनले सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा निर्देशन दिएका थिए ।


उनले लामो भनाइ राख्दै नीति कार्यक्रम पारित भएपछि बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले बोल्न पाउने जानकारी गराएका थिए । उनको यो भनाईप्रति असहमति जनाउँदै झाँक्रीले हात उठाएर बोल्न समय माग गरेकी थिइन् । उनले 'मेरो सरकार' उल्लेख गरिएकामा आपत्ति जनाइन् । बैठकमा सहभागी एक सांसदका अनुसार शर्माले पनि हात उठाएर बोल्ने समय मागेका थिए । उनले हात उठाएपछि बोल्न दिइएको थियो । सांसदहरू खगराज अधिकारी र सुरेन्द्र पाण्डेले नीति पारित गराउन भोट हाल्न मात्र लगाउन नहुने तर्क गरेका थिए । अधिकारीले भने, 'बैठकमा सांसदहरू बोल्न पाउनुपर्छ ।' पाण्डेले बोल्न नपाउने हो भने भोट हाल्ने खबर दिन मात्र किन बोलाएको भन्दै प्रश्न गरेका थिए । सांसदहरूले माथिबाट निर्देशन दिएको मात्रै सुन्नुपर्ने, आफूहरू बोल्नबाट वञ्चित भएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।


सांसदहरू बोलेपछि दाहाललाई बोल्न दिइएको थियो । उनले सांसदहरूको बोल्न पाउनुपर्छ भन्ने मागको समर्थन गरेका थिए । उनले नीति तथा कार्यक्रमको विशेषता बताएका थिए । गत वर्ष भर्खरै पार्टी एकता भएकाले आफूले नीति कार्यक्रममा धेरै ध्यान दिन नपाएको उनले बताए । 'यसपटक सबै छलफल भएरै तयार भएको हो,' उनले भने । दाहालले बोल्दाबोल्दै प्रधानमन्त्री ओली बैठकमा आएका थिए । ओलीले बोल्ने क्रममा नीति तथा कार्यक्रम उत्कृष्ट भएको बताएका थिए । नेपालको विकास प्रयास देखेर विदेशीहरू चकित परेको भन्दै उनले समाजवादमा कोही जनता भोकै नहुने दाबी गरेका थिए । उनले नीति तथा कार्यक्रममा 'मेरो सरकार' भन्ने शब्दावली विदेशमा पनि राष्ट्रध्यक्षले प्रयोग गरेको प्रसंग जोडदै भनेका थिए, 'यो अन्तर्राष्ट्रिय चलन हो ।' उनले करिब पौने एक घण्टा बोलेका थिए । 'सार्वभौम जनता हो, जनताले चुनेको सरकार र राष्ट्रपतिले मेरो सरकार भन्नु उचित छ,' उनको तर्क थियो ।


संसद्‌मा आइतबारदेखि नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची छ ।

प्रकाशित : वैशाख २१, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?