कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिमेन्टले बढायो हरितगृह ग्यास उत्सर्जन

काठमाडौँ — नेपालमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढेको छ । यसअघि हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशत रहेको थियो । कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडलगायतलाई हरितगृह ग्यास भनिन्छ । 

सिमेन्टले बढायो हरितगृह ग्यास उत्सर्जन

राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारले हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएकाले नखाएको विष लागेको र जलवायुजन्य प्रकोपका घटना बेहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायमाझ आवाज उठाइरहेका बेला नेपालले गर्ने उत्सर्जनको मात्रा बढेको देखिएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसी) को सचिवालयलाई बुझाउनुपर्ने तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन (थर्ड नेसनल कम्युनिकेसन रिपोर्ट) तयार गर्नेक्रममा विशेषज्ञहरूले हरितगृह ग्यास उत्सर्जनको मात्रा बढेको उल्लेख गरेका हुन् ।

'ठ्याक्कै तथ्यांक सार्वजनिक गर्न मिल्दैन,' प्रतिवेदन तयार गर्न खटिएका एक विज्ञले कान्तिपुरसित भने, 'मात्रा बढेको छ ।' सन् २०१४ मा यूएनएपसीसीसीको सचिवालयलाई बुझाइएको प्रतिवेदनमा हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशत मात्र रहेको उल्लेख थियो । नेपालले प्रारम्भिक राष्ट्रिय प्रतिवेदन सन् २००४ मा बुझाएको थियो । उक्त प्रतिवेदनमा नेपालले ०.०२५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्ने उल्लेख थियो ।

प्रतिवेदन ग्लोबल इन्भारोमेन्ट फ्यासालिटी -जीईएफ) को करिब ४ लाख १० हजार अमेरिकी डलरको सहयोगमा तयार भइरहेको छ । हरितगृह ग्यास उत्सर्जनमा नेपालको स्थान कस्तो छ भनेर प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यूएनएफसीसीसीका सबै पक्ष मुलुकहरूले यो प्रतिवेदन अनिवार्य बुझाउनुपर्ने हुन्छ ।

विकसित मुलुकहरूले हरेक वर्ष र अति विकसित मुलुकहरू (एलडीसी) ले हरेक चार वर्षमा यो प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । नेपालले सन् २०१९ भित्रै यो प्रतिवेदन बुझाउने तयारी गरेको छ । त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागले तयार पारेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले गोप्य राखेेको छ । उक्त मन्त्रालय यूएनएफसीसीसीको फोकल मन्त्रालय हो । हरितगृह ग्यास -जीएचजी) को इन्भेन्ट्री तयार गर्न खटिएका एक विज्ञका अनुसार उत्सर्जनको मात्रा बढ्नुमा सिमेन्ट कारखाना र सवारी साधन मुख्य कारक देखिएका छन् ।

'बढो सवारी साधन र सिमेन्ट कारखानाले उत्सर्जन गर्ने कार्बन डाइअक्साइडका कारण हरितगृह ग्यास उत्सर्जनको मात्रा बढिरहेको छ,' ती विज्ञले भने, 'विस्तृत विवरण सरकारलाई बुझाइएको प्रतिवेदनमा छ ।' वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने उक्त प्रतिवेदन आफूले अहिलेसम्म हेर्न नपाएको जिकिर गरे । उनले भने, 'अध्ययन नगरी तथ्य/तथ्यांक भन्न सक्दिनँ ।'

पृथ्वीको तापक्रम वृद्धिमा हरितगृह ग्यासको भूमिका महत्त्वपूर्ण छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल -आईपीसीसी) ले तापक्रम वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरितगृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नुपर्ने भनेको छ ।

अति विकसित मुलुकहरू (एनेक्स १) ले बढी मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने गरेका छन् । त्यस्ता ग्यासको मात्रा सन् २०१७ मा सबैभन्दा बढी देखिएको छ । वातावरणमा सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति हुनु अगाडिको समयभन्दा १४६ प्रतिशतले बढेको छ । अनुसन्धानकर्ताहरूले सीएफसी-११ नामक प्रतिबन्धित ग्यास फेरि देखिन थालेको उल्लेख गरेका छन् ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिमा सन् १९९४ मा हस्ताक्षर गरेको थियो । यूएनएफसीसीलाई बुझाउने तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनको मस्यौदालाई अन्तिम रूप दिन छलफल र सुझाव संकलन गरिएको छ । प्रतिवेदन तयार गर्न त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागका प्राध्यापकहरू केदार रिजाल, प्राध्यापक दिनेशराज भुजु, सुदीप ठकुरी, मनकुमार धमला, मदनलाल श्रेष्ठलगायत छन् ।


कार्बन उत्सर्जन सबैभन्दा धेरैै

आईपीसीसीको सन् २०१४ को तथ्यांकअनुसार विश्वमा मानव निर्मित हरितगृह ग्यास उत्सर्जनमा कार्बन डाइअक्साइडको मात्रा धेरै छ । हरितगृह ग्यासहरूमध्ये कार्बन डाइअक्साइडको उत्सर्जन ६५ प्रतिशत छ । यो विशेष गरी औद्योगिक क्षेत्र र जैविक इन्धनको प्रयोगबाट निस्कने गरेको छ । वन क्षेत्र र जमिनको प्रयोगबाट निस्कने कार्बन डाइअक्साइडको प्रतिशत ११ प्रतिशत छ । १६ प्रतिशत मिथेन, नाइट्रस अक्साइड ६ प्रतिशत र फ्लोरिनेटेड ग्यासको २ प्रतिशत योगदान छ ।

उक्त प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने पहिलो मुलुकमा चीन पर्छ । उसले कुल उत्सर्जनको ३० प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्ने गरेको छ । दोस्रो अमेरिका हो । उसले १५ प्रतिशत उत्सर्जन गर्छ ।

युरोपियन युनियन (ईयू) आबद्ध २८ मुलुकहरूले ९ प्रतिशत, भारतले ७ प्रतिशत, रुसले ५, जापानले ४ र अन्य मुलुकहरूले ३० प्रतिशत उत्सर्जन गर्छन् । सन् १९०० देखि कार्बनको उत्सर्जनको ह्वात्तै बढेको देखिन्छ । सन् १९७० देखि कार्बन डाइअक्साइडको उत्सर्जन ९० प्रतिशतले बढेको थियो । जसमा इन्धनको प्रयोग र औद्योगिक क्षेत्रका कारण उत्सर्जन बढेको छ ।

सन् २०१८ मा ऊर्जासँग सम्बन्धिन कार्बन उत्सर्जन १ दशमलव ७ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय ऊर्जा संघले जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?