कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोरम-नयाँ शक्ति एकता भोलि

कुलचन्द्र न्यौपाने

काठमाडौँ — संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

फोरम-नयाँ शक्ति एकता भोलि

एकीकरणको औपचारिक घोषणा भने सोमबार गरिने भएको छ । एकतापछि पार्टीको नाम 'समाजवादी पार्टी नेपाल' राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक भट्टराईले यादवलाई पार्टीको कार्यकारी अध्यक्ष स्वीकार गर्ने भएका छन् ।

पार्टीमा शक्तिशाली संघीय परिषद् बनाउने र त्यसको अध्यक्षमा भट्टराई रहने भएका छन् । यो परिषद्मा एक हजार सदस्य रहनेछन् । स्रोतका अनुसार परिषद्लाई केन्द्रीय कार्यसमितिका निर्णय उल्ट्याउने अधिकार हुनेछ । केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहनेछन् ।

केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ । फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । २०७२ असोज २ मा संविधान जारी भएलगत्तै तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । उनी तत्कालीन माओवादी केन्द्रमा पुष्पकमल दाहालपछिको वरीयतामा थिए । फोरमसँग एकीकरणपछि पनि उनी दोस्रो वरीयतामै रहने छन् ।

दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् । ठूलो सांसद संख्याको हैसियतले संसदीय दलको नेतामा समेत फोरमका अध्यक्ष यादव रहने सहमति बनेको छ ।

नयाँ दलप्रति आमनागरिकको विश्वास नदेखिएको र निर्वाचनमा 'थ्रेसहोल्ड' राखिएपछि भट्टराई दल मर्जर गर्ने बाध्यात्मक परिस्थितिमा पुगेका हुन् ।

नयाँ शक्तिले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकेको छैन । भट्टराई र यादवबीच एकीकरणका लागि लामो समयदेखि छलफल हुँदै आएको थियो । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र जनमुक्ति पार्टीसँग समेत एकैसाथ एकीकरणको पहल गरिएको थियो । राजपाले एकताका लागि फोरम सरकारबाट बाहिरिनुपर्ने 'सर्त' अघि सारेपछि तत्काल एकीकरण हुन नसकेको फोरमसम्बद्ध एक नेताले कान्तिपुरलाई बताए ।


दुई दलबीच एकीकरणको सहमतिपत्रमा हस्ताक्षर हुनुअघि नयाँ शक्तिको बबरमहलस्थित केन्द्रीय कार्यालयमा तीनै दलका -फोरम, राजपा र नयाँ शक्ति) शीर्ष नेतृत्वबीच एकीकरणका विषयमा छलफल भएको थियो । छलफलमा राजपाका तर्फबाट नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारी सहभागी थिए ।

मधेस आन्दोलनक्रममा लगाइएका मुद्दा फिर्ता नभएको र संविधान संशोधनको मागसमेत पूरा नभएको भन्दै राजपा नेताहरूले फोरम अध्यक्ष यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेका थिए । यादवले तत्काल सरकारबाट बाहिरिन अस्वीकार गरेपछि राजपा बिच्किएको हो ।

'हाम्रो पोजिसन नै सरकारबाट फोरम बाहिरिएपछि मात्रै एकीकरण गर्ने भन्ने हो,' राजपा नेता केशव झाले भने, 'त्यसका लागि फोरम तयार नभएपछि तत्काल एकीकरण सम्भव भएन । जुन दिन फोरम सरकारबाट बाहिरिन्छ, त्यसपछि मात्रै एकीकरण हुन सक्छ ।'

फोरम र नयाँ शक्तिका नेताहरूले एकीकरण सहमतिलाई ऐतिहासिक भनेका छन् ।

'समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषण अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ,' यादव र भट्टराईद्वारा हस्ताक्षरित सहमतिमा भनिएको छ ।

प्रकाशित : वैशाख २२, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?