१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जीर्ण पुलले सास्ती

माधव ढुंगाना

भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडकमा निर्माणाधीन दुई पुल वर्षौंदेखि अलपत्र छन् । चालु अवस्थामा रहेका पुराना सिंगल लेनका पुल जीर्ण भएकैले यातायातको चाप थेग्न सक्दैनन् । त्यसैले लुम्बिनी आउजाउ गर्ने पर्यटक घन्टौं जाममा सास्ती खेप्न बाध्य छन् ।

हुलाकी मार्गअन्तर्गत बेथरीनजिक तिनाउ र डन्डापुल ठेकेदार कम्पनीले काम छाडेपछि अलपत्र परेका हुन् । निर्माणका क्रममा तयार गर्नुपर्ने डाइभर्सनको विषयलाई लिएर विवाद भएपछि काम रोकिएको हो । पुनः सञ्चालन गर्ने विषयमा ठेकेदार कम्पनी र आयोजनाबीच जुहारी चलिरहेको छ । 'पुल निर्माण पूरा नहुँदा लुम्बिनीको पर्यटनमा ठूलो असर परेको छ,' एसोसिएसन अफ ट्राभल एजेन्ट, प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष सञ्जय बजिमयले भने, 'पुलको मुखमा घन्टौं जाम हुँदा पर्यटक मारमा छन् । जामले हुने ढिलाइले उडान छुट्ने गरेका छन् ।'


स्थानीय पर्यटन व्यवसायीले वैकल्पिक मार्ग व्यवस्था गरेर पुल छिटो बनाउन माग गर्दै आएका छन् । व्यवसायी बजिमयका अनुसार बेलिबि्रज निर्माण गरेर यातायात सहज बनाउन सकिन्छ । घन्टौंको जामले भारतको बोधगया, सारनाथ र कुशीनगरलगायतबाट आएका श्रद्धालु बढी मारमा छन् ।


पुल बनाउन पप्पु एन्ड वाग्मती जेभीसित ०७१ असार २५ मा सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय बुटवलका अनुसार ०७३ पुस २४ मा निर्माण सम्पन्न हुनुपथ्र्यो । पूरा नभएपछि म्याद थप गरेर ०७५ असार २३ पुर्‍याइएको थियो । त्यसयता काम असरल्ल छ । तिनाउ र दानव नदीको बीच भागमा संरचना बनेका छन् । सडकको दुवै किनारा जोड्नुपर्ने काम बाँकी छ । निर्माणस्थलमा कामदार छैनन् । सडक विभागका प्राविधिक भेटिँदैनन् ।


विभागले निर्माण कम्पनीले म्यादभित्र काम अघि नबढाएको जनाएको छ । 'तोकिएको समयभित्र काम नगरे कारबाही हुने ठेकेदार कम्पनीलाई जानकारी गराएका छौं,' हुलाकी मार्गका आयोजना निर्देशक अशोक तिवारीले भने, 'पुल बनाउँछु भनेर ठेक्का लिने र बीचमै छाड्न पाइँदैन ।' डाइभर्सन बनाउन गाह्रोे परे तत्कालीन आयोजना निर्देशकले ह्युमपाइप र मेसिन उपलब्ध गराइदिने भन्दा पनि ठेकेदार कम्पनीले आलटाल गरेको उनले बताए ।


ठेकेदार कम्पनीले भने पुल निर्माण मात्र आफ्नो काम रहेको, डाइभर्सनको जिम्मा आफ्नो नरहेको दाबी गरेको छ । 'डाइभर्सन बनाउन हुलाकी राजमार्ग निर्देशनालयले दररेट उल्लेख गरी भेरियसन अर्डर पेस गरेको एक वर्ष बितिसक्दा पनि निर्णय हुन सकेन,' पप्पु एण्ड वाग्मती जेभीका निर्देशक विकास झाले भने, 'विभागले सबै दोष ठेकेदार कम्पनीमाथि थुपार्ने गरेको छ ।' पुल जोड्न जमिन खन्दा सडक भासिएर यातायात आवागमन ठप्प हुन सक्ने प्राविधिक समस्या देखाएर निर्माण कम्पनीले काम रोकेको थियो ।


बुद्ध जन्मस्थल लुम्बिनी जान स्थलमार्ग र भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट आएका स्वदेशी र विदेशी यात्रुले सडक प्रयोग गर्ने गर्छन् । यस क्षेत्रको लुम्बिनी करिडोरका उद्योगले पनि कच्चा पदार्थ र उत्पादित सामान ढुवानी गर्ने मुख्य पुल तिनाउ हो । दैनिक सात हजारभन्दा धेरै सवारीसाधन गुड्ने उक्त पुल जीर्ण भइसकेकाले कुनै पनि बेला भत्किने अवस्थामा छ । उक्त पुलमा गाडी गुडदा पुल पूरै हल्लिने गरेको छ ।


डिभिजन सडक कार्यालयका अनुसार ६ करोड २ लाख ५६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको तिनाउ नदीको भौतिक प्रगति ५० प्रतिशत हाराहारी छ । ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको दानव नदी पुलको भौतिक प्रगति ३५ प्रतिशत मात्र छ । हुलाकी सडक आयोजनाले ठेक्का सम्झौता गरेको दुवै पुलको परामर्शदाता बिम कन्सल्ट्यान्ट प्रालि हो ।


पुलको डिजाइनमा कार्यान्वयन गर्दा आउने समस्याबारे अध्ययन नगरिनु र निराकरणको बाटो नखोजिनुले यो समस्या निम्त्याएको हो ।


बुटवल सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले डाइभर्सन निर्माणका लागि ठेकेदार कम्पनीले पेस गरेको दरभाउ अत्यधिक महँगो भएकाले त्यसअनुरूप काम गराउन नसकिने बताए । 'पुल ठेक्का लिनेले डाइभर्सन बनाउने काम मेरो होइन भनेर उम्किन मिल्दैन,' उनले भने, 'उसलाई निर्माण कार्य सात दिनभित्र सुरु नगरे मोबिलाइजेसन बैंक ग्यारेन्टी तान्ने र ठेक्का तोडेर कालो सूचीमा राखेर कारबाही गर्नेतर्फ अघि बढिनेछ ।'

प्रकाशित : वैशाख २२, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?