कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडकले जोडिँदै उत्तरी नाका

जोगबनी-किमाथांका
दक्षिणलाई उत्तरी नाकासँग जोड्ने करिब ३ सय ४० किलोमिटर सडकको केही किलोमिटर मात्र खुल्न बाँकी छ । सडक पूरा भएर व्यवस्थित बनेपछि आर्थिक गतिविधि तीव्र रुपमा बढ्ने आशा गरिएको छ । 

विराटनगर र संखुवासभा — चट्टानी पहरा फोरेर ट्रयाक खोल्ने काम सकिएपछि चाँडै जोगबनी-किमाथांका मार्ग जोडिने छ । सडकले सोझै चीनको सीमा छुनेछ । अर्थमन्त्री युवराज खतिवडाले बीचको अप्ठ्यारो भूगोलका कारण विलम्ब भएको सडकको काम सेनाको सहयोगमा अघि बढाएर चाँडै किमाथांका जोड्ने बताएका छन् ।

सडकले जोडिँदै उत्तरी नाका

अघिल्लो साता विराटनगरमा आयोजित कार्यक्रममा उनले सकेसम्म चाँडो ट्रयाक खुलाएर किमाथांकामा भन्सार विन्दु स्थापना गर्ने जानकारी दिएका थिए । भन्सार विन्दु स्थापनापछि चीनसँग व्यापारिक कारोबार सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताए ।


संघीय सरकारले बजेट प्रस्तुत गर्ने क्रममा छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्षभित्र सक्ने घोषणा गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले यो सडकलाई उच्च महत्त्व दिएका छन् । उद्योगी-व्यवसायीलगायत सरोकारवालाले चीनसँग सोझै सडक जोडिएर नयाँ नाका खुल्नु उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।


जोगबनी-किमाथांका सडक मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको छ । व्यापारिक महत्त्वको यो सडक मोरङको रानीस्थित जोगबनी सीमादेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणलाई उत्तरी नाकासँग जोड्ने करिब ३ सय ४० किलोमिटर सडकको केही किलोमिटर मात्र खुल्न बाँकी छ । सडक पूरा भएर व्यवस्थित बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने आशा गरिएको छ ।

स्थानीय उत्साहित संखुवासभाको भोटखोला गाउँपालिका हटियाका थुदोक भोटेको दिनचर्या अचेल फेरिएको छ । पहिले हटियाबाट सदरमुकाम खाँदबारी आउनुपर्दा उनलाई तीन दिन कस्सिएर हिँड्नुपथ्र्यो । अचेल घरसम्म मोटरसाइकलमा पुग्छ । सडक बनेपछि मोटरसाइकलबाट आउजाउ गर्न थालेका छन् ।


हेदांनाका देउमान राई पनि गाउँमा कच्ची सडक पुगेपछि सदरमुकाम खाँदबारीसम्म आउजाउ गर्न सहज भएको बताउँछन् । एक दिन लगाएर हिँडेर राई सदरमुकाम आउने गर्थे । उत्तरी गाउँमा कच्ची सडकले जोडिएपछि गाडी चल्न थालेका छन् । यो सहजता जोगबनी-किमाथांका सडकका कारण सम्भव भएको हो ।


ट्रयाक्टर, साना जिप र मोटरसाइकलले भोटखोलावासीको दिनचर्या बदलिएको छ । कच्ची सडक भए पनि हिउँदका बेला १ सय १३ किलोमिटरसम्म साना सवारी साधन र ट्रयाक्टर गुड्छन् । मकालु र भोटखोला गाउँपालिकाका बासिन्दा घरछेउसम्म सडक आइपुगेपछि उत्साहित बनेका छन् ।


थुदोकले नियमित यातायातका साधन चलेपछि सदरमुकाम आउजाउमा सजिलो हुनुका साथै उपभोग्य सामान गाडीबाटै ढुवानी गर्न थालिएको बताए । 'पहिले खच्चडमा बोकाएर सामान ल्याउनुपथ्र्यो,' उनले भने, 'ढुवानी भाडा महँगो थियो, गाडीमा सामान ढुवानी हुन थालेपछि सजिलो र सस्तो भएको छ ।'


चल्न थाले साना साधन

गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म हिउँद र वषर्ामा समेत साना जिपबाट सेवा दिएका छन् । हटिया भोटखोलाको दुर्गम क्षेत्र मानिन्छ । 'यातायातका साधन चल्न थालेकाले अन्यत्र आउजाउ गर्न सजिलो भएको छ,' पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले भने, 'सडकलाई थप व्यवस्थित बनाउनुपर्छ ।'


खाँदबारी-नुम खण्डमा दैनिक ठूला-साना गरी दुई दर्जनभन्दा बढी सवारीसाधन चल्ने गरेका छन् । गाउँपालिकाले अघिल्लै वर्ष अधिकांश गाउँमा पुग्ने गरी सडक बनाएको छ । कतिपय स्थानमा साँघुरो सडक भएकाले कठिनाइ छ । क्रमैसँग व्यवस्थित गर्दै लैजाने पालिकाले जनाएको छ ।


यो सडक निर्माणमा काम गरिरहेको उत्तर दक्षिण कोसी योजनाले संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय ३३ किलोमिटर र किमाथांकाबाट १० किलोमिटर कच्ची सडक निर्माण भइसकेको जनाएको छ । अब १४ किलोमिटर सडक छिचोलिएपछि किमाथांका जोडिनेछ । २०६५ सालमा खाँदबारीमा स्थापना भएको योजनाले खाँदबारीदेखि किमाथांका नाकासम्मको सडकको कामलाई पछिल्लो समय तीव्रता दिएको छ ।


१४ किलोमिटर खुल्न बाँकी

खाँदबारी-किमाथांकाको दूरी १ सय ६२ किलोमिटर छ । त्यसमध्ये १ सय ४४ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको योजनाका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले खाँदबारी-किमाथांका सडकको काम तीव्र गतिमा भइरहेको छ । १४ किमि सडकका लागि चट्टानी क्षेत्रमा विस्फोट गराएर ट्रयाक खोल्नुपर्ने छ । यो कामका लागि विस्फोटक पदार्थ राख्न चेपुवाको च्याम्ताङमा बंकर निर्माण भइरहेको छ । 'विस्फोटक पदार्थ सहज उपलब्ध भए किमाथांका तुरुन्तै जोडिनेछ,' इन्जिनियर श्रेष्ठले भने, 'भीर विस्फोटको काम सुरु गर्ने प्रक्रियामा छौं ।'


हिउँदमा १ सय १३ किमि सडक खण्डसम्म ट्रयाक्टर र अरू साना साधन पुगेको उनले बताए । 'खाँदबारीबाट हटियाको हुङगुङसम्म सहज ढंगले यातायात सञ्चालन भएको थियो,' श्रेष्ठले भने, 'वर्षाका बेला सदरमुकामबाट सिम्बुङसम्म ८४ किमिमा गाडी चल्ने गरेको छ ।'


कोसी सडक योजनाले हटियाबाट च्याम्ताङसम्म ट्रयाक खोलेर त्यसलाई चौडा बनाइरहेको छ । हटियाको सिम्बुङबाट टेवा पर्खाल र कल्भर्ट निर्माणलाई तीव्रता दिएको श्रेष्ठले बताए । 'खाँदबारीबाट चिचिला गाउँपालिकासम्म ग्राभेलको कामलाई पनि निरन्तरता दिइरहेका छौं,' उनले भने, 'चिचिलाकै देउरालीबाट मकालुको फ्याक्सिन्दा दोभानसम्म स्तरोन्नति भइरहेको छ ।' खाँदबारीको लभिङहिलबाट मकालुको फ्याक्सिन्दासम्मको सडक खण्डलाई कालोपत्रे गर्ने तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । फ्याक्सिन्दाबाट बरुणसम्म ९ वटा पक्की पुल पनि धमाधम बनिरहेको छ ।


बरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चारवटा भाग छुट्याएर काम भइरहेको छ । इन्जिनियर श्रेष्ठका अनुसार बरुण-सिम्बुङ, सिम्बुङ-हटिया, लिंगगम-चेपुवा, चेपुवा-हुङहुङमा गजुरमुखी-मोतिदान-गीताञ्जली कन्स्ट्रक्सन -जेभी) ले काम गरिरहेको छ । किमाथांकादेखि चेपुवा आउने सडकखण्डको ट्रयाक ओपन शर्मा एपेक्स कान्छाराम कन्स्ट्रक्सनले गरिरहेको छ । कार्यालयका अनुसार सडक निर्माणमा अहिलेसम्म २ अर्ब ११ करोड खर्च भएको छ । यो वर्ष ४७ करोड बजेट विनियोजन भएको छ ।


किमाथांकासम्म नाका खोल्नका लागि चेपुवादेखि किमाथांकाबीचमा पर्ने शंखेभीरमा ६ किलोमिटर, महभीरमा ५ किलोमिटर सडक र आसपासका साना-साना अन्य भीरको कारणले ट्रयाक खोल्न अलि कठिनाइ देखिएको छ । ठूल्ठूला भीर र चट्टान भएकाले समय लागेको हो ।


उद्योग वाणिज्य महासंघका उद्योग तथा वाणिज्यतर्फका केन्द्रीय उपाध्यक्ष किशोरकुमार प्रधान ट्रयाक खुल्नुमात्र पर्याप्त नभएको बताउँछन् । 'धनकुटासम्म सडक ठिकै छ,' उनले भने, 'त्यसउता ढुवानीका ठूला साधन आउजाउ गर्न सजिलो छैन ।' प्रधानका अनुसार माथिल्लो क्षेत्रको सडक निकै साँघुरो छ । यसले गर्दा चीनबाट आउन सक्ने ठूलो भार क्षमताका साधन आउन कठिनाइ हुनेछ । 'नाकाबाट यता कम्तीमा ४ लेनको व्यवस्थित सडक हुर्नैपर्छ,' प्रधानले भने, 'यसका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्छ ।'


व्यापार बढ्ने आशा

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको चीन सीमासम्म जोडिने यो सडक खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा बिगि्रए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ ।


सडक निर्माणले नेपालको व्यापार विस्तार हुने आशा गरिएको छ । चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन् । किमाथांकाबाट तिब्बतको ल्हासा र व्यापारिक सहर सिगात्से छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन् । किमाथांका नाकाबाट सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।


विराटनगरका अर्थशास्त्री पीके झा किमाथांका सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशसँग जोडिनसक्ने सम्भावना औंल्याउँछन् । यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकातानजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्ने उनले बताए ।


किमाथांका सडक निर्माणमा जोड दिँदै आएका उद्योगी-व्यवसायीले केही समयअघि त्यस क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । 'उत्तरी नाका सडकले जोडिनु फाइदाजनक हो,' मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा भन्छन्, 'मुलुककै लागि यो सडक कोसेढुंगा बन्नेछ ।' यो सडकमार्फत हुन सक्ने व्यापारिक सम्भावनाका क्षेत्रबारे उद्योगी-व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल भई अध्ययन गर्ने तयारी भइरहेको उनले बताए । दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि फाइदा लिनसक्ने उनको बुझाइ छ ।


संखुवासभाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमका अनुसार 'त्रिदेशीय लिंक' का रूपमा रहेको यो सडकलाई सरकारले विशेष महत्त्व दिएको छ । 'यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक हो,' उनले भने, 'सडक पूरा भएर व्यवस्थित भएपछि व्यापारिक गतिविधि ह्वात्तै बढ्ने छ ।'

प्रकाशित : वैशाख २२, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?