फोरम–नयाँ शक्ति एकीकरण : वैकल्पिक शक्ति बन्ने चुनौति

गंगा बीसी

काठमाडौँ — वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भएको छ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका छन् ।  


यी दुई पार्टीको एकीकरणपछि यो तेस्रो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ। संघीय समाजवादी फोरम सरकारमा भएकै बेला यी दुई दलबीच एकीकरण भएको हो। यी दुई दलका अधिकांश नेता कम्युनिस्ट पृष्ठभूमिका छन्।

‘यो प्रगतिशील पार्टी हो। यो कम्युनिस्ट जस्तो पनि होइन, परम्परागत कांग्रेस पार्टी जस्तो होइन,’ नवगठित समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले भने, ‘यो वैकल्पिक राजनीतिक शक्ति हो।’

यो दलले राजनीतिक समावेशीताको मुद्दालाई प्रमुखताका साथ उठाउने नीति लिएको छ। त्यसका लागि सरकार, सदन र सडकमा संघर्ष गर्ने नीति लिने छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक, क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रि गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ,’ सहमतिपछि भट्टराई र यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

समाजवादी पार्टीको आगामी बाटो कस्तो हुने? तत्कालीन रुपमा समावेशीको मुद्दा लिएर संविधान संशोधनको मुद्दा अघि बढाउने भएको छ। ‘पार्टीले तत्कालीन अवस्थामा सबै असमानता र विभेदको अन्त्यका लागि संविधान संशोधनको मुद्दा अघि बढाइने छ,’ नेता गंगा श्रेष्ठले पार्टी एकीकरणको सहमति लगत्तै बताए। यो दलले भनेजस्तो संविधान संशोधन हुन सहज भने छैन।

नेकपा सहमत नभएसम्म संविधान संशोधन हुन मुस्किल हुनेछ। कांग्रेस संविधान संशोधनको पक्षमा छैन। नेकपाले संविधान संशोधन विरोध नगरे पनि यसका लागि ऊ सहजै तयार हुने अवस्था देखिँदैन। यो दलले समानता, विभेदको अन्त्यका लागि संविधान संशोधन प्रमुख मुद्दा बनाउने स्पष्ट संकेत देखिएको छ।

सरकारमा सहभागी भएकै अवस्थामा संविधान संशोधनको विषय चर्काउन गाह्रो हुने छ। फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्। सरकारमा रहेरै संविधान संशोधनका लागि दवाव दिने समझदारी पार्टी एकीकरण अघि भएको छ। सरकार छाड्ने, नछाड्नेबारे अहिले नै निर्णय भइनसकेको नेता राईले बताए।

‘सरकार छाड्ने, नछाड्ने विषयमा अहिले कुनै निर्णय भएकै छैन,’ उनले भने, ‘यसबारे पछि छलफल होला।’

सरकारमा बसेर वैकल्पिक धार तयार गर्न नसकिने नयाँ शक्ति पार्टीका नेताको बुझाइ छ। नेकपा र कांग्रेसभन्दा अलग धार तयार गर्न सरकारभन्दा सडक र सदन संघर्ष प्रभावकारी हुने नेताहरुको बुझाइ छ। समाजवादी पार्टी अब सरकार छाड्ने बाटोमा अघि बढ्ने देखिन्छ।

यो एकीकरणले खासगरी नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अलि बढी राहत दिने छ। यसअघि एक सिट लिएर संसदको प्रतिनिधित्व गरेका भट्टराई १७ सिट भएको पार्टीको नेताको हैसियतले आफ्नो एजेण्डा राख्ने छन्। संसदमा उनी अब पछिल्लो सिटबाट अघि बढ्ने छन्। उनको राजनीतिक यात्रा सायद पहिलेभन्दा अघि बढ्ने छ।

२०७२ मा तत्कालीन माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले गत निर्वाचनमा भनेजस्तो सफलता प्राप्त गर्न सकेनन्। वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा आफू मात्र लागेर नहुने निश्कर्ष सहित संघीय समाजवादी फोरमसँग वार्ता अघि बढाए। एकवर्ष अघिदेखि भएको यो प्रयास शनिबार सफल भयो।

‘नेकपा र कांग्रेसबाहेक अन्य शक्तिसँग एकताको प्रयास जारी रहनेछ। वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान चलिरहने छ,’ नेता श्रेष्ठले भने। यी दुई दलबीच एकीकरण हुनु अघि राष्ट्रिय जनता पार्टी (राजपा) सँग पनि वार्ता भएको थियो।

समाजवादी फोरमले उठाउने मुद्दा प्रगतिशील प्रकृतिका हुनेछन्। यो पार्टीले आर्थिक समृद्धिसग जोडेर अघि बढ्ने नीति लिएको छ।

नेकपाको निर्माण भएपछि उत्पन्न राजनीतिक अवस्था चिर्न समाजवादी पार्टीलाई सहज छैन। नेकपा सरकारको सुस्त गति, कामकार्वाहीमा वेथिति, कार्यशैलीमा सामन्तवादी गन्ध, अलोकतान्त्रिक चरित्र बढ्दै गए समाजवादी पार्टीका लागि धरातल बन्ने छ। नेकपा आफैंमा लिबरल वामपन्थी दल हो, यसले लिने नीति समाजवाद उन्मुख हुने भनिए पनि यही व्यवस्थाभित्र खोजिने छन्। जुन अरु दलले पनि उठाइरहेकै छन्।

कुनै बेला मधेसी जनअधिकार फोरमलाई मधेस केन्द्रित दलको रुपमा चिनिन्थ्यो। तत्कालीन एमालेबाट बाहिरिएका अशोक राईसँग एकता गरेपछि संघीय समाजवादी फोरम बन्यो।

मधेसबाट यो पार्टी पहाडतिर विस्तार भयो। यो मधेसमा मात्र केन्द्रित भएन, अरु क्षेत्रतिर जरा फैलायो। नयाँ शक्ति पार्टीसँग एकीकरण भएपछि यो राष्ट्रिय पार्टीको रुपमा रुपान्तरण भएको छ। देशभर संगठन भएको पार्टी हुनेछ।

यो पार्टीमा दुई अध्यक्ष हुनेछन्, अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव। भट्टराईले संघीय परिषद्को अध्यक्षता गर्ने छन् भने यादवले केन्द्रीय समितिको। फोरमका १६ र नयाँ शक्तिका ९ गरी २५ सदस्यीय पदाधिकारी हुने छन्। संघीय परिषद् करिब एक हजार जनाको र केन्द्रीय समिति करिब साढे तीन सयजना हुने छ। एकीकरणको सहमति भएपछि दुबै पार्टी भंग भई समाजवादी पार्टीमा रुपान्तरण भएका छन्।

संसदको प्रतिनिधि सभामा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन्। राष्ट्रियसभामा फोरमका दुई सांसद छन्। फोरमको नेतृत्वमा प्रदेश २ मा प्रदेश सरकार छ।

कांग्रेसले खरो प्रतिपक्षको भूमिका निभाउन नसकिरहेको अवस्थामा समाजवादी पार्टी सरकारबाट बाहिरिएर त्यो भूमिका खेल्न सक्छ। त्यसलाई राष्ट्रिय जनता पार्टीले साथ दिने छ। सरकारको काम प्रभावकारी हुन नसक्दा प्रतिपक्ष दललाई बढी मौका हुन्छ। त्यो मौका समाजवादी फोरमलगायत दलले लिन सक्छन्।

प्रकाशित : वैशाख २२, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गोरेटाहरू मेटिएछन्, गौँडाहरू भत्किएछन्

गंगा बीसी

काठमाडौँ —  अहिले नुन, सुन, लत्ताकपडालगायत लिन १२, १३ दिन पैदल हिँडेर नेपालगन्ज जानुपर्ने अवस्था छैन  । चालीसको दशकको मध्यसम्म नुन लिन रुकुमबाट नेपालगन्ज हाट गइन्थ्यो  ।

त्यसपछि आठ दिन पैदल हिँडेर सुर्खेतको छिन्चु, ६ दिन हिँडेर सल्यानको बोटेचौर गएर हाम्रा बाबा, काकाहरूले नुन ल्याए । सल्यानको शीतलपाटी, बरला नुन लिन पाँच दिन लागाए । हाट गर्ने टाढा जाने दिन घट्दै गए । सडक नजिकिंदै आयो, नुन पनि नजिक आयो । नेपालगन्जसँगको नुन, सुन र लत्ताकपडाको साइनो अब लगभग टुट्यो । अहिले अरू नै साइनो छ । मेरा बा अहिले पनि नेपालगन्ज पुग्दा निःशुल्क बसेका धर्मशाला सम्झन्छन् । त्यो नुन, सुन, कपडा घिउसँग साटेको साइनो हो ।


कसरी बिर्सनु ती दिन, जहाँ घिउसँंग नुन र सुन साटिएको थियो । १३ दिन पैदल हिँडेर नुन, सुन र कपडा ल्याएको गोरेटो अब छैन । त्यसबेलाका ती पदचाप परेका गोरेटा केवल सम्झनामा मात्र छन् । रुकुम नेपालगन्ज हिँडेका तीन दिन अब बा र उनका साथीहरूसँग मात्र बाँकी छन् । ती दिन साँच्चिकै जीवन्त र कठिन थिए भन्छन् बा । नुन लिन नेपालगन्ज जाने बेला झाडापखाला लागेर मृत्यु भएका हटारुको सत्यकथा बाले सुनाउँथे । नुन लिन नेपालगन्ज एक मात्र विकल्प थियो । घिउका टिन बाकेर नेपालगञ्ज जानु अनि नुन, सुन र लत्ताकपडा लिएर फर्कनु हरेक वर्षको हिउँदको बेला हुन्थ्यो । हाट जानुअघि तेल घसेर तिघ्रा बलियो बनाइन्थ्यो । हाट जाँदा खुट्टा सद्दे भइरहोस् भन्ने प्रार्थाना गरिन्थ्यो । त्यसबेलाका हटारु गाउँका हिरो हुन् । हटारुबिनाको घर नुनबिनाको तरकारीजस्तै हुन्थ्यो ।


ढिकेनुनको बोरा बोकेर बाबाको हटारु टोली करिब दुई साता लगाएर फर्कन्थे । जब हटारु गाउँ फर्कन्थे, माहोलै बेग्लै हुन्थ्यो । गाउँ पुग्नुअघि बिर्सौना हुन्थ्यो, हटारुहरू त्यहींबाट घर पुगेको संकेत गर्थै । हाट गएको घरमा मीठोमसिनो पाक्थ्यो । किनकि ढिकेनुन, सुन, जिरा मसला, मट्टीतेल, लत्ताकपडा कोसेली लिएर आउने हटारुको घरमा भव्य स्वागत हुन्थ्यो । अहिलेजस्तो बिजुली नभए पनि घर उज्यालो भएजस्तै हुन्थ्यो । घर पुगेपछि हटारु हिरोजस्तै हुन्थे । जति किलोग्राम धेरै नुन ल्यायो, ऊ त्यति बहादुर मानिन्थ्यो । गाउँभर चर्चा हुने नै भयो । आखिर त्यति टाढा हाट गर्न जाने अवस्था सडकले गराएको थियो । अहिले त केको हाट जानु ? घर आगनमै नुनको पोका आइपुगेको छ । अब न हाट जाने अवस्था रह्यो, न हटारु । केही औंलामा गन्न सकिने पूर्वहटारु मात्र छन् ।


हामी फुच्चेहरू बा हाटबाट घर फर्केको दिन खुसीले नाच्थ्यौं । हाटबाट केही न केही चीज आएको हुन्थ्यो । केही नल्याए पनि कम्तीमा मुख गुलियो पार्ने गुड (सक्खर) खान पाइन्थ्यो । घरभरि केटाकेटी भएकाले हाटबाट ल्याउने ठूलो अपेक्षा हुँदैनथ्यो । केही गरी जुत्ता ल्याइदिएमा भने भुइँमा खुट्टा हुँदैनथ्यो । नयाँ जुत्ता देखाउन पूरै बिहानभरि गाउँ घुमिन्थ्यो । ती दिन साँच्चिकै रहरलाग्दा थिए । एउटा जुत्ता पाएमा, सानो खेलौना वा अरू कुनै चीज पाएमा संसारै खुसी हुन्थ्यो । हाल काठमाडौंबाट गाडीबाटै गए पनि बढीमा २४ घण्टामा रुकुम पुग्न सकिन्छ । नेपाल वायु सेवा निगमको जहाजबाट उडेर सवा घण्टामा रुकुम पुग्न सकिन्छ । रुकुमबाट ६ घण्टामा गाडी चढेर नेपालगन्ज पुगिन्छ । सडकले जोड्यो, बाटो छोटो भयो । यात्रा सहज छ । अहिले पश्चिम रुकुमका सबै गाउँमा गाडी पुगेको छ, घर गोठ नजिकै मोटरसाइकल राखेको देखिन्छ । कतिपयले भैंसी बेचेर त्यही गोठमा मोटरसाइकल पार्क गरेका देखिन्छ । अहिले सडक क्रान्ति नै देखिन्छ त्यहाँ ।

चैतको दोस्रो साता काठमाडौं विमानस्थलको धावनमार्गमा गुडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज फर्कार्एर ह्याङ्गर पुर्‍याएर मर्मत गरेपछि रुकुमतिर लाग्यो । काठमाडौंमा बाक्लो तुवाँलो थियो, अरू जहाज तुवाँलो फाट्ने प्रतीक्षामा थिए । नेपाल वायुसेवाको जहाज भने उड्यो । मध्यपहाडी जिल्लाहरू नुवाकोट, गोरखा, अर्घाखाँचीलगायत आधा दर्जन जिल्ला पार गरेर रुकुम पश्चिम चौरजहारी पुग्नु छ । पहाड छल्दै चालकले उडाइहेका थिए । ‘पाइलटले आफू ढुक्क भएरै उडाएका होलान् नि । म बेकारमा किन डराउनु ?’ मनलाई शान्त मार्दै मनकुरा गरे । मेरो नजिक बसेका केटा एयर होस्टेसतिर हेर्छु, उनी ढुक्कसँग बसेका छन् । उनको पेसानै यस्तै । हामीजस्तो डराएर साध्य छैन । ‘जहाज त तुवाँलो झल्दै पहाडको बीचबाट गइरहेको छ, कस्तो सिपालु पाइलट ?’ मैले कुरा गर्ने मेलो निकाले । ती केटा एयर होस्टेसले भने, ‘यो मौसम ठीकै हो । योभन्दा खराब मौसमा उड्नुपर्छ ।’ उनले त्यही दिन जुम्ला, डोल्पा, साँफेबगर पुगेर नेपालगन्ज फर्कने गर्ने सुनाउन भ्याए । मलाई भने चौरजहारी कतिबेला पुगौंजस्तो भइरहेको थियो ।


काठमाडौंबाट उडेको जहाज मध्यपहाडको तुवाँलो छल्दै करिब सवा घण्टा बढीको यात्रापछि पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा आर्लिएपछि ‘क्याप्टेन सर, धन्यवाद’ भन्न कटपिटमा पुगेछु । उनले हाँस्दै भने, ‘तपाईं बढी डराउनुभएको थियोजस्तो लाग्यो ।’ जहाजमा जम्मा ६ जना यात्रु । अरू सबै महिला र बूढाबूढी मात्रै थिए । जहाज चौरजहारीबाट एक जना यात्रु टिपेर नेपालगन्ज उड्यो । निजी कम्पनीका वायु सेवा फाइदा हुने रुटमा मात्र चल्छन्, सरकारीले दुर्गममा सेवा पनि दिन्छन् । थोरै यात्रु हुँदा पनि दुर्गममा सेवा दिन्छन् । माथि गाउँबाट सरोज भाइ मोटरसाइकल लिएर मलाई लिफ्ट दिन चौरजहारी आएका थिए । सरकारले मध्यपहाडी राजमार्गमा निर्माण गर्न लागेका १० स्मार्ट सिटीमध्ये चौरजहारी पनि एक हो । तीव्र गतिमा पक्की भवन बन्ने क्रम चलेको छ । तराईको झल्को दिने गरी भाडाका अटोरिक्साको ताँती लागिसकेछन् । सरोजको मोटरसाइकलको तीव्र गति देखेर मैले भनें, ‘बाबु, बिस्तारै जाऔं । घर पुग्न हतार छैन ।’


गाउँ जान पाउँदा खुसी हुने दिन पनि आए अहिले । गाउँबाट सहरतिर जानु सामान्य भइसक्यो । सहर गाउँ पसेको होइन, गाउँ विकास हुन थालेका हुन् । सहरका कुरा गाउँ जाँदै छन्, बरु गाउँका कुरा सहर आउन मुस्किल । मान्छेचाहिँ सकीनसकी सहर पस्न खोज्दै छन् । जसरी सहर जबरजस्त गाउँलाई प्रभाव पार्न खोजेको देखिन्छ । गाउँलाई विकसित गर्नुपर्छ, सबै गाउँलाई सहर बनाउने होइन, सुविधासहितको मौलिकता दिनु राम्रो हुनेछ । गाउँ जान दसैँ, तिहार आउनुपर्छ भन्ने छैन । तर, चलन त्यस्तै बनेको छ, गाउँ जान दसैं तिहार आउनुपर्छ । दसैँ र तिहारले सहरका मान्छेलाई चुम्बकले तानेझैं गाउँ लैजान्छ । केही दिन ‘हेलो हाई’ पछि उनीहरू व्यस्त सहर फर्कन्छन् । प्रायः दसैँमा मात्र घर जाने भएकाले होला, आमाले भन्नुभयो, ‘यो बेला घर आउने अरू काम थियो कि भेटघाट मात्रै ।’ मिसन भेटघाट मात्रै थियो । ७५ वर्ष पुगेका बाआमा र नातेदारसँगको भेटघाट रिन्यु गर्ने धोको पूरा भयो ।

कालापहाड (हिमाञ्चल पहाड, भारत) जाने घटेका छन् । खाडी जाने बढेका छन् । गाउँ थोरबहुत नगद भित्रिएको छ । अब पाखो र केही खेतको उब्जनीमा भर पर्नुपर्ने अवस्था छैन । विदेशको कमाइले घरमा बस्नेहरूलाई अल्छी बनाइदिएको छ । १० वर्षे युद्धले थला पारेको रुकुममा विकासका लहरले अहिले नै ‘गाउँबाट भागिहालौं’ भन्ने अवस्था छैन । गाउँमा केही इलम वा जागिर भए गाउँमा सुगन्ध भरिन्छ ।


यसपटक गाउँघर जाँदा थाहा भयो, केही वर्ष अघि हिंडेका गोरेटाहरू मेटिइँदै गएका रहेछन् । गोरेटा नरहे त्यहाँ हिंड्ने चाहना पूरा हुन गाह्रो हुनेछ । गाउँगाउँमा सडक पुगेपछि गोरेटो को हिंडोस् ? कहिलेकसो गाउँ जानेहरूले याद गर्ने हो, त्यो ठाउँमा गोरेटो बाटो थियो, अहिले धेरै गोरेटा मेटिएछन् । धेरै गोरेटा बाटाहरू हराइसकेछन्, सडक नपुगेका ठाउँमा जंगलले छोपिसकेछ ।


कुन ठाउँको गोरेटोमा कस्ता गौंडो थियो, सबै याद छ अहिले पनि । तर गोरेटा नै नरहेपछि ती गौंडाहरू पनि भत्किसकेछन् । सानोमा पानी र अरू भारी बोकेर हिंड्दा गौंडा काट्नुपर्दा सास्ती भोगेका सम्झनाहरू अहिले पनि छन् । यस पटक गाउँ जाँदा सानोमा हिंडेका थोरै गौंडाहरू मात्र भेटिए, धेरै हराइसकेछन् । गाउँमा धेरै गौंडा हुनु भनेको दुःख भोग्नु पनि हो । उकाली, ओराली गर्दा जति धेरै गौंडा उति धेरै समस्या पर्थ्यो । उकालो र ओरालो गर्दा यति गौंडा काटियो भनेर गणना नै हुन्थ्यो । यो सन्दर्भमा गायक प्रेमध्वज प्रधानले सन् १९६२ मा गाएको गीत अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छ ।

गोरेटो त्यो गाउँको लौ न आज, खोजी खोजी थाके नि,
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
एकलास वन माझ, बिराएँ बाटो आज, अलमलिए लौ न म त...
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
गाउँतिर अहिले मोटरसाइकल वा गाडीमा कति घुम्ती छन् भन्न थालिएको छ । कहिलै गाडी नदेखेका बूढापाकाहरू गाउँमा गाडी देखेर भन्दै छन्, गाडी त आयो । ल्याउने, नल्याउने चीज बोकेर आयो । गाउँमा गाडी मात्र पुगेन, त्यसले चाउचाउ, बिस्कुट, बियर, रक्सी, सोयाबिन मस्यौरा, खानेतेल, ग्यास, पेट्रोललगायत धेरै चीज ल्यायो । गाउँलेहरू मास, चना बेचर चाउचाउ खान थाले, भटमास सस्तोमा बेचेर सोयाबिनको मस्यौरा खाना थाले । बारी खेतमा फलेको धानचामल, गहुँ, मकै, कोदो नखाएर पसलको चामल उपभोग गर्नर् लागे । तोरी बेचेर सहरतिरबाट गएको तेल किनेर खाने बानी बस्यो । दहीभन्दा कोकमा बानी पर्दै गयो । अरू धेर्र कुरामा बानी फेरिंदै गयो ।


आम्दानीको भरपर्दो स्रोत नभए पनि महँगो मोटरसाइकल किन्नु सान ठानिन्छ । मोटरसाइकलमा हुइँकेर पुग्ने आखिर त्यही परको बजार हो । बानी बिग्रिइसकेका होइन, खाने बानीमा फेरिएको हो । बानी सुधार गर्न ढिला भइसकेको छैन । सहर भित्र्याउन होइन, मौलिकता जोगाउने मुख्य काम हुनुपर्ने हो ।सडक पुगेपछि उकाली–ओरालीको दुःख भुल्नु स्वाभाविक हो । आफ्नै बारी खेतको खानेकुरा भुल्नुचाहिँ अर्को भूल हो । चौरजहारीमा एक दशकभन्दा बढी पसल गर्दै आएका शशिराम रोकाय सडकसँगै बजार माथिमाथि सर्दै गएको सुनाए । मान्छेको आनीबानी फेरिएको बताए । ‘सडकले नै बजार सार्दै लैजाँदो रहेछ, माथिमाथि सडक गएसँगै व्यापार पनि उतै सर्‍यो,’ उनले भने ।


मान्छेको बानी फेरिएको हो कि बिग्रिएको ? उनी भन्छन्, ‘सजिलै किन्न पाइने भएपछि के भन्ने ? किनेर मसिनो खाने बानी बस्यो । अलिअलि बानी पनि बिग्रियो ।’ पढेका जति सबैले जागिर खोज्न थालेपछि अरू खेतीपातीको काम कसले गर्ने ? पढेर जागिरै गर्नुपर्छ भन्ने मान्यताले घर गरेपछि अन्य पेसा गरेर खाने कम छन् । ‘आफ्नो पेसा गरेर खानुपर्छ भन्ने कम छन् । बाउबाजेले गरेको कृषि पेसाले धानेन भने अन्य काम गर्न सकिन्छ,’ चौरजहारीका समाजसेवी तेजबहादुर बटालाको भनाइ छ, ‘सुविधासहितको हुनुपर्छ आफ्नो मौलिकता त्याग्नुहुँदैन भन्ने उनको बुझाइ छ ।युवाहरूमा सकेसम्म जागिर खाने, विदेश जाने त्यो सम्भव नभए केही न केही आयआर्जनको काम गर्ने प्रयास गरेको देखिन्छ । युवाहरूले घरमै कुखुरा, बाख्रापालन र अन्य नगदेबाली काम गरेको देखिन्छ । आयस्रोतले भ्याएसम्म अन्य व्यवसाय गरेको पाइन्छ । बाउबाजेले गरेको कृषि पेसाले अब गुजारा चल्दैन भन्ने बुझाइ उनीहरूको छ । यसले केही नयाँ काम गर्ने चेतना जगाउनु सकारात्मक पक्ष हो ।


दसैंतिहारबाहेक अरू बेला गाउँ पुग्दा खासगरी बूढापाकाहरूले प्रश्न गर्छन्, के कामले गाउँ आयौ ?’ दसैंतिहारमा गाउँ जानुपर्छ, अरू बेला नगए पनि हुन्छ भन्ने आम बुझाइले यस्तो प्रश्न आएको होला । गाउँमा भेटिने जोसुकै बूढापाकाहरू खुसी व्यक्त गर्छन्, ‘आउँदै गरे, माया नमारे ।’अब स्थानीय सरकार गाउँमै छ । जनताका कुरा सुन्ने जनप्रतिनिधि छन् । जनताको कुरा सुन्नु नसुन्नु अर्कै कुरा हो । गुनासा र अपेक्षा थामिनसक्नु छन् जनप्रतिनिधिलाई । काम भएको छ । विकास हार्डवेयरमा बढी देखिन्छ । मुख्यगरी बाटाघाटाका काम जताततै देखिन्छ । विकास भनेको सडक होझैं लाग्छ त्यता पुग्दा । सफ्टवेयर अर्थात् चेतनाको काम बाँकी छ । चौरजहारी नगरपालिकाको प्राथमिकता भने अर्कै रहेछ । ‘शिक्षा, स्वास्थ्य, कृषि उत्पादनलाई मुख्य योजना बनाएका छौं,’ मेयर विशाल शर्माले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि उत्पादन राम्रो भए नगरपालिका समृद्ध हुने विश्वास छ ।’ उनले जनतालाई विकासको अवधारणा बाटोघाटो, बिजुली, खानेपानी मात्र भएको बताए । उनले हार्डवेयर विकाससँग सफ्टवेयर विकास अर्थात् जनचेतनाको काम गर्न त्यति नै जरुरी रहेको बताए ।


खासगरी युवाहरू विकासलार्ई सही सदुपयोग गर्नेभन्दा देखासिकीमा रमेको देखिन्छ । रुकुम पश्चिमका स्थानीय तहले मदिरा नियन्त्रण गर्ने अभियान रोकिएको छ । गाउँमा दाउराको चाङजस्तै बियरका खाली बोटलको चाङ लाग्न थालेको छ । ‘विकास भएको छ, त्यसलाई आफ्नोअनुकूल कसरी प्रयोग गर्ने चुनौती छ । युवाहरूमा चेतना आउनु आवश्यक छ,’ चौरजहारीका स्थानीय व्यवसायी यदुकुमार आचार्यले भने ।गाउँलाई गाउँ रहन दिनुपर्छ, सुविधासम्पन्न गाउँ । न कि सहरको नक्कल । गाउँमा पाइने रैथाने चीजको जगेर्ना नगरे भोलि के होला ? त्यसबेला गाउँ न सहर जस्तो न गाउँजस्तो हुने छ ।
कवि मीनबहादुर बिष्टको कविताबाट व्यंग्य गरेजस्तो गाउँमा धेरै कुरा छ ।

धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा ।
जरुर पहाड अर्थात् गाउँमा केही छ र मान्छेहरू दुःखलाई सुखमा बदलेर बसेका बूढाबूढी मात्र होइन, युवाहरू पनि छन् । पहाड पक्कै उकालो छ, त्यो उकालोमा हिंड्ने बलिया पाइलाहरू छन् । अब त गाउँमा विकास पनि पुगेको छ, विकाससँगै सहरका कोसेली पुगेको छ । जरुर गाउँमा धेरै चीज छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT