कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

'दोहोरो अंकको वृद्धि असम्भव’

ऋषिराम पौड्याल

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम गम्भीर कार्ययोजनाबिना लहडमा ल्याइएको टिप्पणी गरेको छ । कांग्रेसले नीति तथा कार्यक्रमको लक्ष्यअनुसार दोहोरो अंकको आर्थिक वृद्धिदर सम्भव नभएको दाबी गरेको छ । 

'दोहोरो अंकको वृद्धि असम्भव’

नीति तथा कार्यक्रममाथि आइतबार संसद्मा सुरु छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले राज्यका महत्त्वपूर्ण अंगहरूबीच सन्तुलन खलबलिएको र सरकार संघीयताको भावना र मर्मअनुसार चल्न नसकेको आरोप लगाए । 'नीति तथा कार्यक्रममा उल्लेख गरिएझैं रोजगारी वृद्धि र तीव्र विकास सम्भव छैन,' लिखित मन्तव्य राख्दै देउवाले भने ।


देउवाले गत वर्ष सरकारले प्रस्तुत गरेको कार्यक्रमले परिणाम दिन नसकेको बताए । गत वर्ष रोजगारी मुलुकमै सिर्जना हुने र युवा विदेश जानु नपर्ने नारा सरकारले दिएको प्रसंग जोडदै उनले भने, 'गत वर्ष कतिले रोजगारी पाए, कति युवा विदेश जानबाट रोकिए, त्यसको जानकारी मुलुकलाई छैन । प्रधानमन्त्री रोजगार योजनाबाट अहिलेसम्म एउटा रोजगारी सिर्जना भएको छैन । फेरि ५ लाख रोजगारी सिर्जना गर्ने कुरा दोहोर्‍याइएको छ, यो कसरी पत्याउने ?'


देउवाले पुँजीगत खर्चमा सुधार नभएको, व्यापार घाटा बढ्दै गएको एवं वैदेशिक सहयोग घटिरहेको अवस्थामा दोहोरो अंकको आर्थिक वृद्धि सम्भव नहुने दाबी गरे । देउवाले आफूले सुरु गरेका ठूला आयोजनाको निर्माण र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले आफैंले गरेजसरी एकलौटी रूपमा प्रचार गरेकामा आपत्ति जनाए । नीति तथा कार्यक्रममा उल्लेख भएका सन्दर्भहरू जोड्दै उनले भने, 'मेलम्ची आयोजना अनिश्चित बनेको छ । माथिल्लो तामाकोसी कहिले बन्ने टुंगो छैन । स्वदेशी लगानीमा निर्माण गर्न लागेको रणनीतिक आयोजना बूढीगण्डकीको निर्णय उल्ट्याएर सरकारले राष्ट्रमाथि ठूलो खेलबाड र घात गरेको छ ।'


उनले कांग्रेस छिमेकी मुलुकहरूलाई हवाई, रेल, जलमार्ग र सडकले जोड्नुपर्छ भन्नेमा प्रस्ट रहेको उल्लेख गर्दै उनले भने, 'तर लहडमा नभई प्राथमिकता र प्रतिफलका आधारमा यस्ता आयोजना छनोट हुनुपर्छ ।' चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि फाइदाजनक भएकाले यिनीहरूको निर्माण अनुदानमा हुनुपर्ने उनको धारणा थियो । 'भारतमा प्रस्तावित १ सय ११ जलमार्गमध्ये एउटामा जोडिन पनि हामीले धेरै गृहकार्य गर्नुपर्छ । प्रधानमन्त्री ओली अहिले नै पानीजहाज आएजसरी कार्यालय खोलेर सपना बेच्दै हुनुहुन्छ,' उनले भने ।


मुलुकमा भ्रष्टाचार बढेको, हत्याहिंसा नरोकिएको बताउँदै उनले लोकतन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप सरकारमाथि लगाए । नीति तथा कार्यक्रममा पूर्ण लोकतन्त्र भन्ने शब्द प्रयोग गरेकामा आपत्ति जनाउँदै देउवाले लोकतन्त्र आफैंमा पूर्ण हुने र यसमा कुनै विशेषण जोड्न नपर्ने भनाइ राखे । उनले सरकार अनुदार राजनीतिक व्यवस्थातिर उन्मुख रहेको पनि टिप्पणी गरे ।


सरकारको नीति तथा कार्यक्रम संशोधन दर्ता गर्नुको उद्देश्य बताउँदै कांग्रेसका सांसद मीनेन्द्र रिजालले राष्ट्रपतिलाई 'मेरो सरकार' भन्न लगाएर सरकार राजाकै पथमा हिँड्न थालेको बताए । उनले सरकारको शैलीका कारण गणतन्त्र जोगिन्छ कि जोगिँदैन भन्ने शंका उत्पन्न भएको बताए ।


'कहाँ छैन भ्रष्टाचार ?’

सत्तारूढ नेकपाका सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा भ्रष्टाचार नभएको क्षेत्र पाउन कठिन भएको बताएका छन् । नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रतिनिधिसभामा बोल्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका सापकोटाले भ्रष्टाचारले जताततै जरा गाडेको बताए । 'ल सोध्नुस्, कहाँ छैन भ्रष्टाचार ?' उनले भने, 'बालुवाटार जग्गा प्रकरण, खुलामञ्च कब्जा, एनसेल करछलीलगायत भ्रष्टाचार भएका हजार स्थानको नाम म दिन्छु ।'


अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत एउटा क्षेत्रको छानबिन जिम्मेवारी आफूहरूलाई पाएको प्रसंग उल्लेख गर्दै उनले भने, 'छनबिन गर्दै जाँदा डरलाग्दो चित्र आयो । यसबाट मुलुकलाई माया गर्ने कोही छैन कि जस्तो देखिन्छ । कर्पोरेट शैलीमा जग्गाहरू हडपिएका छन् । 'सरकार यति कमजोर र लाचार छ कि अनुसन्धानका क्रममा विशेषज्ञ सेवा खाँचो पर्‍यो, तर पाइएन । यहाँ मिलाएर जति खाए पनि खाऊ भनिने रहेछ । तर श्रम गर्नेलाई केही छैन,' उनले भने । उनले एक महिनाभित्र कानुन बनाएर सर्वाधिक शक्तिशाली र उच्चस्तरीय आयोगमार्फत कब्जा गरिएका सबै जमिन सरकारका नाममा ल्याउन सुझाव दिए ।


मुलुक बनाउने खाका : सत्तापक्ष

सत्तापक्षीय सांसदले राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको समृद्धिका लागि प्रस्ट दिशानिर्देश गरेको बताएका छन् । उनीहरूले प्रतिपक्षले गरेको आलोचना प्रतिवाद गर्दै राष्ट्रपति मुलुकको सम्मानित व्यक्ति भएकाले विवादमा नतान्न आग्रह गरे । नेकपाका खगराज अधिकारीले गणतन्त्रको संस्थागत विकासका लागि सरकार सचेत रहेको बताए । उनले विरोधका लागि विरोध नगर्न प्रतिपक्षलाई आग्रह गरे । संशोधनको औचित्य नभएको उनको जिकिर थियो । दलबहादुर रानाले देशलाई आर्थिक समृद्धिमा लैजाने बताए । महेश बस्नेतले नीति तथा कार्यक्रम यथार्थपरक रहेको दाबी गरे ।

सत्या पहाडीले नीति तथा कार्यक्रमको विरोध गर्नुभन्दा पनि कार्यान्वयन पक्ष हेर्नुपर्ने बताए । गजेन्द्र महतले दुर्गम स्थान कणर्ालीमा विकासका कार्यक्रम लैजाने नीति बनाउन आग्रह गरे । उनले दुर्गमलाई हरेक सरकारले बेवास्ता गरेकाले त्यहाँका जनताले सिटामोल पनि पाउन नसकेको बताए ।


संविधान संशोधनको माग

राजपाले संविधान संशोधनको माग दोहोर्‍याएको छ । अध्यक्षमण्डलका सदस्य तथा सांसद राजेन्द्र महतले सरकारले संविधान सर्वस्वीकार्य भएको भन्नु गलत भएको बताए । उनले मधेस र थरुहट आन्दोलनको सम्मान गर्न आग्रह गरे । राजपाकै लक्ष्मणलाल कर्णले संशोधन प्रस्ताव राख्नुको औचित्य प्रकाश पारे ।

प्रकाशित : वैशाख २३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?