कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किन फैलिन्छ कर्णालीमा बर्सेनि सरुवा रोग ?

जयबहादुर रोकाया

वीरेन्द्रनगर/-हुम्ला — सामाजिक विकास मन्त्रालयका अनुसार करिब २२ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले ७८ प्रतिशत नागरिक मात्रै खानेपानीको पहुँचमा पुगेको बताए । 'तथ्यांकमा यति भए पनि धेरै नागरिक खोलाको पानी पिउन बाध्य छन्,' उनले भने, 'सरुवा रोगको मुख्य कारण भनेकै शुद्ध पिउने पानी नहुनु हो ।' 

किन फैलिन्छ कर्णालीमा बर्सेनि सरुवा रोग ?

उपचार नपाई बसेका दीर्घरोगीको प्रतिरोधात्मक क्षमता कम हुँदा उनीहरूलाई चाँडो आक्रमण गर्ने कर्णाली प्रदेश निर्देशनालयका वरिष्ठ जनस्वास्थ अधिकृत चेतननिधि वाग्लेले बताउँछन् । 'दुर्गम गाउँमा सरसफाइमा ध्यान दिइँदैन,' उनले भने, 'रोग पालेर बस्दा थप समस्या उत्पन्न हुने गरेको छ ।' रोग लागेको थाहा हुँदा पनि समयमै उपचार नपाएर कर्णालीवासीको मृत्यु हुने गरेको वाग्लेको भनाइ छ ।


०६६ मा जाजरकोटका साविकका विभिन्न विकट गाविसमा झाडापखालाको महामारी फैलियो । उक्त महामारीबाट एक सय ५३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जाजरकोट मात्र नभई कालिकोट, दैलेख, रुकुमा समेत झाडापखालाको महामारी फैलिएको थियो । करिब तीन महिनापछि मात्रै महामारी नियन्त्रणमा आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय बताउँछ । २०७१ चैत र २०७२ वैशाखमा जाजरकोटमै फैलिएको मौसमी रुघाखोकीबाट एक हजार चार सय ३८ जना बिरामी परेकामा २७ जनाको मृत्यु भएको थियो ।


२०७४ मा पनि जाजरकोटमै फैलिएको मौसमी रुघाखोकीबाट जुनीचाँदेमा १२ जनाको मृत्यु भएको उनको भनाइ छ । उनका अनुसार उक्त रुघाखोकीबाट तीन हजार दुई सय बिरामी परेका थिए । २०७४ कै माघमा मौसमी रुघाखोकीबाटै दैलेखको लाकान्द्रामा दुई जना बालकको मृत्यु भयो । कालिकोटको खाँडाचक्रमा एक हजार जना बिरामी परेकोमा तीन जना नवजात शिशुको मृत्यु भएको थियो ।


गत चैत अन्तिमदेखि फैलिएको मौसमी रुघाखोकीले हुम्लामा नौ जनाको मृत्यु भएको छ । कर्णालीका नागरिक शुद्ध पिउने पानीको पहुँचमा नहुँदा पनि सरुवा रोगको महामारी बर्सेनि बल्झिने गरेको छ ।


दक्ष जनशक्ति र संरचना अभाव

कर्णालीमा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुँदा दुर्गम गाउँका बिरामीले समस्या भोग्नुपरेको छ । कर्णालीमा ९ जिल्ला अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, आठ जिल्ला आयुर्वेद केन्द्र र दुई आयुर्वेद औषधालय छन् । दुर्गमका नागरिक स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा हुँदा उपचारको अभावमा मृत्यु हुने गरेको छ ।


स्वास्थ्य संस्थामा काम गर्ने दक्ष चिकित्सकको अभाव छ । १ सय १८ डाक्टरको दरबन्दी रहेको कर्णालीमा हाल करिब ५४ प्रतिशत मात्रै डाक्टर कार्यरत रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले जनाए । 'बिरामीअनुसार डाक्टर छैनन्,' उनले भने, 'बिरामीले विशेषज्ञ सेवा त टाढाको कुरा हो सामान्य उपचार पनि पाएका छैनन् ।'


कर्णालीको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि प्रदेश सरकारले करिब ५० करोड बजेट विनियोजन गरेको छ । केन्द्र सरकारले पनि स्वास्थ्यतर्फ ससर्त अनुदान ४२ करोड प्रदान गरेको सामाजिक विकासमन्त्री दल रावलले बताए । 'कर्णालीवासीले समयमै उपचार नपाएर भोग्नुपरेको दु:ख सरकारले देखेको छ,' उनले भने, 'अब सरकारले प्रत्येक स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने र भएका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवाको व्यवस्था गर्नेछाैँ ।'


सुविधा सम्पन्न अस्पताल बनाएर कर्णालीवासीलाई भरपर्दो उपचार दिने योजना सरकारको रहेको भन्दै रफ्तारमा काम अघि बढाउने मन्त्री रावलको भनाइ छ । 'सडक सुविधा नहुनाले पनि धेरै बिरामीको अकालमै मृत्यु हुन्छ,' मन्त्री रावलले भने, 'समयमै उपचार पाउने व्यवस्था गर्न घरदैलोमै उपचार सेवा पुर्‍याउन सरकारको प्रयास जारी छ ।'


अकालमा ज्यान गुम्दै

हुम्लामा महामारी फैलिँदा विशेषगरी वृद्ध, बालबालिका र दमका रोगी प्रभावित हुने गरेका छन् । महामारी फैलिनुको मुख्य कारण कुपोषण, फोहोर र अशिक्षा भएको स्वास्थ्यकर्मी बताउँछन् । हुम्ला खुला दिसामुक्त भइसके पनि कागजमा मात्र सीमित छ । हिमाली जिल्ला भएकाले अत्यधिक जाडो हुने हुँदा यहाँका बासिन्दा जाडोबाट बच्न आगो ताप्छन् । आगोको धूवाँले पनि दमका रोगी धेरै छन् । महामारी फैलिए सबैभन्दा पहिलो निसाना दमका रोगी पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।


हालै ताजाकोटमा फैलिएको मौसमी इन्फ्लुन्जाको उपचार गर्न पुगेको टोलीले पनि कुपोषण र फोहोरी वातावरणकै कारण रोग फैलिएको जनाएको छ । हुम्लामा सबैभन्दा ठूलो महामारी २०५४ सालमा भएको हो । उक्त समय जिल्लाका विभिन्न गाउँमा फैलिएको भाइरल इन्फ्लुन्जाबाट चार सयभन्दा बढीको ज्यान गएको थियो ।


कालिकोटमा सुधार

गत वर्ष कालिकोटको खाँडाचक्र ४ ताडी र वडा नं ३ मेग्र दुई गाउँमा फैलिएको भाइरल ज्वरोले ४ बालबालिकासहित ८ जनाको ज्यान गएको थियो । ४ सय बढी बिरामी परे । जिल्लाभर ४ हजार बिरामी परेका थिए । सदरमुकाम मान्मसँग जोडिएका दुवै वडाको दलित बस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको थियो । गाउँमा ज्वरोले ४ जनाको ज्यान गइसकेपछि बल्ल जिल्ला स्वास्थ्यको पहलमा खाडाचक्र नगरपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर महामारी नियन्त्रणमा लिएको थियो ।


अभाव, गरिबी, सरसफाइको कमी र आधारभूत स्वास्थ्य सेवाको कमी भएका ती दुई बस्तीलाई लक्षित गरेर खाडाचक्र नगरपािलकाले यस वर्ष स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । गत वर्ष भाइरल ज्वरोको प्रकोप खाडाचक्रमा मात्र नभएर सान्नीत्रिवेणीको मेहेलमुडी, रास्कोट, नरहरिनाथ, पलाता र तिलागुफाका बस्तीमा पनि देखिएको थियो । स्थानीय सरकारले तत्काल पहल गरेर औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेपछि नियन्त्रणमा आएको निमित्त स्वास्थ्य प्रमुख कटक महतले बताए । बर्सेनि झाडापखाला, भाइरल ज्वरो, रुघाखोकीको महामारी फैलिने गरेको छ ।


समुदायमाा सचेतना, खानपानमा सुधार, स्वास्थ्य सेवाको पहुँच जस्ता कारण पछिल्लो समयमा तुलनात्मक रूपमा महामारी कम हुन थालेको रेडक्रस सोसाइटीका सभापति बलप्रसाद संज्यालले बताए । उनले सबै निकायको पहल र सक्रियतामा कालिकोटलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि पानी तथा वातवरणजन्य प्रकोपमा कमी आएको सुनाए । २०६३/६४ कालिकोटको खस्न, धौलागोह, बदालकोट, राम्नाकोट, भर्ता, मान्मलगायत गाउँमा फैलिएको झाडापखालाबाट मात्र डेढ सय नागरिकले ज्यान गुमाएका थिए ।


२०६३ को चैत्रदेखि धौलागोहबाट सुरु भएको झाडापखालाको महामारी २०६४ को असोजमा मात्र नियन्त्रणमा आएको थियो । गत वर्षको मंसिर दोस्रो साता मुगुको खत्याड भेकमा सुरु भएको भाइरल इन्फ्लुएन्जा विकट पलाता गाउँपालिकाको खीन, धौलागोह, थिर्पु हुँदै पचालझरनाबाट फैलिएर सदरमुकामसम्म आएको थियो । जिल्लामा हुने प्राय: सबैजसो महामारी दलित तथा विपन्न बस्तीमा छिटो फैलिने गरेको छ ।


कालिकोटमा २०५५ मंसिरदेखि फागुनसम्म भर्ता, सुकाटिया, कालिका, मान्म, राम्नाकोट, बदालकोट, नानीकोट, रकु, लालु, कोटवाडा, माल्कोटका बस्तीमा भाइरल इन्फ्लुएन्जाले एक सय ३७ को मृत्यु भएको थियो । करिब चार हजार प्रभावित भएका थिए । २०५९ माघदेखि चैत्रसम्म दादुरा, रुघाखोकीबाट १७ को मृत्यु हुँदा एक हजार प्रभावित बने ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २०७२ मान्म १ कोइरेल गाउँ र मेहेलमुडी ७ तिकुवामा रुघाखोकी र ज्वरोबाट पाँच जनाको मृत्यु भएको थियो । ६ सय बढी बिरामी परेका थिए । कार्यालयका अनुसार २०७४ मंसिर तेस्रो सातादेखि पुस १० गतेसम्म फैलिएको भाइरल ज्वरोबाट खाडाचक्र ४ मा तीन बालबालिकासहित आठ जनाले ज्यान गुमाएका थिए । चार हजार बिरामी भएका थिए ।



प्रकाशित : वैशाख २३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?