कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

थेसिस चोरी रोक्न सफ्टवेयर

गणेश राई

काठमाडौँ — त्रिभुवनलगायतका विश्वविद्यालयले लेख/रचना वा थेसिस चोरी रोक्न 'एन्टि-प्लेगरिजम सफ्टवेयर' प्रयोगमा ल्याउने भएका छन् । सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ । 

आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफटेयर सञ्चालनका लागि त्रिवि केन्द्रीय पुस्तकालयसहितका सम्बद्ध संस्थासँग प्रस्ताव माग गरेको छ । उक्त सफ्टवेयरले जुनसुकै विषयमा गरिएका शोध तथा अनुसन्धान कार्य थेसिसमा यसअघि गरिएका शोधकार्यको नक्कल वा पुन: उद्धृत कार्यको मूल्यांकन गर्नेछ ।


'हरेक विषयको शोधकार्यमा पूर्वअध्ययन तथा शोधलाई सन्दर्भ लिइन्छ तर कति प्रतिशत, कुन रूपमा प्रयोग भएको छ भन्नेचाहिँ महत्त्वपूर्ण पक्ष हो,' त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले भने, 'विश्वविद्यालयमा थेसिस चोरी र हुबहु नक्कल गरिएको भन्ने पटकपटक आरोप लाग्ने गरेको छ । त्यसैले आयोगले सफ्टवेयर प्रयोगलाई प्राथमिकतामा राखेर परिपत्र गरेको छ ।'


अधिकारीले यो पञ्चवर्षीय परियोजना रहेको बताए । 'परियोजनामा ८ करोड २० लाख रुपैयाँ प्रस्ताव गरिएको छ,' उनले भने । अनुदान आयोगले उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत 'उच्च शिक्षाको उत्कृष्टताका लागि अनुसन्धान, विकास एवं नवप्रवर्तन कार्यक्रम'का निम्ति परिपत्र गरेको हो । 'पुस्तकालय नेटवर्किङका लागि यस आर्थिक वर्षमा ७० लाख रुपैयाँ सहयोग गर्ने लक्ष्य छ,' आयोगले वैशाख १९ गते जारी गरेको परिपत्रमा भनिएको छ । त्रिविले स्नातकोत्तर, एमफिल, पीएचडी थेसिसलाई हार्डकपी र डिजिटल कपीसमेत बुझाउनुपर्ने नियम लागू गरेको छ ।


त्यसैअनुसार त्रिवि केन्द्रीय पुस्तकालयले ती थेसिसलाई डिजिटाइजेसन कार्यका निम्ति प्राविधिक टोली खटाएको प्रमुख अधिकारीले बताए । 'केन्द्रीय पुस्तकालयमा सबै चारै संकाय, अध्ययन संस्थानका सबै विषयको थेसिस डिजिटाइजेसन गरेर राखिन्छ,' अधिकारीले भने, 'तर, थेसिसको मौलिकता सफ्टवेयरबाट जाँचेर स्वीकार गर्ने/नगर्ने काम केन्द्रीय पुस्तकालय होइन । त्यो काम विश्वविद्यालयका विषयगत विभाग र डिन कार्यालयमार्फत हुनुपर्छ भनेर प्रस्ताव गरेका छौं ।'


अनुदान आयोगले उपलब्ध गराउने सफ्टवेयरलाई केन्द्रीय पुस्तकालयले व्यवस्थापन गर्ने र सम्बन्धित विभाग र डिन कार्यालयले अनिवार्य प्रयोग गराउने नीति अघि सारिएको जनाइएको छ । भारतीय कम्पनीले निर्माण गरेको सफ्टवेयरले हिन्दी, अंग्रेजी माध्यम भाषाका थेसिस जाँच्ने गरेको छ । 'हिन्दी भाषाको सफ्टवेयर भएकाले नेपाली भाषाको समेत पढ्न सक्छ भन्ने अनुमान गरिएको छ,' इन्टरनेटमा उपलब्ध सफ्टवेयर आधिकारिक नहुने उल्लेख गर्दै अधिकारीले भने, 'अब आधिकारिक संस्थाले त्यो सफ्टवेयर किनेर औपचारिक प्रयोग गर्ने/गराउने पहल अघि बढेको छ ।'


अनुदान आयोगका अध्यक्ष प्राध्यापक भीमप्रसाद सुवेदीले हरेक शोध अनुसन्धान कार्यको गुणस्तर कायम गर्न सफ्टवेयरको प्रयोगमा जोड दिइएको बताए । 'प्रत्येक विश्वविद्यालयले एन्टि-प्लेगरिजम सफ्टवेयर राखुन्, शोध अनुसन्धान कार्य गुणस्तर होस्, अनुसन्धानकर्ता आफ्नो विषयप्रति सचेत र पोख्त हुनुपर्छ,' उनले कान्तिपुरसित भने, 'त्यसपछि विश्वविद्यालय शिक्षाको गुणस्तर वृद्धि हुने निश्चित छ ।'


मुलुकमा ११ विश्वविद्यालय छन् । त्यसैगरी पाँचवटा मानीत विश्वविद्यालय छ । ती विश्वविद्यालको पुस्तकालय सुधारका निम्ति आयोगले प्रस्ताव आहवान गरेको अध्यक्ष सुवेदीले जनाए ।


प्रकाशित : वैशाख २३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?