१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हुरीपीडितलाई राहत वितरण सुरु

कमल पन्थी

बर्दिया — बासगढी नगरपालिका-२ राँझा सिमलकुना र बनमुढुवामा वैशाख १९ मा आएको भीषण हुरीका पीडितलाई प्रशासनले राहत दिन सुरु गरेको छ । हुरीले २ सय घरमा क्षति पुगेको थियो । 

हुरीपीडितलाई राहत वितरण सुरु

विपत् व्यवथापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले घर पूर्ण रूपमा क्षति भएकाहरूका परिवारलाई जनही १० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरिएको बताए ।


आंशिक क्षति भएकालाई अवस्था हेरी राहत उपलब्ध गराइने भएको छ । बढी क्षति भएका परिवालाई बाँसगढी नगरले थप राहत उपलब्ध गराउने मेयर शालिकराम अधिकारीले जनाए । प्रभावित गाउँमा स्वास्थ्यकर्मी भने अहिलेसम्म नपुगेको स्थानीय भरत शाहीले गुनासो पोखे ।


गाउँमा हुरीले खम्बा र तार झरेपछि तीन दिनदेखि विद्युत् सेवा ठप्प छ । हुरीले एक दर्जनभन्दा बढी पोल ढलेकाले विद्युत् आपूर्ति ठप्प भएको प्राधिकरण शाखा गुलरियाका प्रमुख परितोष चौधरीले बताए ।


'शनिबारबाट पोल गाड्ने काम भइरहेको छ,' उनले भने, 'सोमबार बेलुकीसम्म लाइन जडान गरी विद्युत् आपूर्ति हुनेछ ।' बिजुली नभएपछि सञ्चार सेवा ठप्प छ । जस्तापाता अझै पनि जंगल क्षेत्रमा जताततै उडेकाले संकलन गर्ने काम भइरहेको वडाध्यक्ष घमण्डबहादुर चन्दले बताए । घरभित्र राखेका अनाज पनि हुरीले क्षति पुर्‍याएको छ ।


राहत वितरणका लागि प्रजिअ कुरुम्बाङ, नगरपालिकाका मेयर अधिकारी, नेपाल रेडक्रसका प्रतिनिधिलगायत सुरक्षा अधिकारी आएका थिए । पीडित परिवार आकाशमा बादल लाग्नासाथ त्रासले सुरक्षित ओतको खोजीमा रहने गरेको स्थानीय लालबहादुर शाहीले बताए । हुरीका कारण ४ जना घाइते भएका छन् ।

प्रकाशित : वैशाख २३, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?