१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रदेश १ को राजधानी विराटनगर हुने मुख्यमन्त्री राईको आश्वासन 

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगर नै हुने भन्दै आन्दोलनरत पक्षलाई आश्वस्त पारेका छन् । मुख्यमन्त्रीलगायतका प्रदेश सरकारका मन्त्रीहरु र आन्दोलनरत पक्षसँग विराटनगरस्थित बिग होटलमा भएको वार्तामा मुख्यमन्त्री राईले विराटनगरमै राजधानी हुने भन्दै आश्वासन दिएका हुन । 

प्रदेश १ को राजधानी विराटनगर हुने मुख्यमन्त्री राईको आश्वासन 

मुख्यमन्त्रीको आश्वासनले आन्दोलनकारीले सोमबार बिहानदेखि विराटनगर बन्द गरेर गर्दै आएको आन्दोलन केही खुकुलो भएको छ । यातायातका साना सवारीसाधन चल्न थालेका छन् । आन्दोलनकारीले अहिले केहीबेरमा बैठक बसेर औपचारिक रुपमा आन्दोलन फिर्ता लिने जनाएको छ तर उनीहरु अहिले सुरु भएको प्रदेशसभामा सम्पूर्ण संरचनासहितको प्रदेश राजधानी विराटनगर हुने निर्णय भए दिपावली गर्ने र नभए आन्दोलन सशक्त बनाएर अघि बढ्ने रणनीतिमा रहेको छ ।


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुख्यमन्त्रीले प्रदेशसभाबाट अहिले विराटनगर राजधानी पारित हुने आश्वासन दिएकोले दिपावलीको तयारीमा लागेको बताए ।


आन्दोलनको नेतृत्व गरेको प्रा.डा.भेषप्रसाद धमलाले मुख्यमन्त्री लगायतका प्रदेश सरकारका मन्त्रीहरुसँगको वार्तामा प्रदेशसभाबाट विराटनगर राजधानी पारित हुने र व्यवस्थापिका र कार्यपालिका संरचनासमेत विराटनगरमा नै रहने आश्वासन दिएको बताए । उनले दबाब समूहको अहिले बैठक बसेर आन्दोलन फिर्ता लिने बारे निर्णय गर्ने बताए ।


प्रदेश १ को राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने प्रस्ताव आइतबार प्रदेशसभामा दर्त्ता भएको विरोधमा आज बिहानैदेखि विराटनगर बन्द गरी स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।


विराटनगर महानगरवासीले प्रदेश १ को राजधानीको सम्पूर्ण संरचना विराटनगरमा राख्नुपर्ने माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेर आन्दोलनमा उत्रिएका छन् । बन्दले यहाँको जनजीवन प्रभावित भएको थियो । यतायातका साधन चल्न सकेका थिएनन् ।


शिक्षण संस्थाहरूले आकस्मिक रूपमा बिदाको घोषणा गरेर विद्यालयलगायतका शिक्षण संस्था बन्द गरेका थिए । प्रदेश सरकारका मन्त्रालयहरुलगायतका सरकारी कार्यालयमा कामकाज सञ्चालन हुन सकेनन् ।


प्रदेशसभामा आइतबार दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिए पनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्र अन्तर्गतका इटहरी, सुन्दरहरैंचा लगायत स्थानमा राख्ने भनिएको थियो ।

त्यसैले विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आहृवान गरिएको थियो । महानगरपालिकाको अगुवाइमा आइतबार अबेर रातिसम्म बसेको सर्वदलीय बैठकले दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको थियो ।


प्रदेशसभालगायतका सरकारी कार्यालयहरुलगायत विराटनगरभरी कुनै किसिमको अपि्रय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको भए पनि आन्दोलनकारीले बरगाँछीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको को१झ ६२४ नम्बरको गाडीमा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन् ।


बैठकले धमालको नेतृत्वमा २ सय सदस्यीय दबाब समूह गठन गरेको छ । प्रदेश सभामा आइतबार राजधानीका लागि चारवटा प्रस्ताव दर्ता भएका थिए । कांग्रेसको अगुवाइमा विराटनगरलाई नै राजधानी तोकिनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसैगरी धनकुटाका सांसदहरूले राजधानी धनकुटा बनाउनुपर्ने भन्दै दुई छुट्टाछुट्टै प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

प्रकाशित : वैशाख २३, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?