कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दुई वर्षभित्र साक्षर नेपाल : राष्ट्रपति

प्रकाश बराल

बागलुङ — राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुईवर्षभित्र साक्षर नेपाल घोषणा हुने बताएकी छिन् । सरकारले भौतिक र आर्थिक लगानी बढाएर उक्त लक्ष्य पूरा गर्ने उनले विश्वाससमेत व्यक्त गरिन् ।

दुई वर्षभित्र साक्षर नेपाल : राष्ट्रपति

व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालले ५ करोड २८ लाखको लगानीमा निर्माण गरेको बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माविको आधुनिक भवनको साेमबार उद्घाटन गर्दै राष्ट्रपतिले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सेवा सहज बनाउन सरकार सक्रिय भएको बताएकी हुन् ।


राष्ट्रपति भण्डारीले पौष्टिक आहार र शिक्षा नङ मासुझैं भएकोले हरेक बालबालिकाले आधारभूत तहको शिक्षा र पौष्टिक आहारा पाउने अधिकार दिलाउन चासो बढ्नुपर्ने धारणा राखिन् ।


उनले संघीय सरकार देखि स्थानीय तहसम्मले शिक्षा र पौष्टिक आहारमा लगानी बढाएमा देश विकासमा सहयोग पुग्ने बताइन् । उनले गाउँमा बस्ने र गाउँमै रमाउने बनाउन जमिन र माटोको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिइन् । 'अब हरेक विद्यालय र घरघरमा करेसाबारी बन्नुपर्छ,' भण्डारीले भनिन्, 'करेसामा तरकारी फलाएर सबैले स्वस्थ्य खाने वातावरण बनाऔं ।' उनले हरेक विद्यालय हरियाली बनाउन उनले सबैलाई आग्रह गरिन् ।


शान्त र स्वच्छ वातावरणमा पढ्न पाउने अवसर सृजना गर्न समाजका अगुवालाई आग्रह गरिने । 'हरेक विद्यालयमा गुणस्तर विकास गरेर नैतिकवान र स्वाभिमानी नागरिक उत्पादन गर्ने बेला हो,' भण्डारीले भनिन्, 'राज्यको लगानीमा नागरिक लगानी मिसाएर प्राविधिक र उत्पादन मुखी शिक्षा दिन पहल गरौं ।'


राज्यको लगानीले मात्र प्रतिफल नआएकोमा उनले चिन्ता व्यक्त गरिन् । भनिन्, 'राज्यको मात्र लगानीले सोचेजस्तो प्रतिफल आएको छैन, अब नागरिकहरुले आफ्नो भन्ने भावना बढाउन सबैको साझा बिद्यालय बनाउनु पर्छ ।'


उनले करोडौं लगानी गरेर विद्यालय भवन बनाउने ढकाल परिवारको प्रशंसा गर्दै अझै धेरै नागरिकको लगानी बढाउनुपर्नेमा जोड दिइन् ।


चारवर्ष अघि भूकम्पले चिरा परेको पृथ्वी माविमा ढकाल परिवारले ५ करोड २८ लाख लगानी गरेर भवन बनाएपछि विद्यालयको नाम पृथ्वी हिरण्य मावि राखिएको हो । उक्त भवनसँगै ढकालका पिता हिरण्यको अर्धकदको मूर्ति समेत राष्ट्रपतिले अनावरण गरिन् ।


यो विद्यालयमा ३ सय ७८ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक प्रेमप्रसाद चापागाईँले बताए । विद्यालयमा सहयोग गर्ने ढकालकी माता जानुका ढकाललाई सम्मानित समेत गरिन् । विद्यालयमा पूर्व विद्यार्थी समाजले पनि ५० लाख बढी लगानी गरेर कम्प्युटर ल्याब र अन्य व्यवस्थापकीय सहयोग गरेको छ ।

प्रकाशित : वैशाख २३, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?