३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णाली तीरमा प्लटिङ

नदी किनारमै प्रतिमिटर चार लाखसम्ममा बिक्री हुन थालेपछि वर्षमा तीन बाली उत्पादन हुने खेतमा धमाधम प्लटिङ भइरहेको छ
ज्योति कटुवाल

राकम, दैलेख — आठबिस नगरपालिका-८, राकमकी रुप्सी बडुवाल पाँच वर्षअघिसम्म तीन बाली उब्जाउँथिन् । खाद्यान्न र तरकारी बिक्रीबाट राम्रो कमाइ गरेकी उनलाई अहिले बाहिरको चामलको भर पर्नुपर्ने बाध्यता छ । राकम कर्णालीमा उनको पाँच रोपनी जग्गा छ । नदी किनारमै प्रतिमिटर चार लाखसम्ममा जग्गा बिक्री हुन थालेपछि उनले अन्नबाली र तरकारी लगाउन छोडेकी हुन् । 

कर्णाली तीरमा प्लटिङ

उनीमात्र होइन, राकमका बासिन्दाले खेतीयोग्य जमिन धमाधम घडेरीका रूपमा बेचिरहेका छन् । राष्ट्रिय गौरवको मध्यपहाडी नमुना सहर आयोजना कार्यान्वयन हुन थालेपछि राकम कर्णालीमा प्लटिङ गरी जग्गा बिक्री गर्ने क्रम बढेको छ । अब्बल, दोयम, सिम, चाहरलगायत जग्गा फरक-फरक भाउमा बिक्री भइरहेको स्थानीयको भनाइ छ । ३० हजार ८ सय १७ रोपनीको राकम कर्णालीका अधिकांश खेत घडेरीमा बिक्री भइसकेका छन् ।


आठबिस नगर प्रमुख खडराज उपाध्यायले पछिल्लो समय राकम कर्णालीमा ठूलो परिवर्तन आएको बताए । उनका अनुसार कंक्रिटका पक्की घर बनाउने क्रम बढ्दै गएको छ भने जग्गाको मूल्य अकासिएको छ ।


केही वर्षअघिसम्म जिल्लामै बढी धान उत्पादन हुने क्षेत्रमा पर्ने राकम कर्णालीमा पछिल्लो समय किसानले खेती गर्नै छाडेका छन् । नयाँ सहर आयोजना, कर्णाली राजमार्ग र अपर कर्णाली विद्युत् आयोजनाका कारण यहाँ जग्गाको भाउ अकासिएको छ । खेतीयोग्य जमिनमा धमाधम प्लटिङ भइरहेको छ । तीन जिल्लाको संगमस्थल भएकाले राकम कर्णाली बजार फस्टाउँदै गएको छ । स्थानीयले धमाधम घडेरी बनाई खेत बिक्री गर्न थालेको स्थानीय नैनबहादुर शाहीले बताए ।


'आयोजनाको बहानामा यहाँका बासिन्दा परनिर्भर बन्न थालेका छन्,' उनले भने, 'युवा विदेशिने र महिला डेरामा बस्न थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ ।' उनका अनुसार खेतीयोग्य जमिन मासिएकाले रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । नयाँ सहर आयोजनाका कारण खेतमा घर बनाउने क्रम बढेको उनी बताउँछन् ।


जिल्ला बाहिरबाट आएर जग्गा खरिद गर्नेको संख्या बढदै गएको आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए । 'भूगोल सानो भएपछि सार्वजनिक जग्गा च्यापेर घर बनाउने क्रम बढेको छ,' उनले भने, 'आसपासका क्षेत्रमा कच्ची घर देख्न मुस्किल हुन थालेको छ, पक्की घरले अधिकांश ठाउँ भरिएका छन् ।' उनका अनुसार नयाँ सहर आयोजनाले व्यवस्थित कार्यक्रम लागू गर्न नसक्दा अधिकांश जमिन प्लटिङ भएका छन् ।


स्थानीयले खेती गर्न छोडेपछि कर्णाली नदीको पानी उपभोग हुन नसकेको स्थानीय पूर्णा शाहीले बताइन् । उनका अनुसार धमाधम घर बन्न थालेपछि राकम कर्णाली अव्यवस्थित बन्दै गइरहेको छ । कर्णाली राजमार्गका कारण सुर्खेतभन्दा महँगो मूल्यमा जग्गा बिक्री हुन थालेको उनले बताइन् ।


स्थानीय अर्जुनकुमार शाहीका अनुसार उत्पादन क्षेत्रभन्दा अन्य व्यवसाय गर्न आउनेको लहरले धमाधम घर बन्ने क्रम बढदै गएको हो । 'यहाँको उत्पादनशील जग्गा समयमै संरक्षण गर्न स्थानीय सरकारले ध्यान दिन जरुरी छ,' उनले भने, 'यसरी घर बन्ने क्रम कायमै रहे यहाँको खेतीयोग्य जमिन दुई/तीन वर्षमै सकिने जोखिम छ ।'

प्रकाशित : वैशाख २४, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?