पार्टीकाे नाम जुधेपछि कानुनी समस्या

राजेश मिश्र

काठमाडौँ — संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको 'समाजवादी पार्टी, नेपाल' नाम पाउन कानुनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था छ । 

पार्टीकाे नाम जुधेपछि कानुनी समस्या

आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको 'समाजवादी पार्टी नेपाल' दर्ता छ । गत निर्वाचनमा उक्त पार्टीले उम्मेदवारी नदिए पनि कानुनी हैसियतमा भने सम्पूर्ण प्रक्रिया पूरा गरेको दलका रूपमा आयोगमा सूचीकृत छ । उक्त दलका लागि चुनाव चिह्न 'सुकुन्दा' तय गरिएको थियो ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले दुई दल एकीकरण भएको औपचारिक जानकारी आयोगमा आइनसकेको बताए । 'औपचारिक रूपमा एकीकरणको जानकारी, पार्टीको नामलगायत विषय प्राप्त भएपछि आवश्यक छानबिन गर्नेछौं,' उनले भने, 'एउटै नामको अर्को पार्टी दर्ता गर्न मिल्दैन । आवश्यक छानबिनपछि मात्रै नाम जुधे/नजुधेको निक्र्योल गर्न सकिन्छ ।' फोरमका राजेन्द्र श्रेष्ठ, शिवजी यादवलगायत नेताहरू आइतबार आयोग पुगेर प्रस्तावित नामबारे जानकारी लिएका थिए । आयोगका कर्मचारीले उक्त नामको पार्टी पहिले नै आयोगमा दर्ता रहेको जानकारी गराएका थिए ।

फोरम अध्यक्ष यादव र समाजवादी पार्टीका अध्यक्ष अर्यालबीच पनि भेट भएको थियो । 'नामका विषयमा स्पष्ट छलफल भएको थियो, तर पनि जानीजानी उहाँहरूले मैले नेतृत्व गरेको पार्टीकै नाम राख्नुले आश्चर्यचकित बनेको छु,' अर्यालले भने, 'आयोगले पक्कै पनि उक्त नामबाट अर्को दल दर्ता गर्नेछैन । त्यस्तो गर्न खोजिए अदालत जानेछौं ।' एकीकरण प्रक्रियामा अर्याललाई मिलाएर पनि उक्त नाम राख्न सकिने विषयमा छलफल भएको थियो । तर, कुरा नमिलेको अर्यालले बताए ।

हाल घोषित नाममा रहेको 'नेपाल' हटाएर समाजवादी पार्टी राख्ने वा नेपाललाई अगाडि ल्याएर नेपाल समाजवादी पार्टी नाम राख्न सकिने विषयमा नेताहरूबीच छलफल भएको थियो । घोषणाका बेला नसच्याईकनै अन्य पार्टीको नामसँग हुबहु मिल्ने गरी ब्यानर तथा सहमतिपत्रमा नाम लेखियो ।

राजनीतिक दलहरूले दल एकीकरण गर्दा नाम घोषणापूर्व कानुनी व्यवस्था तथा निर्वाचन आयोगमा दर्ता रहेका नामहरूको सूची नहेर्दा पटक-पटक यस्ता समस्या दोहोरिँदै आएका छन् । गतवर्ष दुई ठूला दल एमाले र माओवादी केन्द्र एकीकरण हुँदा राखिएको 'नेपाल कम्युनिस्ट पार्टी' नाम पनि जुधेको थियो । पछि कोस्टभित्र नेकपा थपेर सच्याइयो ।

उक्त नामका विषयमा अझै सर्वोच्चमा मुद्दा विचाराधीन छ । त्यस्तै, त्यसभन्दा अगाडि ६ मधेसवादी दल एकीकरण भएर घोषणा गरिएको राष्ट्रिय जनता पार्टीको नाम पनि जुधेपछि नाम पछाडि नेपाल थपएकिो थियो । फोरम निर्वाचन समिति प्रमुख नेता शिवजी यादवले नाम जुधेको विषयमा आफूहरू अवगत रहेको बताए ।

'दुई दलबीच एक खालको सहमति भयो, त्यसैअनुसार नाम घोषणा हुन पुगेको हो,' उनले भने, 'आयोगमा दर्ता गराउने बेलामा आवश्यक छलफल पछि नाममा सामान्य हेरफेर हुन सक्छ ।' आयोगमा राष्ट्रिय समाजवादी पार्टी नामको अर्को दल पनि दर्ता भइसकेको छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?