कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हुम्लामा खाद्यान्न ढुवानी ठप्प

जयबहादुर रोकाया

हुम्ला — हुम्लामा तीन सातादेखि खाद्यान्न ढुवानी ठप्प भएको छ । निजी विमान कम्पनीहरूले ढुवानी नगरेपछि जिल्लामा खाद्यान्न मौज्दात सकिँदै गएको छ ।

हुम्लामा खाद्यान्न ढुवानी ठप्प

नेपाल खाद्य संस्थान शाखा कार्यालयका अनुसार सरकारले यो वर्ष १२ हजार चार सय क्विन्टल कोटा निर्धारण गरेकोमा ११ हजार क्विन्टल ढुवानी भइसकेको छ । जिल्ला खाद्य व्यवस्था समितिले १३ हजार क्विन्टल थप माग गरेकामा सरकारले तीन हजार क्विन्टल मात्र थपेको छ । थप कोटासहित पाँच हजार चार सय क्विन्टल ढुवानी भएको छैन ।


संस्थानका शाखा प्रमुख रामबहादुर विष्टले तीन सातायता हवाई ढुवानी ठप्प भएको बताए । बाँकी कोटा मात्रै ढुवानी हुनसके समस्या न्यूनीकरण हुने उनको भनाइ छ । 'यो आर्थिक वर्षभित्र जेजति मौज्दात रहन्छ, त्यसले दसैं-तिहारसम्म पुर्‍याउनुपर्ने बाध्यता रहन्छ,' शाखा प्रमुख विष्टले भने, 'साउनपछि आउने नयाँ कोटा असोज कात्तिकपछि मात्रै ढुवानी सुरु हुने भएकाले यो वर्षको मौज्दातबाट नै अर्काे आर्थिक वर्षको पहिलो चौमासिक धान्नुपर्ने बाध्यता हुन्छ ।'


अबको केही समयपछि भारतीयको मानसरोवर-कैलाश तीर्थयात्रा सुरु हुने भएकाले निजी हवाई कम्पनीले खाद्यान्न ढुवानीभन्दा तीर्थयात्रीलाई प्राथमिकता दिन्छन् । अहिले नियमित खाद्यान्न ढुवानी नभए खाद्यान्न अभाव समस्या बल्झने स्थानीयको गुनासो छ । वैशाख अन्तिमबाट मानसरोवर-कैलाश यात्रा सुरु हुन्छ ।


निजी हवाई कम्पनीले हुम्लामा उडान नगर्दा बजारमा तरकारीलगायत अत्यावश्यकीय सामान अभाव हुन थालेको छ । जिल्लामा यो मौसममा तरकारी उत्पादन नहुने भएकाले स्थानीयले हवाई ढुवानीको तरकारीमा भर पर्नुपरेको छ । समयमै हवाई ढुवानी नहँुदा गत वर्ष दसैं-तिहारमा स्थानीयले चामल पाएका थिएनन् । सिमकोट बजारमा अहिले चामलको मूल्य प्रतिकिलो एक सय ६० देखि दुई सय ५० रुपैयाँसम्म छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?