कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्याक्सी तार्न ३ हजार

अरुण नदीमा पुल नहुँदा दिङ्लाबाट खाँदबारी आउने सर्वसाधारणले डुंगा चढ्नुपर्छ, भेल बाढी आएका बेला डुंगाबाट सामान प्रतिकिलो ५ रूपैयाँसम्ममा तार्दा महँगी बढ्छ
दीपेन्द्र शाक्य

संखुवासभा — ट्याक्सी चालक प्रदीप तामाङलाई अरुण नदी तार्न डुंगाको सहायता लिनुपर्‍यो । उनले खाँदबारीबाट भोजपुरको दिंलामा ट्याक्सी चलाउन लैजाँदा ३ हजार रुपैयाँ डुंगा तार्नेलाई तिरे अनि कष्टपूर्ण ढंगले अरुण तारेर दिंलातर्फ ट्याक्सी लगे ।

ट्याक्सी तार्न ३ हजार

अरुण नदीमा पक्की पुल नहुँदा यी चालकले मात्र होइन, दिंलाबाट खाँदबारी आउने सर्वसाधारणले दिनहुँ यस्तै भोगिरहनु परेको छ । काठको डुंगामा ट्याक्सी चढाएर उनले दिंलातर्फ गाडी लगेका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जिल्लामा डुंगाबाट दैनिक उपभोग्य सामग्री र ट्याक्सी तार्नुपर्दा दुःख लागेको बताए ।


‘अरुण नदीमा पक्की पुल निर्माण आरम्भ गरेको ९ वर्ष बिते पनि काम भएको छैन । एउटा ट्याक्सी तार्न ३ हजार तिरें,’ उनले भने, ‘पहिले खाँदबारीमा चलाइरहेको थिएँ, ‘दिंलामा लगेर ट्याक्सी चलाउन अरुण तार्नुपरेको हो ।’ अहिले सामान्य भए पनि वर्षाका बेला तार्न सकिँदैन ।


विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको छ । २०६७ मा निर्माण सुरु गरिएको पुल निर्माण अहिले ठप्प छ । विभिन्न कारण देखाउँदै ३ वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको दिङलाका अर्जुन अधिकारीले बताए । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ७ पिल्लर आधा मात्रै उठाइएको छ ।


‘मुख्यमन्त्रीज्यूले पनि यो पुल निर्माणका लागि चासो दिनुभएन’, उनले भने, ‘पटकपटक आन्दोलन गरिसक्यौं तर हाम्रो आवाज कसैले सुनेनन् ।’ मुख्यमन्त्रीको जिल्लामा विकासको काममा यस्तो लापरबाही भइरहँदा पनि चुप लागेर बसेको स्थानीयको आरोप छ ।


लम्सुवा पुल निर्माण सरोकार समिति संयोजक सुरेश भण्डारीले पुल नबन्दा करिब ७० हजार स्थानीयले सास्ती खेप्न बाध्य भएको बताए । नगरपालिका घेराउ गर्ने पुगेका स्थानीय चन्द्रबहादुर श्रेष्ठले शिलान्यास भएको ८ वर्षसम्म पनि पुल निर्माण २० प्रतिशत मात्र भएकाले आन्दोलन गर्नुपरेको बताए । षडानन्द नगरपालिका प्रमुख वीरबल राईले पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए ।


२०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ ।


लामो समय निर्माण रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोग्न बाध्य भएका छन् । भोजपुर र संखुवासभा आवतजावत गर्ने स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुंगाको सहाराबाट अरुण वारपार गर्छन् । वर्षामा अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुंगे पुलबाट वारपार गर्नुपरेको छ ।


९ वर्षअघि सम्झौता भएको पुलको अहिलेसम्म २६ प्रतिशत मात्र काम पूरा भएको छ । पुलको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको बाहानापछि अलपत्र परेको दिङ्लाका स्थानीयको भनाइ छ । भोजपुरको षडानन्द नगरपालिकासहित १४ गाउँका बासिन्दा किनमेलका लागि डुंगा चढेर संखुवासभा सदरमुकाम खाँदबारी आउने गर्छन् । त्यो बेला पुल १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको थियो ।


भोजपुरका उक्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । खाँदबारीबाट थोकमा बित्री गर्न लगिएको दैनिक उपभोग्य सामग्री पनि यहीँबाट डुंगाले तार्नुपर्दा महँगी बढेको उनले बताए । भेल बाढी आउँदा डुंगाबाट सामान तार्दा प्रतिकिलो ५ रुपैयाँसम्म पर्ने भएकाले मूल्य आकाशीएको उनले बताए । ‘पुल भए खाँदबारीबाट सीधा दिङ्लासम्म यातायात चल्थ्यो,’ उनले भने, अहिले पुलवारि एउटा र पारि अर्को यातायातको साधन तयार गर्नुपर्छ ।’


प्रकाशित : वैशाख २५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?