कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चीनसँगका नाका जोड्न समितिमा दबाब 

ऋषिराम पौड्याल

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चीनले खोल्न लागेका उत्तरी ६ वटा नाका जोड्ने सडक निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा बुधबार बसेको बैठकमा समिति सदस्यहरूले चीनले नाका खुलाउन भौतिक पूर्वाधारलाई प्राथमिकता दिए पनि नेपालको तयारी सुस्त रहेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोराला, ओलाङचुङगोला, किमाथांका, हिल्सा, तातोपानी र रसुवागढी नाका जोड्ने सडक र भौतिक सुधारका काम तीव्र गतिमा भइरहेको जनाए । चीनले सीमामा ४ वटा सुक्खा बन्दरगाह बनाउने उनले जानकारी दिए ।


मन्त्री ज्ञवालीले वैशाख ११ देखि १८ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीनको राजकीय भ्रमणका उपलब्धिबारे पनि जानकारी गराए । उनले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बाट नेपालले फाइदा लिन सक्ने बताए । समिति सदस्य दिव्यमणि राजभण्डारीले चीनसँग नाका खोल्ने तयारी भए पनि सीमामा नेपालतर्फ संरचना निर्माण नभएको बताएका थिए । 'उत्तरी सीमाको भौतिक संरचना निर्माणका लागि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्नुपथ्र्यो,' उनले भने ।


अर्का सदस्य अग्निप्रसाद सापकोटाले तातोपानी नाका खोल्ने तयारीबारे मन्त्रीसँग जानकारी मागे । उनले बर्खा सुरु हुन लागेकाले नेपालतर्फ सडकलगायत भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले तातोपानी नाका जेठमा खुल्ने निश्चित भएको जनाए । चीनले सीमामा सबै तयारी गरिसकेकाले जेठ १७ सम्ममा नाका खुल्ने उनको भनाइ छ ।


चीनले भूकम्पपछि बन्द तातोपानी नाका खोल्ने तयारी गरे पनि नेपालतर्फको सडक जीर्ण छ । रसुवागढी नाकाको भौतिक अवस्था त्यत्तिकै नाजुक छ । सडक, भन्सार, अध्यागमनजस्ता कार्यालय अव्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । समिति सदस्य पुष्पा भुसालले उत्तरी नाकाको भौतिक संरचना निर्माण र स्थानीयले पाउने सुविधामा ध्यान दिन सुझाइन् । सदस्यहरूले परराष्ट्र नीति एउटै बनाउन सहकार्य आवश्यक रहेको औंल्याए ।


समिति सभापति पवित्रा निरौलाका अनुसार मन्त्री ज्ञवालीलाई उत्तरी नाकाको भौतिक संरचना निर्माणमा जोड दिन ध्यानाकर्षण गराइएको छ । सदस्यहरूले मुलुकको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा जाँदा समितिलाई जानकारी हुनुपर्ने बताएका थिए । 'भ्रमण गरिसकेपछि जानकारी दिनेभन्दा पनि पहिले नै छलफल हुँदा राम्रो भन्ने सुझाव सदस्यहरूले दिनुभयो,' सभापति निरौलाले भनिन्, 'समितिमा पहिल्यै छलफल हुँदा राम्रो हुने विषयमा मन्त्री ज्ञवाली पनि सहमत हुनुहुन्छ ।'

प्रकाशित : वैशाख २६, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?