३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मेलम्चीमा एडीबीको सर्त : पहिले काम अनि सहयोग

दीपेन्द्र विष्ट

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अघि नबढेसम्म याङ्ग्री र लार्के खोलाको पानी ल्याउन आर्थिक सहायता नदिने जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयलाई पत्र पठाई एडीबीले उक्त जानकारी दिएको हो । 

मेलम्चीमा एडीबीको सर्त : पहिले काम अनि सहयोग

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पहिलो चरणको काम अघि नबढ्दा अन्योल सिर्जना भएको बताए । 'एडीबीले पत्राचार नै गरिसक्यो,' उनले भने, 'याङग्री र लार्केसमेत प्रभावित हुने भयो ।' सुरुङका साथै याङ्ग्री र लार्केको काम सँगै अघि नबढाएसम्म एडीबीले सहयोग नदिने संकेत दिएको भन्दै उनले बन्द काम चाँडो सुचारु गरिने बताए । यसबारे मन्त्रिपरिषद् बैठकले चाँडै टुंगो लगाउने उनले बताए ।


पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७/१७ करोड पानी उत्यकामा ल्याइनेछ । सुरुङलगायत अन्य संरचना ५१ करोड लिटर पानी ल्याउनका लागि निर्माण भइसकेको भन्दै उनले याङ्ग्री र लार्केको काम चाँडो अघि बढाउनुपर्ने बताए । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन -डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको छ ।


'अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिएका छन्,' शर्माले भने, 'डीपीआर स्वीकृत भएको छ, अब टेन्डर आह्वान गरेर काम अघि बढाउनमात्र बाँकी हो ।' नर्वे, क्यानडा, भारतलगायत मुलुकबाट विज्ञ मगाएर छलफल भएको उनले बताए । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलासम्म पुग्ने पहुँचमार्गको पनि काम सुरु भइसकेको छ ।


सडक विभाग र मेलम्ची विकास समितिले झन्डै २५ किमि सडक निर्माणको काम अघि बढाइसकेका छन् । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माणका लागि केही काम सुरु भइरहेको शर्माले बताए । याङ्ग्री र लार्के खोलाको पानी अम्बाथान हेडवक्र्स पुर्‍याउन करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा ल्याइएर मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।


सचिव शर्माले पाइप बिछ्याउने कामसमेत प्रभावित भएको पनि जनाएका छन् । 'रिङरोडभित्रको पाइप बिछ्याउने काम करिब सकिएको छ,' उनले भने, 'बाहिरका लागि काम सुचारु नभएसम्म सहयोग नगर्ने भनेको छ, अब काम चाँडो नगरेसम्म सुख छैन ।' गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा 'टाट पल्टेको' घोषणा गर्दै काम छाडेपछि आयोजनाको काम ठप्प छ ।


दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउनेे खानेपानी मन्त्रालयको लक्ष्य अन्योलमा परेको छ । मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्टयुमेन्टेसन जडान,


पानी प्रशोधन केन्द्र २ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण बाँकी छ । साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने केन्द्रको निर्माण सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्र पनि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?